दण्डहीन राजनीतिको जरो

मोहनप्रसाद सापकोटा

खेतबारीमा हाल्ने रासायनिक मल वा बोटविरुवामा हाल्ने विषादि र हाम्रा वादहरू उस्तै रहेछन् । राजनीतिको यही पीपलपाते जगको असर समाजमा प्रतिविम्बित भएको छ । दण्डहीन राजनीतिक इतिहासले गर्दा कम समयमा असीमित महत्वाकांक्षालाई पूरा गर्न मानिसले गर्न हुने नहुने सबै काम गर्न थालेका छन् । पैँचो लिएको स्वतन्त्रताको फल विषाक्त फल्न थालेको छ । बैनामा लिएको ‘अधिकार’ ले प्रायः सबैखाले परिवारको जग लथालिंग बनाइदिएको छ ।

आधारलाई अर्को शब्दमा जरो भनिन्छ । मानिसहरू ‘जरो गतिलो भए पो’ भनेर कसैको निन्दा गर्नुपर्दा लेग्रो तानेर उपमा हाल्ने गर्दछन् । रुखको होस् वा मानिसको जब जरो हल्लिन्छ वा खलबलिन्छ तब शरीरको अस्तित्व क्षणिक हुन्छ ।जरो हल्लिएको रुख, जग हल्लिएको घर, भित्री भाग खलबलिएका पहाड र भित्री चुरो रोगी भएका मानिस यी सबैको आयु कम हुन्छ ।  म चुरो रोगी भएका मानव जगततिरै यो आलेखलाई घिसार्न प्रयत्न गर्नेछु । यौन विकृतिले त नाताहरू बिर्सेकै थिए, अब हत्या र हिंसाले पनि बिर्सन थाले । नाताभित्रको यौनसम्बन्ध र हिंसा परापूर्वकालदेखि नै हुन्थे । प्रयोजन र औकात तथा प्रकृति हेरी कसैलाई तत्काल त कसैलाई अलिपछि दण्डित गरिन्थ्यो, तर दण्डहीनता थिएन । मैले पञ्चायत गई बहुदल आएपछि नै एउटा मत राखेको थिएँ, मानिसले त्यसलाई गम्भीर ठानेनन् । कसैले मेरो त्यो विचारलाई नकारात्मक सोचसमेत भन्न भ्याए । त्यो लेखमा ‘हामीले यसभन्दा अघिकाले गलत गरे भनेर परिवर्तन गरेका हौँ, गल्ती गरेकालाई दण्डित गरियोस् । तिनले गल्ती नगरेका भए वा गल्ती गरेका भए पनि उन्मुक्ति दिइयो भने यो पद्धति बस्दछ । जसरी राणा शासनपछि लामो समय नेपालको राजनीति स्थिर भएन त्यसैगरी यो परिवर्तन पनि स्थिर हँुदैन’ भनेको थिएँ ।

१० वर्षमै नतिजा सामुन्ने आयो । अहिले पनि राजनीतिक भाषा गलत छ । कहिले परिवर्तन सकियो अब विकास मात्र लक्ष्य हो भनेको सुनिन्छ त कहिले यो त माध्यम मात्र हो परिवर्तन त हुनै बाँकी छ भनेको सुनिन्छ । आफू सत्तामा गए सबैतिर विकास भएको देख्ने परिवर्तन पनि सकिने अनि सत्ता नपाए कतै विकास भएको नदेखिने र परिवर्तन पनि नसकिने अचम्मको रोग छ हामीसँग । गोरुको आँखै फुट्नु थियो त साउनमा फुटिदिएको भए पनि त हुन्थ्यो, हिउँदमा ढोड पराल खुवाउन सजिलो हुन्थ्यो, हरियो ठानेर मजाले खान्थ्यो ।

राजनीतिको स्वभाव हेर्दा आजसम्मका सबै खाले परिवर्तन हामीले आफ्नै खुट्टामा टेकेर गरेको भन्ने कुनै पनि दृष्टिकोणले प्रमाणित हुँदैन । जोगीको भन्दा पनि निकृष्ट पारा छ राजनीतिको, हल्लिएर हिँड्ने जसले जे दिन्छन् खाने अनि फेरी हल्लिएर हिँड्ने । यस्ता जोगीको पनि परमार्थप्रति चिन्तन हुन्छ भनिन्छ । तर, हाम्रो सबै खाले राजनीति अचम्मसँग चलिरहेछ । जनतालाई जे जस्ता जग हाम्रा राजनीतिक दलले देखाएर बाँचिरहेका छन् । त्यो जगमा धमिरा लागिसकेको छ ।

समाजवाद वा यसमा विशेषण थपेर नाम लिइने अन्य जुनसुकै वादका पनि जग सही थिएनन् । पहिलेका राजनीति सही थिए, यसरी सोच्नु पनि गलत हुन्छ । खेतबारीमा हाल्ने रासायनिक मल वा बोटविरुवामा हाल्ने विषादि र हाम्रा बादहरू उस्तै रहेछन् ।राजनीतिको यही पीपलपाते जगको असर समाजमा प्रतिविम्बित भएको छ । दण्डहीन राजनीतिक इतिहासले गर्दा कम समयमा असीमित महत्वाकांक्षालाई पूरा गर्न मानिसले गर्न हुने नहुने सबै काम गर्न थालेका छन् । पैँचो लिएको स्वतन्त्रताको फल विषाक्त फल्न थालेको छ । बैनामा लिएको ‘अधिकार’ले प्रायः सबैखाले परिवारको जग लथालिंग बनाइदिएको छ ।

सामाजिक सञ्जालमा जे देखिन्छन् ती केही प्रतिशत मात्र सही हुन्छन् । अश्लील चलचित्र हेरेर पश्चिमेली समाज यस्तै हुन्छन् भनेर टीकाटिप्पणी गर्नु भूल हुन्छ । यसैगरी मानवका रहनसहन, खानपिन आदिका बारेमा पनि सामाजिक सञ्जाल आँखा चिम्लेर कसैको गुरु हुन सक्दैन । तर हामीले गुरु बनाइरहेका छौँ । सामाजिक सञ्जालले जति फाइदा दिइरहेको हुन्छ त्यो लिन मिहिनेत गर्नु पर्दछ तर बेफाइदा गर्ने कुराहरू मिहिनेत गर्न नपर्ने हुनाले समाजले सहजै अंगीकार गरिरहेको छ । हामी विवेकशून्य समाज बनाउँदै गइरहेका छौँ । सामाजिक सञ्जालमा जसले जे जसरी गर्दछ हाम्रो समाज त्यो त्यसरी नै गर्न थालेको छ । हत्या, हिंसा, यौन विकृति, ठगी, भ्रष्टाचार आदि सबैकुरा सिकाउने खुल्ला पाठशाला सामाजिक सञ्जाल हुन पुगेको छ ।

स्वतन्त्रता र अधिकार विवेकशील समाजका लागि मात्र काम लाग्ने कुरा हुन् । जहाँ सबै कुरा भाडामा लगाउने समाज हुन्छ त्यहाँ यी कुरा घातक हुन पुग्दछन् । अब त परिवर्तन सकियो नयाँ जग हालेर बलियो समाज बनाउन पहल होला ता नि भनेर कुरेको पनि १४ वर्ष बितिसके । सात सालमा जे समस्या थिए अहिले पनि तिनै समस्या छन् । सबै खाले परिवर्तन परम्पराको जग हल्लाउन लागि मात्रै गरिदिएका हुन् र ? परम्पराको जग हल्लिनु भनेकै विकास हो र ? आफ्नो जग चाहिन्न ? परिवर्तनले जग खन्न थालेको खोई ?

राणाशासन सकिएपछि पहिलो मन्त्रिमण्डलमा बकाइदासाथ तिनै राणालाई सम्मान गरियो, परिवर्तनका संवाहक जनताको त्यो चाहना थिएन । यही क्रम आजसम्म चलिरहेछ । डाँका, फटाहा, हरूवा, तस्कर, बुद्धिहीन, सन्काहा आदिले नै यसपछि आजसम्म राजनीति चलाइरहेका छन् । कुन आधारमा हामीले परिवर्तन गरेका भन्ने ? सबै ‘म’ मेरो नेताको खोजीमा छन् तर जति आउँछन् ‘म तेरो होइन मेरै नेता’ भन्ने मात्र आएका छन् । यस्तो राजनीतिले समाज सुध्रँदैन, अझ पतन हुन्छ ।

पद्धति नभएपछि वा नबसेपछि मानिस व्यक्ति विशेषलाई देवत्वकरण गर्न थाल्दछ । लोकमान, कुलमान वा अरू मान यसका उदाहरण हुन् । कालकूट विष निले पनि लोडसेडिङको जस राजनीतिलाई दिन जनता तयार छैनन्, यो कटुसत्य हो । यस्तो किन भयो त ? किन कि राजनीतिप्रति त्यसको प्रत्यक्ष लाभ लिने समूहबाहेक अरू जनमानसलाई विश्वास छैन । राजनीति देशको मियो वा जग हो । जब जगप्रति अविश्वास हुन्छ तब समाजमा पनि अविश्वास बढ्दछ नै । यसोभन्दा दुःख लाग्छ मलाई, पहिलेका राजादेखि वर्तमानका राजासम्म सबैले जनतालाई भजाएर मात्र खाइरहेका छन् । नतिजा समाजले बाध्यतावश भोगिरहेछ । सुकुलगुन्डे स्वभावले न व्यक्ति बन्न सक्दछ न त देश नै । हामीमा विवेक पलाओस् ।

प्रतिक्रिया