रिपोर्टरको डायरीः लापर्बाहीले महाव्याधि बढाउँदै

‘बुबा, हजुर कहाँ पुगेर आउनुभयो ? कोरोना देख्नुभयो ?,’ दिनभरिको रिपोर्टिङबाट फर्कंदा चार वर्ष पूरा नपुगेकी मेरी नातिनी बिनिभाले सोध्ने पछिल्ला पाँच महिनायता सधैँजसोको जिज्ञासा हुने गरेको छ । बिनिभाले खेल्ने मोबाइल, घरको टिभी र रेडियोले बराबर कोरोना भाइरसबारे चर्चा गरिरहँदा यसबारे उनको जिज्ञासा बढेको अनुमान लगाउँछु म । सधैँको दोडादौडीले घरपरिवारका अन्य सदस्यले पनि ‘किन यति हिँडिरहनु परेको’ भन्ने गरेका छन् । सामान्यतया घरबाहिर निस्कँदा मास्क लगाउने, भरसक भिडभाडमा नपस्ने र भौतिक दुरी निर्वाहमा ध्यान पु¥याइएको छ ।

यद्यपि, साँझमा घर फर्कंदा नातिनीको जिज्ञासाले मन झस्काउने गरेको छ । आफ्नै परिवेशको कुरा गर्दा कोभिड–१९ महाव्याधिको सन्त्रास झेल्दै आएको पाँच महिना नाघिसकेको छ । अन्य मुलुकमा सन् २०२० को प्रारम्भसँगै बढेको यो महाव्याधि हामीकहाँ भने गत चैत दोस्रो सातासँगै प्रवेश गरेको हो । यद्यपि चैत पहिलो सातामै अन्तर्राष्ट्रिय उडानबाट मुलुक भित्रिएकामा पहिलोपटक संक्रमण पुष्टि भएको हो ।

सुरुमा युरोप र अरब राष्ट्रबाट फर्केकामा संक्रमण पुष्टि भएको यो महाव्याधि महोत्तरीसहितका प्रदेश–२ मा भने नयाँ वर्ष ०७७ सँगै झाँगिदै गएको तथ्यांकले देखाउँछन् । सरकारले पनि ११ चैतदेखि ‘लकडाउन’ लागू गरेर संक्रमण रोकथाममा प्रयत्न थाल्यो । युरोप र अन्य अरब राष्ट्रबाट फर्कनेको जाँचले दुई अंक ननाघेको संक्रमणको संख्या भारतबाट घर फर्कने बढेसँगै भने ह्वात्तै फड्को मारेको तथ्यांकले स्पष्ट पारेको छ ।

संक्रमण सन्त्रास बढिरहेबीच वैशाख दोस्रो साता मसहितका १० सञ्चारकर्मीको पिसिआर परीक्षण भयो । रिपोर्टिङका क्रममा बच्दाबच्दै भिडमा परेर बढेको मानसिक बेचैनीलाई परीक्षणको नेगेटिभ नतिजाले सान्त्वना दियो । स्वाब संकलन गरिएको दिनदेखि नतिजा प्राप्त भएको ६ दिनको बीचमा कतै ननिस्की घरै बसिरहँदा सबैभन्दा खुसी मेरी नातिनी बिनिभा थिइन् । यद्यपि मसँग खेल्न र गफिन पाउँदा खुसी हुने बिनिभालाई यो अवसर धेरै मिलेन ।

रिपोर्टिङमा फेरि जुट्नु नै थियो । मास्क लगाएर हिँड्ने, यथाशक्य भौतिक दुरी निर्वाह गर्ने मसहितका अन्य सहकर्मीको प्रयत्न क्वारेन्टाइन केन्द्रमा हुने कोलाहलले बिच्क्याउँथ्यो । ‘हाम्रा ओछ्यान छैनन्, खान राम्रो पाइएको छैन, बसोवास कोलाहलपूर्ण छ’ भन्दै कराउने क्वारेन्टाइनमा बसेकाहरूको गुनासो स्थानीय तहका प्रतिनिधिसम्म पु¥याएर यथाशक्य उचित प्रबन्धको अनुरोध गरेर हलुको हुनेबाहेक हामीसँग दिने अन्य कुरा थिएनन् । यद्यपि ठाउँठाउँमा हाम्रो यो प्रयत्नले क्वारेन्टाइन केन्द्रको व्यवस्थापन सुध्रिएको पाउँदा हामी दंग पथ्र्यौं ।

आमरूपमा यहाँ मानिसलाई भिडभाडमा नजान, मास्क सधैँ प्रयोग गर्न र एकअर्काबीच भौतिक दुरी निर्वाह गर्न गरिने आग्रहको सुनुवाइ भएको खासै अनुभूति लिन सकिएन । यहाँ संक्रमणको यो डरमर्दो रूप वास्तवमा सुरक्षा प्रबन्धप्रतिको अरुचि मात्र होइन बेवास्ता नै हो भन्ने हामी सञ्चारकर्मीको निष्कर्ष छ । गहिराइमा बुझ्न खोज्दा जीवन गुजाराका लागि गरिब घरबाट निस्कन बाध्य भएका भेटिए पनि धेरैजसोमा अटेरीपन नै कारण भेटिएको महोत्तरीका सञ्चारकर्मी अमृतकुमार महतो बताउँछन् । तैपनि बेला राज्य पक्ष (सरकारका अंगहरू, स्थानीय तह) को सघन उपस्थिति नहुनु र योजनाबद्ध रोकथामका उपाय अवलम्बन र प्रभावकारी अनुगमनको कमी पनि संक्रमण बढ्नाका कारण रहेको उनको ठम्याइ छ ।

पाँच महिना नाघेको यो त्रासदीपूर्ण अवधिबीच हालसम्म कोरोना भाइरस संक्रमणले मुलुकमा ७५ जनाको ज्यान लिइसकेको छ । प्रदेश–२ मै यो संख्या ठूलो छ । यसरी यो महाव्याधिले ज्यान गुमाउनेमा मेरै जिल्ला महोत्तरीका पनि एक जना परेका छन् । दिनहुँ संक्रमित बढिरहेका छन् । मृत्युको कहालीलाग्दो चर्चा पनि सबैतिर भएको सुनिन्छ । ‘बुझ्नु भो गोपालजी, यो कोरोनाले मर्नेको त बोक्ने, घाट पु¥याउने र सद्गतका अन्य विधि पनि परिवारजनले गर्न पाउन्नन् रे !,’ महोत्तरीको भारतीय सीमावर्ती नाका सम्सीको भिडमा भेटिएका एक परिचित मलाई भन्दै थिए । चिया पसलमा बसेर कोरोना असरबारे एकोहोरो बोलिरहेका उनले न मास्क लगाएका थिए, न भौतिक दुरीको नै उनले पर्वाह गरेको देखिन्थ्यो । मैले परैबाट ‘तपाईं मास्क पनि लगाउनुभएको छैन, चिया पसलको भिडमा हुनुहुन्छ, अलि ख्याल गर्नुहोस् भनेँ, उनी भिडमै रमाइरहे ।

मुलुकमा संक्रमण भित्रिएको प्रारम्भिक चरणमै मेरो जिल्ला महोत्तरीसहितका प्रदेश–२ का आठ वटै जिल्लामा संक्रमण रोकथामका सचेतना अभियान निरन्तर चलाइए । चोकबजारमा मास्क बाँड्नेदेखि घरबाट ननिस्कन अपिल गरिँदै राहतको नाउँमा दालचामल पनि बाँडियो । प्रदेशका सबै रेडियोहरूले लगातार घरबाहिर ननिस्कन, भिडभाडमा नजान, मास्क लगाउन, भौतिक दुरी कायम गर्न र बाहिरबाट आउनेलाई क्वारेन्टाइन केन्द्रमा पु¥याउन पहलकदमी लिन अपिल गरिरहे ।

तैपनि प्रदेश–२ मा भारतसँगको खुला सीमाका कारण भिड भित्रिने क्रम रोकिएन । भित्रिएका सबै आआफ्ना बस्तीमा स्वच्छन्द रूपले हिँडडुल गरेपछि संक्रमण ह्वात्तै बढेको हो । लक डाउन अवधिमा पनि महोत्तरी र प्रदेशका सबैजसो हाटबजारमा सदाबहार भिडभाड जमी नै रह्यो । सीमा क्षेत्र (नेपाल–भारत सीमा क्षेत्र) मा हुने दोहोरो आवागमन नरोकिँदा, नेपाल प्रवेश गर्ने सबैको प्रारम्भिक स्वास्थ्य जाँचसमेत गर्न नसकिँदा यस क्षेत्रमा संक्रमण ह्वात्तै बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रदेश–२ मा संक्रमण पश्चिमी जिल्ला पर्सामा सुरु भयो । चैत अन्त्यमा भारतबाट आएका तीन जना भारतीयमा संक्रमण पुष्टि भएको हो । चैत सकिँदा प्रदेशमा तीन संख्या मात्र रहेको यो संक्रमण क्रमशः सर्लाही, सप्तरी र रौतहट हुँदै प्रदेशका सबै जिल्लामा पसेर वैशाख मसान्तमा आइपुग्दा मेरै जिल्ला महोत्तरीका दुई जनामा समेत प्रदेशभरिमा ९५ मा पुग्यो । महोत्तरीसहितका प्रदेश–२ का जिल्लामा जेठ दोस्रो साताको प्रारम्भसँगै भारतबाट फर्कनेको संख्या थामिनसक्नु भयो । खासमा सीमा क्षेत्रका दुवैतर्फ जोडिएका गुजुमुज्ज बस्तीबाट रातारात हजारौँ भित्रिए ।

न कसैको लगत बन्यो, न कुनै अभिलेख ! यस क्रमले जेठ मसान्तमा प्रदेशमा संक्रमित २ हजार १४ पुगे । यतिञ्जेलमा महोत्तरीमा पनि संक्रमित १ सय ८८ पुगे । जिल्ला भित्रिनेहरूको लगत नभएपछि उनीहरूको स्वच्छन्द घुमफिरले संक्रमण बढ्दै गयो भने भारतबाट यता भित्रिने क्रम असारभरि पनि जारी रह्यो । असार मसान्त आइपुग्दा प्रदेशभरिमा ३ हजार ९ सय ११ र मेरो जिल्ला महोत्तरीमा संक्रमित ७ सय ३८ पुगिसकेको थियो ।

मध्य असारअघि महोत्तरीको भारतीय सीमावर्ती सम्सी गाउँपालिकामा त भारतबाट फर्कनेको भिड थामिनसक्नु भयो । हामी केही संख्याका सञ्चारकर्मी पनि त्यहाँको अवस्था हेर्न पुग्यौँ । सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मी सबैको पहलकदमीमा सम्सीमा मात्रै क्वारेन्टाइनमा बस्ने दुई हजार नाघे ।

बस्तीमा भर्खर भारतबाट को आएको छ भन्दै खोजी गरेर निकाल्दै जाँदा त्यहाँको क्वारेन्टाइनमा यो यति संख्या पुगेको हो । त्यहाँ गरिएको पिसिआर परीक्षणमा २ सय ७५ जनामा संक्रमण पुष्टि भयो । यसबाहेक जिल्लाका अन्य नाकाबाट लुकीचोरी भित्रिने क्रम पनि रोकिएन । संक्रमण बढ्दै जाँदा महोत्तरी प्रदेशमै रौतहटपछि सबैभन्दा बढी संक्रमितको जिल्ला बन्यो ।

लक डाउन अवधिमै पनि भिडभाड र हाटबजार नियन्त्रण हुन नसकेको महोत्तरीसहितका प्रदेश–२ का जिल्लामा ७ साउनमा लक डाउन हटेयता संक्रमण जोखिम झनै बढेको छ । लक डाउन हटेयता (७ साउनदेखि हालसम्म) नै प्रदेश–२ मा १ हजार ३ सय ६७ र महोत्तरीमा १ सय १७ संक्रमित बढेका छन् । त्यसअघि १ देखि ६ सम्मका ६ दिनमा प्रदेशभरीमा ३ सय ५३ र महोत्तरीमा १३ जना संक्रमित बढेका थिए ।

यो प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले अद्यावधिक गरेको अभिलेखअनुसारको संख्या हो । यद्यपि यो विपद्भित्र एउटा आशालाग्दो पक्ष उपचारले ठीक भएर घर फर्कनेको संख्या पनि अहिलेसम्म ३ हजार ३ सय ३४ नाघेकोे छ । यो कुल संक्रमितकोे ५९ दशमलव २० (५९.२०५) प्रतिशत हो । यसभित्र २६ जना (०.४६५) को दुःखद मृत्यु भएको छ भने दुई हजार २ सय ७१ (४०.३३५) अझै उपचारका क्रममा छन् ।

प्रदेशमा हालसम्म ६७ हजार ४ सय २० बढीकोे पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तीमध्ये महोत्तरीका चार हजार ३ सय ७३ जना छन् । प्रदेशमा स्वाब संकलन गरिएकामध्ये ४ हजार ३ सय ८४ को भने परीक्षण नतिजा आउन बाँकी देखिन्छ । जताततै बढेको भीड रोक्न पछिल्लोपटक गत साता (साउन १९ यता) देखि नै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका मुख्य बजार क्षेत्र र महोत्तरी गाउँपालिका–३ र ५ मा जिल्ला प्रशासन कार्यालय महोत्तरीले कफ्र्यु (निषेधाज्ञा) जारी गरेको छ ।

यसैगरी जिल्लाका भंगाहा नगरपालिकाले आफ्नो नगर क्षेत्रका हाटबजार लाग्न साउनभरि रोकेको छ । यसै क्रममा बर्दिवास नगरपालिका–१, २ र १४ वडासमिति र बर्दिवास उद्योग वाणिज्य संघले भिडभाड रोक्न हाटबजार नलगाउन र भिडभाडमा ननिस्कन सर्वसाधारणलाई अपिल गरेका छन् । स्थानीयतह र उद्योगी व्यापारीको यो प्रयत्नले भिडभाड घटेको देखिँदो छ । यद्यपि संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सुरक्षा प्रबन्धमा देखिने उदासीनताले जोखिम कायम नै छ ।

पिसिआर परीक्षण तत्काल गरिनुपर्ने र गर्न इच्छुकको संख्या उल्लेख्य छ तर स्वाब संकलनदेखि त्यसको परीक्षणसम्मका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री पर्याप्त नहुँदा अपेक्षित परीक्षण हुन सकेको छैन । भर्खरै प्रदेश–२ सरकारले तीन पिसिआर मसिन, ५० भेन्टिलेटर, पाँच सय श्ययाको आइसोलेसन कक्ष बढाउने र सो सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेपछि परीक्षण र अझ प्रभावकारी उपचार प्रबन्ध बढ्ने कुराको आस जागेको छ ।

आफ्नो जिल्ला र प्रदेशको यो अवस्थाबीच सधैँ घरपुग्दा नातिनी बिनिभाले राख्ने कोरोनाबारेको जिज्ञासाले उनलाई काखमा लिन पनि डर लाग्ने गरेको छ । ‘बुबा, कोरोना देख्नुभयो ?,’ बिनिभा सोध्छिन् । उनी झ्वास्सै मलाई समात्न नआई पुगुन् भनेर म ‘नानी, मामुलाई नछोड’ भन्दै साबुनपानीले हातगोडा धुन धारातिर जान्छु । नानीको रहर न हो, म धाराबाट फर्कनासाथ बिनिभा झ्याप्प मलाई समाउँछिन्, म डराउँदै डराउँदै उनलाई डो¥याएर उनकी मामु (आमा)निर पु¥याउँछु ।

प्रतिक्रिया