सल्यानमा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना

सल्यान । जिल्लामा कर्णाली प्रदेशअन्तर्गत लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सदरमुकाम खलंगामा कार्यालयको आइतबार उद्घाटन गरेका हुन् । जिल्लामा प्रदेश सरकारका तर्फबाट जिल्लामा हुने सबै आर्थिक क्रियाकलापहरूको नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको मन्त्री ज्वालाले जानकारी गराए । ‘जनताहरूले संघीयताको प्रत्याभूति घरआँगनमै गर्न सकुन् भनेर जिल्लामा कार्यालय स्थापना गरिएको हो’, मन्त्री ज्वालाले भने ।  गत आर्थिक वर्षमा आर्थिक वर्षको समाप्ती भइसकेपछि पनि निकासा तथा भुक्तानीमा समस्या परेको भन्दै चालु आर्थिक वर्षमा यस्ता खालका समस्याहरू न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले पहल गर्ने जानकारी दिए । ‘कर्णाली प्रदेश सरकारको निर्णयअनुसार हामीले प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना गरिएको छ, यसले जनताहरूका काम गर्न प्रदेशमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ’, मन्त्री ज्वालाले भने ।

सरकारले कर्णाली प्रदेशका सबै जिल्लाहरूमा सबै मन्त्रालय मातहतका कार्यालयहरू स्थापना गरेर सरकारी सेवा प्रभावकारी ढंगले अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको मन्त्री ज्वालाले जानकारी दिए । ‘जिल्लामा प्रदेश मातहतका आर्थिक क्रियाकलापहरू सञ्चालन भए पनि आर्थिक वर्षको अन्त्यमा समेत निकासी गर्न धेरै समस्या भयो, आर्थिक वर्ष समाप्तीपछि पनि काम गर्नुपर्ने बाध्यता भयो चालु आर्थिक वर्षमा समयमै निकासी हुन्छ,’ मन्त्री ज्वालाले भने । सल्यानमा प्रदेश मातहतमा रहेका आठ वटा कार्यालयहरूबाट सम्पादन गरिने क्रियाकलापहरूको लेखा नियन्त्रण गर्ने गरी कार्यालय स्थापना गरिएको कार्याललयले जनाएको छ । जिल्लामा कार्यालय नहुँदा प्रदेशबाट सञ्चालन गरिएका क्रियाकलापहरूका लागि प्रदेश राजधानी सुर्खेत जानुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया