सर्लाहीमा कोरोना संक्रमित संख्या ९१२ पुग्यो

सर्लाही । सर्लाहीमा हालसम्म ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।कोरोना संक्रमित हुनेहरुमा जिल्ला अस्पतालका कर्मचारी, विभिन्न पालिकाका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि रहेका छन् । सर्लाहीको मलङ्ग्वा नपा, बरहथवा नपा, हरिवन नपा र लालबन्दी नपामा समूदायस्तरमा कोरोनाको संक्रमण देखिएको छ ।

समूदायस्तरमा कोरोनाले भयावह रुप लिन थालेपछि सर्लाही प्रशासनले थप कडाइका साथ निषेधाज्ञा लगाएको छ । भीडभाड हुन नदिन तथा समूदायस्तरमा सम्भावित संक्रमण फैलिनबाट सर्वसाधारणलाई जोगाउनका लागि साउन ३२ गते आइतबार राती १२ बजेसम्मका लागी सर्लाही पुर्ण रुपले लकडाउन गरिएको छ । सर्लाहीमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या बढेर ९१२ पुगेको हो । सक्रिय संक्रमितको संख्या महिला ३५ र पुरुष १३० गरि जम्मा १६५ जना सर्लाहीमा रहेका छन् भने ३० जना सक्रिय संक्रमितहरु जिल्ला बाहिर देशका विभिन्न ठाउँमा रहेका छन् ।

जिल्लामा रहेका सक्रिय संक्रमितहरु मध्ये महिला ८ र पुरुष १४ गरि २२ जना संक्रमितहरुलाई मलङ्ग्वा नगरपालिका– २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा रहेको कोरोना अस्पतालमा राखी थप उपचार भइरहेको कोरोना अस्पतालका संयोजक डा. रवि कुमार साहले जानकारी दिए । बाँकी संक्रमितहरु आ–आफ्नै पालिकाको आइसोलेशन कक्षमा र केहिको होम क्वारेन्टाइनमा उपचार भइरहेको पालिकाहरुले जनाएको छ ।

मलङ्ग्वा नगरपालिका– २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा रहेको कोरोना अस्पताल २०० बेड क्षमताको रहेको अस्पतालका संयोजक डा. साहले बताए । उनका अनुसार संक्रमितलाइ पौष्टिक अहार, औषधि, व्यक्तिगत सुरक्षाका लागि आवश्यक सामग्री, खाना र खाजाको व्यवस्था गरिएको छ ।

आइसोलेशन वार्ड निर्माण गर्नका लागि आइसियु र भेन्टिलेटरको आवश्यकता पर्दछ । तर, ती उपकरणहरु यहाँ उपलब्ध नभएकोले यहाँ कोरोना रोगको प्राथमिक चरणको लक्षण देखिने संक्रमितहरुलाई उपचार गर्नका लागि यो नर्सिङ कलेजलाई कोरोना अस्पताल बनाइएको हो। गम्भिर प्रकृतिका लक्षण देखिएका संक्रमितलाई थप उपचारका लागि बाहिर नै पठाउने गरेको उनले बताए ।

निको भएर घर फर्किनेको संख्या ७१७ रहेको छ । यस्तै, कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट सर्लाहीमा मृत्यु हुनेको संख्या १ रहेको छ । मृत्यु हुनेमा हाल मलङ्ग्वा नपा– ३, साबिक वडा नं. ६ की ६५ वर्षीया महिला रहेकी छन् । गत साउन २१ गते बुधबारका दिन कााठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा निज महिलाको मृत्यु भएको थियो ।

सर्लाही जिल्लामा रहेका क्वारेन्टाइन स्थलहरुको संख्या १२९ रहेको छ भने जिल्लामा क्वारेन्टाइन बेड संख्या ४०५३ रहेको छ । त्यस्तै, जिल्लामा आइसोलेशन बेड संख्या ६४७ रहेको छ । हालसम्म सर्लाहीमा ९ हजार ८५० जनाको स्वाब संकलन गरिएकोमा जमा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया