पुरातत्व विभागको सकारात्मक पहल

राम जन्मभूमी अयोध्याका विषयमा थप अध्ययन तथा अनुसन्धानको काम पुरातत्व विभागले थालनी गरेको छ । चितवन जिल्लाको दक्षिणी सिमाना अर्थात भारतसँग जोडिएको विन्ध्याचल र सोमेश्वर पर्वतको फेदीमा रहेका पुरातात्विक संरचनाको अध्ययन अनुसन्धान कसरी अघि बढाउने ? भन्ने सन्दर्भमा विभागले विज्ञहरूसँग छलफल आरम्भ गरेको छ । गत २७ असारमा भानुजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली राम जन्मभूमी अयोध्या पर्सा जिल्लाको ठोरी तथा चितवन जिल्लाको अयोध्यापुरी भएको बताएपछि नेपालमा मात्रै होइन भारतमा पनि ठूलो तरंग उत्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले सांस्कृतिक अतिक्रमण रोक्न थप अध्ययन एवं अनुसन्धान हुनुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीको यो भनाइपछि सक्कली अयोध्याको विषयमा धेरैले चासो देखिएको छ । यही चासोलाई ध्यानमा राख्दै पुरातत्व विभागले विज्ञहरूसँग छलफल आरम्भ गरेको हो । विज्ञहरूको सुझाव अनुसार छिटै स्थलगत अध्ययन थालिने पुरातत्व विभागले जनाएको छ ।

पुरातात्विक प्रमाणद्वारा राम जन्मभूमीको निक्र्योल गर्न वास्तवमा सजिलो छैन । रामायणकाल त्रेतायुगको हो । त्रेतायुग मात्रै होइन त्यसपछि द्वापरयुग समाप्त भएर कलीयुग सुरु भएको पनि पा“च हजार वर्ष बितिसकेको बताइन्छ । त्यसैले लाखौँ वर्ष अघिका भौतिक प्रमाणहरू अहिले फेला पर्ने संभावना रहन्न । त्यतिबेलाकै प्रमाण फेला नपरे पनि पछिल्ला युगका केही वस्तुहरू भने फेला पर्न सक्छन् । उदाहरणका लागि बुद्धको निधन भएको सयौ“ वर्षपछि सम्राट अशोकले लुम्बिनीमा एक शिलास्तम्भ गाड्दै गौतम बुद्ध जन्मेको स्थान निक्र्योल गरिदिएका थिए । यही आधारमा गौतमबुद्ध लुम्बिनीमा जन्मेको पुष्टि भएको हो । यसरी नै कसैले रामजन्मभूमी पुष्टि हुने सामग्री छाडेका पनि हुनसक्छन् । तर, यसको संभावना झिनो छ । मुख्य आधार भनेको बाल्मीकि रामायण तथा अरू पौराणिक ग्रन्थमा उल्लेख गरिएका सामग्री नै हुन् । यी सामग्रीका आधारमा अध्ययन गर्ने हो भने सक्कली अयोध्या चितवनको अयोध्यापुरी, पर्साको ठोरी तथा भारतको रामनगर क्षेत्रमा पर्ने भूभाग नै हो भन्ने अनुमान लगाउन सकिन्छ । तर, यो कुनै एक देशको मामिला नभएर वैदिक सनातन धर्ममा आस्था राख्ने सबैको मामिला हो । छिमेकी मित्रराष्ट्र भारत पनि यस विषयमा थप अनुसन्धानका लागि सहयोगी बन्नुपर्छ । तर, भारतमा यति बेला राम जन्मभूमीको विषयमा थप अनुसन्धानका लागि अनुकूल सत्ता छैन । फाजियावादमा मुस्लिमहरूले बनाएको अभेद्य किल्लालाई नै अंग्रेजहरूले सक्कली अयोध्या भन्दै हिन्दू र मुस्लिमबीच द्वन्द्व सिर्जना गराइदिएका थिए । त्यही द्वन्द्वको आडमा स्थापित भएको पार्टी हो भारतको वर्तमान सत्तारूढ भाजपा । त्यसैले अयोध्याको विषयमा थप अनुसन्धान कार्यको विरोधमा भारतको सत्ता धेरै असहिष्णु रूपमा प्रकट हुने निश्चित छ ।

पुरातात्विक प्रमाण जुटाएर मात्रै वास्तविक अयोध्याको गुरुयोजना अघि बढाउने सोचाइ सरकारले राख्नुहुन्न । तत्कालै गुरुयोजना अघि बढाउनुपर्छ । पौराणिक प्रमाण नै काफी छन् । बाल्मीकि रामायणमा आश्रमको पूर्वतिर अयोध्यापर्छ भनिएको छ । बाल्मीकि आश्रमबाट अयोध्यापुरी पूर्वपर्छ । अयोध्यापुरी वरिपरिको भागमा बैकुण्ठ ताल, सोमेश्वर पहाडलगायत धार्मिक एवं सांस्कृतिक महत्वका धेरै स्थल रहेकाले पनि अयोध्यापुरी नै राम जन्मभूमि हुन सक्ने बलिया प्रमाण छन् । परशुराम कुण्डबाट आउने मरोट खोला र रिया खोला पनि बाल्मीकि आश्रम एवं अयोध्यापुरीको बीचमा रहेकाले अयोध्यापुरीमा दशरथ र कौशल्याका छोरा रामको जन्म भएको बलिया आधार हन् । बरु यी स्थलहरूको थप उत्खनन् गर्नु जरुरी छ । भारतले थप षडयन्त्र गर्नेतर्फ पनि सचेत हुनु जरुरी छ । पञ्चायतकालमा चितवनको साविक अयोध्यापुरी गाविसको केही भाग पर्सा जिल्लामा गाभिएको थियो । साथै स्थानीय तहको संरचना गरि“दा अयोध्यापुरीको नाम नै गायब बनाइएको छ । यस्ता सुक्ष्म षड्यन्त्रप्रति होसियार हुनुपर्छ । अयोध्यापुरी नामाकरणलाई पुनर्जीवित गर्नुपर्छ ।

प्रतिक्रिया