अर्थबजार

टिमुर खेतीतर्फ किसानको आकर्षण बढ्दो

सानेबहादुर नेपाली, रासस २०७७ साउन १७ गते १७:४४ मा प्रकाशित

तनहुँ । व्यावसायिक टिमुरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि उनीहरु टिमुरखेतीतर्फ आकर्षित भएका हुन् । घरबास सञ्चालन गरेर ख्याति कमाउँदै आएका हिलेखर्कका ६२ किसान व्यावसायिक रुपमा टिमुरखेतीमा संलग्न भएका छन् । उक्त क्षेत्रमा अहिले २०० रोपनी क्षेत्रफलमा करिब २० हजार टिमुरका बिरुवा लगाएका छन् । त्यसक्षेत्रमा रहेका ६२ घरधुरी मिलेर सबैले आ–आफ्नो क्षमताअनुरुप टिमुरखेती गरेको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए । पच्चीस जनाको समूह गठन गरी व्यावसायिक रुपमा टिमुरखेती अघि बढाएको उनले जानकारी दिए ।

तीन÷चार वर्षअघि केही व्यक्तिले थोरैथोरै टिमुरको खेती गरे पनि गत वर्षदेखि व्यावसायिकरुपमा खेती लगाउन थालेका हुन् । डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले ढुवानी गरेर लगेका हुन् । उक्त बिरुवा डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुखखेती गरिएको छ । अध्यक्ष गुरुङले भने, ‘कम्तीमा पनि दुई÷३०० बिरुवा लगाएका छन् ।’ टिमुरखेती नेपालको पहाड, तराई र हिमाल सबै क्षेत्रमा गर्न सकिने बताइएको छ । तर विशेषगरी समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइ टिमुर खेतीका लागि उत्तम मानिन्छ । हिलेखर्क टिमुरखेतीका लागि उपयुक्त हावापानी राम्रो भएकाले यहाँका सबै घरधुरीले टिमुरखेती गरेको समूहका सचिव युवराज गुरुङले बताए ।

बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् । रुखो जग्गा जमिन तथा वनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मिहिनेत गर्नु नपर्ने भएपछि त्यसक्षेत्रमा अभियानकैरुपमा टिमुर खेती थालिएको छ । स्थानीयवासी जीतबहादुर गुरुङले करिब एक हजार ५०० टिमुरका बिरुवा लगाएको बताए । खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उनले जानकारी दिए । टिमुरको बिरुवा बाहिर किन्दा रु १०० देखि रु १५० सम्म पर्ने भए पनि समूहमार्फत ल्याउँदा प्रतिबिरुवा रु ४० परेको उक्त कृषक समूहले जनाएको छ । बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत रु आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरेर बिरुवा खरिद गरी ल्याएर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

जडीबुटी कार्यक्रमअन्तर्गत यस वर्ष पनि हिलेखर्क क्षेत्रमा टिमुरखेतीको बिस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको अन्य उपयुक्त स्थानमा पनि टिमुरखेतीका लागि पहल गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिउ । टिमुरको माग अत्यधिकमात्रामा रहेकाले टिमुरखेतीको भविष्य राम्रो देखिएको उहाँले बताए । हिलेखर्क घरबासको नाउँले प्रसिद्ध मानिन्छ । पछिल्लो समय कृषि क्षेत्रमा समेत पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको स्थानीयवासी बताउँछन् । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दाले समेत टिमुरखेतीका लागि चासो देखाउन थालेको बताइएको छ ।

टिमुर प्रायजसो अचारमा छोपका रुपमा प्रयोग गरिँदै आए पनि यसको महत्व कमैले बुझ्ने गरेका छन् । टिमुर औषधिका रुपमा प्रयोग गर्न सकिने हुँदा बजारमा यसको माग बढी रहेको पाइन्छ । टिमुरलाई पेलेर निकालेको तेल र छोक्रा दुवै औषधिका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख बरालले बताए । टिमुरलाई धेरै औषधिका रुपमा प्रयोग गर्न सकिने हुँदा बजारमा यसको माग बढिरहेको छ । परिपक्क टिमुरको एक बोटबाट करिब पाँच किलोसम्म टिमुर उत्पादन हुन्छ । टिमुरको मूल्य अहिलेको बजार भाउअनुरुप प्रतिकिलो रु सातदेखि ९०० सम्म बिक्री गर्ने गरेको छ ।

टिमुर उत्पादनपछि बिक्रीका लागि बजारको कुनै किसिमको समस्या नरहने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । नेपालमा करिब २० प्रतिशत टिमुर उत्पादन हुने र अन्यत्रबाटै आयात भएमात्रै उपभोग गर्न सकिने बाध्यता रहिआएको छ । स्थानीय बजारदेखि अन्तरराष्ट्रिय बजारसम्म टिमुरको माग अत्यधिक रहेको छ । उत्पादन गरिएको टिमुर बिक्रीका लागि कुनै समस्या छैन । उनले भने, ‘टिमुर बहुउपयोगी वस्तु भएकाले जति उत्पादन गरे पनि सहजरुपमा खपत हुन्छ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय