समुदायलाई खोला हस्तान्तरण गरिँदै

दाङ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा राप्ती गाउँपालिकास्थित दोलाई खोलामा जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायसँग परामर्श बैठक सम्पन्न गरी खोलाहरू समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

केन्द्रका सचिव कुमारराज श्रेष्ठको अध्यक्षतामा भएको बैठकले जैविक विविधता संरक्षण गर्नु अति आवश्यक रहेको ठहर गर्दै आगामी दिनमा राप्ती गाउँपालिकासँग समन्वय गरी दोलाई खोलामा असुरक्षित माछा मार्ने कार्यको पूर्णरूपले रोग लगाउँदै जलीय जैविक जीवको संरक्षण गर्ने निर्णय गरेको छ ।

राप्ती गाउँपालिका–५ का अध्यक्ष गोबर्धन रावत, वडाका सदस्यहरू, टोल विकास संस्था प्रतिनिधिहरू, गाउँका अगुवाहरू, कुलोपानी अगुवाहरूलगायत वडाका सम्पूर्ण सरोकारवालाहरूको उपस्थिति रहेको बैठकमा सामुदायिक नदी हस्तान्तरण प्रक्रियाबारे छलफल गरिएको थियो ।

देउखुरी क्षेत्रका सम्पूर्ण पालिका क्षेत्रमा रहेका नदी, खोलामा जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदी तथा खोलाहरू समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाएको समेत फिल्ड संयोजक राममोती चौधरीले जानकारी दिए ।

बैठकमा सचिव कुमारराज श्रेष्ठ, प्रवक्ता केपी घिमिरे, सल्लाहकार कमल गौतम र कार्यक्रम प्रवन्धक प्रदीप मजगैयाँले सामुदायिक नदी हस्तान्तरण प्रक्रियाबारे जानकारी गराएका थिए । बैठकले सर्वसम्मत रूपले राप्ती गाउँपालिका–५ स्थित दोलाई खोला समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि लैजाने निर्णयसमेत गरेको छ ।

संस्थाले राप्ती नदीको जलीय जैविक विविधताका चुनौतीहरूलाई न्यूनीकरण गर्ने दिगो तरिकाले माछाको उपयोग गरी विनासकारी माछा मार्ने तरिकालाई निरुत्साहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाइने स्रोतहरूको सुधार तथा व्यवस्थापन गर्नका लागि देउखुरी उपत्यकाका विभिन्न पालिकामा नौ वटा समूहसमेत गठन गरी संरक्षणको अभियानलाई तीव्रता दिँदै आएको समेत फिल्ड संयोजक राममोती चौधरीले जानकारी दिए ।

खोलाहरू समुदायलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउने परामर्श बैठकमा वडाध्यक्ष गोवर्धन रावत, टोलविकास संस्थाका बामदेव चौधरी, सामुदायिक वनका छविलाल चौधरी, वडासदस्य गणेश चौधरी, संस्थाका पूर्वअध्यक्ष कमल गौतम लगायतले आफ्ना विचारको साथमा यस अभियानको फाइदाका वारेमा प्रस्टाएका थिए ।

प्रतिक्रिया