कविता-आर्यघाटमा गाई कि त्रिशूल !

  बलराम तिमल्सिना

अलग अलग
दुइटा लास बोकेर
मलामीहरूको टोली
हिडिरहेछ आर्यघाटतिर !
आर्यघाटको
एक नम्वर चितामा
कसको लास पहिले जलाउने
रस्साकस्सी परेको छ मलामीबिच !
एकथरिले भन्दै छन्–
‘तेरो लास त डेरावालाको लास
पैले घरबेटीको लास जल्छ !’
अर्काथरि भन्दै छन्–
‘पहिला जसको लास पुग्छ
त्यसैको लास जल्छ !’
भनाभन अझ बढ्दै छ
किन कि आर्यघाट नजिक आइसक्यो !
बाटोमा तगारो हाल्ने
मलामी किन्ने र मलामी चोर्ने
सबै सबै उपक्रम चलिरहेछ !
घरबेटी र डेरावालको लफडा हल भएन
त्यसपछि सुरु भयो
वर्णानुक्रमको बहस
घरबेटी लासवाला मलामीले भने–
‘हाम्रो लासको नाम खबाट सुरु हुन्छ
हाम्रो लासको पालो पहिलो !’
डेरावाल वेला लासका मलामीले भने–
‘हाम्रो लासको सहायक नाम
अझ कबाट सुरु हुन्छ
हाम्रो लासको पहिलो पालो !’
लफडा अझ चर्कियो
कसैले सहमति गरौं
पहिला जन्मनेको पहिलो पालो भने
अर्काथरिले असहमति जनाए
अर्काथरिले प्रस्ताव राखे–
जो पहिला मरेको उसको पहिलो पालो
पहिलोथरिले भाँजो हाले !
मलामी आर्यघाट पुग्यो
लास काँधमा बोकेर
घण्टौं बाझाबाझ परिरह्यो
त्यसपछि कसैले बुद्धि निकाल्यो–
गाई कि त्रिशूल गरौं !
अन्ततः भयो सहमति गाई र त्रिशूलमा
थाहा छैन कुन लास पहिले जल्ने हो !
यी सबै लफडा नजिकबाट हेरेपछि
दिक्दार भएको
एउटा कविले कविता लेख्यो
कविताको शिर्षक थियो–
आर्यघाटमा गाई कि त्रिशूल !

प्रतिक्रिया