परापूर्वकालदेखि बन्देज बनाइएका मन्दिरहरुमा दलित समुदायको पूजाआजा सुरु

कालिकोट । कालीकोटमा बन्देज लगाइएका देवताका मन्दिरहरुमा दलित समुदायको भेटि चडाउँदै पूजाआजा गर्न सुरु भएको छ । दलित समुदायले अन्य जातजातिका देवि देवताका मन्दिरहरुमा जान नपाउने र गएपछि विभिन्न अवरोध आउँछन् भन्ने खालका अन्धविश्वास तोडिँदै गएको छ । परापूर्वकालदेखि देविदेवताको मन्दिरमा नचढेको दलित समुदायको फूल चामल, भेटि पहिलो पटक देविको मन्दिरमा चढेको हो ।

कालिकोटकै चर्चित देवता चुलिमालिका, बडिमालिका, महावैलगाएतका देवताका मन्दिरहरुमा दलित समुदायहरुको पुजा आजा सुरु भएको छ । देवताका मन्दिरहरुमा गएमा देविदेवता रिसाएर बिचबाटोमै मर्ने, नराम्रो हुने, परिवारमा छल हुने, पुरानो परम्परागत धार्मिक अन्धविश्वाशलाई चिर्दै, कर्णालीकै चर्चित धार्मिक तथा पर्यटकिय तिर्थस्थल चुलिमालिका माईको मन्दिरमा जिल्लाका दलित अधिकारकर्मिहरु पुगेर फूलचामल ,भेटि चढाएर दर्शन गरेका हुन् ।

श्रावण १७ गतेदेखि १९ गते सम्म हुने पूजामा खाँडाचक्र नगरपालिका– ४ का वडाध्यक्ष धनसिंह कामीको नेतृत्वमा जिल्लाका दलित अधिकार कर्मिको समूहले पहिलो पटक मन्दिरमा फुलचामल चढाएर पूजा गरेका छन । वडाध्यक्ष कामिले भने, ‘अहिलेसम्म देविदेवताको मन्दिरमा पूजा गर्न पाएका थिएनौ, आफ्नो देविदेवतासँग भाकल गर्न पाएका थिएनौँ, अब दलितहरुले पनि खुल्ला रुपमा मन्दिरमा सबैसँग पूजा गर्न पाउने भएका छौँ ।’

चुलिमालिका मात्र होईन, मध्यतथा सुदुरको चर्चित धार्मिकस्थल बडिमालिका माईको मन्दिरमा पनि अहिलेसम्म दलित पूजा गर्न गएका छैनन् । अब आफूहरुले चुलिमालिका माईको मन्दिरबाट पूजा गर्न सुरुवात गरेको वडाध्यक्ष कामीले बताए । उनले जिल्लाका अन्य देवीदेवताका मन्दिरहरुमा पनि पूजाआजा गर्न जाने बताए । मान्छे एउटै काटेमा रगत एउटै तर, जातजातिले गर्दा आफूहरु सधियौँदेखि आफ्नो अधिकार खोसिँदै आइरहेको थियो ।

पहिलो पटक आफूले मन्दिरमा चढाउन लिएको फुलचामल मन्दिरमा चढेको र मन्दिरमा पूजा गर्न गएका दलित अगुवा बसन्त सुनारले बताए । दलित अधिकारकर्मी तथा पत्रकार रमेश शोनीले दलित समुदायले बनाएका मन्दिरमा दलितहरु नै जान नपाउने र विभेद गर्ने अन्य जातिका मानिसहरु पनि यतिबेला परिवर्तन भएको बताए । उनका अनुसार मन्दिरमा लगाउने लिंगो, राँगो बलि चढ्ने, तर, दलितको फूलचामल मन्दिरमा नचढ्ने यस्तो परम्परा तोडेको हो ।

देशले विकासको गति अगाडि बढाइरहेको समयमा दलितहरुले मन्दिरमा जान नपाइने धार्मिक पराम्परालाई सम्पूर्ण दलित अधिकारकर्मीले तोड्नु पर्ने शोनीले बताए । चुलिमालिका मात्र नभइ जिल्लाका अधिकांश मठमन्दिरमा दलितलाई दर्शन गर्न नमिल्ने धार्मिक अन्धविश्वाश रहीरहेको छ । अबदेखि दलित समुदायहरुले जुनसुकै मठमन्दिरमा पनि पूजापाठ गर्न पाउने भएका छन् ।

चुलिमालिका मन्दिरका पूजारी भिमप्रसाद चौलागाँईका अनुसार, परम्परागत धार्मिक अन्धविश्वाशले अहिलेसम्म दलित समुदायको फूलचामल मन्दिरमा चढेको थिएन । पहिलो पटक दलितको फूलचामल र भेटि मन्दिरमा चढेको छ । तत्कालिन नेकपा माओवादी र सरकारविचको दशवर्षे युद्धको बेला केहि दलित मन्दिरमा आए ।

त्यसपछि दलितहरु मन्दिरमा आफै पनि आउँदैनथे, अहिले जनप्रतिनिधिको नेतृत्वमा दलित अधिकारकर्मिले मन्दिरको दर्शन गरेका छन् । वडाध्यक्ष, धनसिंह कामि, दलित अधिकारकर्मी जयबहादुर विक, शिक्षक हर्ष सुनार, अनिपाल विक, वडा सदस्य ललित विक, दानबहादुर विक, पुनम विश्वकर्मा, खड्क विश्वकर्मा, दुर्ग विश्वकर्मा लगायतका अधिकारकर्मिले पहिलोपटक माईको मन्दिरमा दर्शन गरेका हुन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया