मन्त्रालयद्वारा गायिका लक्ष्मी न्यौपानेसहित विभिन्न स्रष्टा पुरस्कृत

काठमाडौं । सरकारले सिर्जनाका विभिन्न विधामा योगदान दिएका स्रष्टालाई सम्मान गरेको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा संस्कृति, साहित्य, ललितकला, संगीत तथा नाट्य क्षेत्रमा काम गरेका स्रष्टालाई सम्मानित गरिएको हो । संस्कृतिमन्त्री योगेश भट्टराईले विभिन्न विद्यामा योगदान पुर्याएका स्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरे ।

सरकारले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६, पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरेको हो । जसमा संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कारमा प्रदेश १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश २ बाट धनुषाका डा. रामसागर पण्डित, बागमती प्रदेशबाट ललितपुरका डा. गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा. ज्ञानबहादुर कार्की, प्रदेश ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित भएका छन् ।

प्रा. डा. दयाराम श्रेष्ठलाई भाषा–साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । प्रादेशिक पुरस्कारमा प्रदेश १ बाट खोटाङका सुरेश हचेकाली, प्रदेश २ बाट बाराका नवराज रिजाल, बागमती प्रदेशबाट काभ्रेका गोपी मैनाली, गण्डकी प्रदेशबाट स्याङ्जाका तर्कना शर्मा, प्रदेश ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा. ओमप्रकाश आचार्य, र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्यायले पाएका छन् । काठमाडौंका श्यामलाल श्रेष्ठले ललितकलातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार पाएका छन् ।

त्यस्तै, प्रादेशिक पुरस्कार प्रदेश १ बाट सुनसरीका जीवनाथ पोखरेल, प्रदेश २ बाट धनुषाकी सरितादेवी मण्डल, बागमती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश ५ बाट गुल्मीकी सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भिमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रविन्द्रबहादुर चन्दबाट पुरस्कृत भएका छन् । संगीत तथा नाट्यतर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्यनारायण चौधरीले पाएका छन् ।

प्रादेशिक पुरस्कारमा प्रदेश १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, बागमती प्रदेशबाट रामेछापका केशर कालिकोटे, गण्डकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाई पुरस्कृत भएका छन् ।

राष्ट्रिय प्रतिभा पुरस्कारको राशी एक लाख र प्रादेशिक पुरस्कार ५० हजार रहेको छ ।यसैगरी एक लाख राशी रहेको महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधातर्फ तेह्रथुमका मोहन सिटौला, निबन्धतर्फ दाङका प्रा. केशव सुवेदी, गद्याख्यान÷नाटकतर्फ काठमाडौंकी पद्मावती सिंह, बालसाहित्य÷लोक साहित्यतर्फ दैलेखका डा. मधुसुदन गिरी र भाषा–साहित्यतर्फ भक्तपुरका भैरव रिसाल सम्मानित भएका छन् ।

एक लाख राशी रहेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कवितातर्फ धादिङका प्रा. घनश्याम उपाध्याय कँडेल सम्मानित भएका छन् । त्यस्तै, एक लाख राशी भएको पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ बाट राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहासतर्फ कपिलवस्तुका डा. माधवराज पन्थी सम्मानित भएका छन् भने साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौंको राष्ट्रिय आविस्कार केन्द्रलाई सम्मानित गरिएको छ ।

एक लाख राशी रहेको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ तर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज वि.क (मरणोपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया