हल्लाको पछि नदौडौँ

भारतका विदेशमन्त्री एस जयशंकरले गत शनिबार उद्यमी व्यवसायीहरूको छाता संगठन कन्फडरेसन अफ इन्डियन इन्डस्ट्रिद्वारा आयोजित एक कार्यक्रममा गौतम बुद्धका सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर नेपालमा निकै ठूलो विवाद भयो । भारतका विदेशमन्त्री जयशंकरले गौतमबुद्ध आफ्नो देशका नागरिक भएको दावी गरेको भन्दै सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा समाचार प्रवाह भए । यो समाचारले तुरुन्तै सनसनी मच्चायो । तत्काल नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो, ‘यो एउटा स्थापित र निर्विवाद तथ्य हो, ऐतिहासिक र पुरातात्विक प्रमाणहरूका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उक्त क्षेत्र बुद्ध र बौद्ध धर्मको स्थल तथा युनेस्कोको विश्वसम्पदास्थलहरू मध्ये एक हो ।’ क्रिया एकातिर प्रतिक्रिया अर्कैतिर जस्तो देखियो । भारतीय विदेशमन्त्री जयशंकरको भनाइ बुद्ध भारतमा जन्मेका हुन् भन्ने थिएन । उनको भनाइ थियो, ‘हामी सबैले आजसम्मकै महान् भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रूपमा चिन्छ ।’ यर्थाथमा भन्नुपर्दा भारतीय विदेशमन्त्रीको यो दावी पूरै असत्य होइन । गौतम बुद्धबारे नेपालले आवश्यक प्रचारप्रसार गर्न नसकेको र भारतले बढी नै अफवाह फैलाएका कारण विश्वका धेरै देशका नागरिकमा बुद्ध भारतीय नै हुन् कि भन्ने भ्रम छ ।

हामी नेपालीमा एउटा कमजोरी छ, बास्तविकता बुझ्नतिर लाग्नुभन्दा तत्काल प्रतिक्रिया दिएर विरोधमा उत्रिहाल्ने । यसले बेलाबेला ठूलोनोक्सानी बेहोर्नुपरेको छ । उदाहरणका लागि हृतिक रोशन प्रकरणलाई लिन सकिन्छ । त्यतिबेला हाम्रो ठूलो कमजोरी भयो । यही कमजोरीका कारण पहाडी समुदाय र मदेसी समुदायबीचको सहिष्णुतामा ठूलो दरार पैदा भयो । त्यो दरारले हाम्रो राष्ट्रियता कमजोर भयो । सर्वसाधारण जनताले त होस् पुर्याएनन् पुर्याएनन्, सरकारमा रहनेहरूले पनि होस् पुर्याउन नसक्ने हो भने हामी आफैँलाई नोक्सान पुग्नेछ । बेलाबेलामा जे जस्ता अभिव्यक्ति दिनेगरे पनि भारतले आधिकारिक रूपमा भने गौतमबुद्ध आफ्नो देशमा जन्मेका भन्न सकेको छैन । बेलाबेलामा आउने गरेका अभिव्यक्तिलाई पनि भारतले नै खण्डन गर्ने गरेको छ । तर, बुद्ध नेपालमा जन्मे पनि अधिकांश समय भारतमै बसेको र भारतमै ज्ञान प्राप्त गरेको भन्ने प्रचारप्रसार भने तीव्र छ । जसलाई खण्डन गर्न नेपाल चुकेको छ ।

कपिलबस्तुका राजकुमार सिद्धार्थ गौतमका रूपमा नेपालको लुम्बिनीमा जन्मेका उनी भारतमा गएर बुद्धत्व प्राप्त गरी गौतम बुद्ध कहलाएको कुरा अर्धसत्य भए पनि लगभग स्थापित भइसकेको छ । यसलाई नेपालले पनि स्वीकारेको हो कि भन्ने देखिएको छ । गौतम बुद्ध संबन्धी अन्योलको जड भनेकै यही हो । दरबारको सुखसयल छाडेर भारतको बोधगया नपुग्दासम्म उनी साधारण राजकुमार मात्रै थिए त ? भन्ने प्रश्नको उत्तर दिमागमा राख्नु जरुरी छ । उनी जन्मनासाथ जुरुक्क उठेर सात पाइला हि“डेको बुद्ध धर्मग्रन्थमा उल्लेख छ । साधारण मानिस जन्मने बित्तिकै हि“ड्न सक्छ ? राजकुमारको रूपमा कपिलवस्तु दरबारमा रह“दा नै सिद्धार्थ गौतमले सामान्य मानिसमा नहुने गुण देखाइसकेका थिए । वास्तवमा सामान्य मान्छेका लागि राजकुमार या राजा भनेको निकै ठूलो कुरा हो । जीवनमा त्यहा“भन्दा उचाइमा पुग्ने ठाउ“ हु“दैन । तर, यो उचाइमा पुगेका सिद्धार्थ गौतम किन भिक्षु बन्न तयार भए ? बुद्धत्व प्राप्त नभई यस्तो संभव छ ? त्यसैले सिद्धार्थ गौतमले जन्मदै र हुर्कंदै बुद्धत्व प्राप्त गरेका थिए, बोधगयामा गएर त आफूलाई परिस्कृत गरेका हुन् । बुद्ध नेपालकै लुम्बिनीमा जन्मेका हुन् भन्ने अकाट्य प्रमाण हु“दाहु“दै पनि भारतले नक्कली लुम्बिनी खडा गरेको छ । यस्ता अकाट्य प्रमाणलाई पनि ओझेलमा पार्ने प्रयास गरिएका कारण पनि भारतप्रति नेपाली मन सशंकित हुने गरेको हो ।

प्रतिक्रिया