कौसीखेतीमा आकर्षण

राजधानी काठमाडौंलगायत मुलुकका सहरी क्षेत्रमा कौसीखेतीतर्फ आकर्षण बढ्दै गएको छ । घरका छत र बरन्डाको उपयोग गरी तरकारी उत्पादन गर्ने विधिलाई कौसीखेती भनिन्छ । केही दशकअघिसम्म राजधानी काठमाडौंका कुनैकुनै घरका छतमा सौखका रूपमा तरकारी तथा फूलहरू रोपेको देखिन्थ्यो । तर, अहिले प्रायःजसो घरका छतहरू हरियाली देखिन्छन् । गमला राखेर फूल रोप्ने प्रचलन त सहरी क्षेत्रमा पुरानो हो । गमलामा फूलको अतिरिक्त तरकारीसमेत रोप्दा सजावटमा विविधता थपिनुको साथै आफ्नो गर्जो टर्ने र फुर्सदको समय सदुपयोग पनि हुने भएकोले सहरीयाहरू कौसीखेतीमा आकर्षित भएका हुन् । कौसीखेतीको आकर्षण बढेसँगै यसका लागि आवश्यक सामग्री उत्पादन गर्ने व्यवसाय पनि फष्टाएको छ । कौसीखेतीका लागि प्लास्टिकका हल्का टोकरीहरू, पोषणयुक्त मल तथा माटोलगायत सामग्री आवश्यक पर्छ । यी सामग्रीको व्यवसाय गर्ने संघसंस्थाहरू कौसीखेतीको प्रवर्धनमा जुटेका छन् । कौसीमा जुनसुकै तरकारी लगाउन सकिए पनि करेला, घिरौला, सिमी, बोडी, खुर्सानी, क्याप्सिकम, गोलभेँडा, धनिया, बर्खे साग, भिन्डीलगायत मौसम अनुसारका तरकारी उपयुक्त मानिन्छन् ।

राजधानी काठमाडौं उपत्यकाको कौसीखेती प्रवर्धनमा यतिबेला नेपाल एग्रो लाइभ प्रालि नामक संस्था जुटेको छ । नेपाल एग्रोले कृषिको व्यवसायीकरणमा जोड दिँदै त्यसको विकासका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालिम र परामर्श दिन्छ । साना र थोपा सिँचाइ, बेमौसमी तरकारी उत्पादन गर्न बाँस र फलामका आधुनिक प्लास्टिक घर बनाउन यसले काम गर्दै आएको छ । धेरैजसो माटोको प्रयोग गरिए पनि अचेल माटोभन्दा नरिवलको जटालाई धूलो बनाई खँदिलो रूपमा तयार पारिएको ‘कोकोपिट’ प्लास्टिकको झोला ‘ग्रो ब्याग’ मा राखी बिरुवा रोपिन्छ । कोकोपिटमा अर्गानिक मलसहितका पौस्टिक तत्व मिसाइन्छ जसले बिरुवा छिटो हुर्कन सघाउँछ । रोगबाट बच्न निमको तेल छरिन्छ । रोग बढी लाग्ने, फोहर र छतमा असर पर्ने हुँदा माटोको तुलनामा कोकोपिटको प्रयोग बढेको छ । पाँच केजीको नौ वटा ब्लक भयो भने ५० वटा ग्रो ब्यागमा तरकारी फलाउन सकिन्छ ।

समय कटाउनका लागि सुरु गरिएको कौसीखेतीले राजधानी काठमाडौंमा धेरै नै सकारात्मक संकेत देखाएको छ । गत चैतमा लक डाउन आरम्भ हु“दा चितवनका किसानहरूले तरकारीबाली खेतमै नष्ट गरेको समाचार आइरह“दा काठमाडौंका खुद्रा तरकारी पसलेहरूको प्रतिक्रिया थियो, ‘धेरैजसोको आफ्नै छतमा तरकारी फलेको छ, कसरी बिक्री होस् त ।’ लक डाउनको समयमा घरमै बस्नुपर्दा धेरैले कौसीमा तरकारी खेती गरेका छन्, केहीले छतमा खोर बनाएर बट्टाइ चरापालन गरेका छन् । बट्टाइकै चराको मल तरकारीका लागि प्रयोग भएको छ । केही अपवादबाहेक सहरमा बस्ने सबैको सीमित जग्गा हुन्छ । सीमित जग्गा पनि घरले नै ओगट्छ । घाम लाग्ने खुला ठाउ“ भनेको छत नै हो । यदी छतलाई कौसीखेतीको प्रयोजनमा ल्याउने हो भने तरकारीका लागि परिवारको गर्जो मज्जाले टर्छ । यसैगरी ताजा तरकारी खाने मौका पनि मिल्छ । सहरी क्षेत्रमा देखिएको कौसीखेतीप्रतिको यो आकर्षणलाई सरकारले बेलैमा ध्यान दिनुपर्छ । कौसीखेतीका नाममा छतमा माटो धेरै थुप्रिन गयो भने घरको सन्तुलन खलबलिन्छ, भूकम्पको सानो धक्काले पनि घर ढल्न सक्छ । यसै गरी माटो र पानीका कारण घरको ढलानको आयु छोटिन सक्छ । यो पक्षबारे सचेत गराउनु सरकारको दायित्व हो । कौसीखेतीका लागि अपनाउनुपर्ने सावधानी तथा विशेष प्रविधिका विषयमा सरकारले तालिम दिनु, सूचना प्रवाह गर्नु जरुरी छ । आवश्यक सामग्रीको आपूर्ति तथा बिक्री वितरणमा कसैको एकाधिकार पो छ कि ? भन्नेतर्फ पनि सरकारी निकायको ध्यान जानुपर्छ ।

प्रतिक्रिया