तीन वर्षमा ४१ किलोमिटर सडक कालोपत्रे

दाङ । जिल्लाको घोराही उपमहानगरपालिकामा पछिल्लो तीन वर्षमा ४१ किलोमिटर सडक कालोपत्रे भएको छ । उपमहानगरपालिकाले सञ्चालन गरेको योजनाअन्तर्गत ३४ किलोमिटर र संघीय तथा प्रदेश सरकारबाट उपमहानगरमा आएको अनुदानबाट सात किलोमिटर गरेर ४१ किलोमिटर सडक कालोपत्रे भएको हो ।

आव ०७६÷७७ मा धेरै सडक कालोपत्रे भए पनि कोरोना भाइरसका कारण भएको लक डाउनका कारण अपेक्षितरूपमा योजनाहरू सम्पन्न हुन सकेका छैनन् । निर्माणाधीन र अहिलेको बजेटमा विनियोजन गरिएका सडकहरू गरेर चालु आवमा थप १८ किलोमिटर सडक कालोपत्रे भइसक्ने उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । ‘यो तथ्यांकमा संघीय र प्रदेश सरकारले बनाएका सडकहरू छैनन्,’ उनले भने, ‘पछिल्लो तीन वर्षमा सडकको क्षेत्रमा निकै ठूलो उपलब्धी हासिल भएको छ ।’

उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पूर्वाधार क्षेत्रको विकासविना अरू विकास सम्भव नभएकाले सडकको स्तरवृद्धि र कालोपत्रेमा विशेष ध्यान दिइएको जानकारी दिए । उपमहानगरले आमउपभोक्ताको लागत सहभागिता र नगरस्तरीय बजेटबाट सडक कालोपत्रेको काम गरिरहेको छ ।

वडास्तरीय योजना तर्जुमामा समेत सडक कालोपत्रेको माग बढी आउने गरेको चौधरीले जानकारी दिए । ‘उपमहागरपालिकाको केन्द्र घोराही बजारबाट सबै वडा कार्यालय जोड्ने सडक कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘उपमहानगरको सबैभन्दा दुर्गम वडा मानिएको १९ नम्बरलाई पनि कालोपत्रेले छोइसकेको छ, अब केही समयभित्रै वडा कार्यालयसम्म नै कालोपत्रे भइसक्नेछ ।’

सडकको अवस्था र गुणस्तरको मापदण्डअनुसार एक किलोमिटर सडक कालोपत्रे गर्न ५० लाख रुपियाँदेखि डेढ करोडसम्म लाग्ने इञ्जिनियर रामधन श्रेष्ठले जानकारी दिए । ‘पहाडी क्षेत्रमा काम गर्न लागत स्वाभाविक रूपमा बढी नै हुन्छ,’ उनले भने, ‘उपमहानगरले विभिन्न ठूला सडकहरू धमाधम कालोपत्रे गरिरहेको छ ।’

प्रतिक्रिया