अर्थबजार

चार युवाले सुरू गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

केदार मगर /रासस २०७७ असार २९ गते ८:२२ मा प्रकाशित

खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् ।

पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरिएको सञ्चालक पर्वतले बताए । ‘ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन सुरु गरिएको छ,’ उनले भने, ‘फार्ममा उत्पादित ड्रागन फ्रुटको नर्सरी सहुलियत मूल्यमा बिक्री गरिनेछ ।’

झापाबाट खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा संख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको जनाइएको छ । फार्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् ।

पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जतिकै अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ । ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती सुरु गरिएको अर्का सञ्चालक सन्तराजले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६–०७७ मा उपलब्ध गराएको आठ लाख रुपैयाँ अनुदान र चारजनाले प्रति व्यक्ति शेयर एक–एक लाख रुपैयाँ गरी १२ लाख रुपैयाँमा ड्रागन फ्रुटको खेती सुरु गरिएको जनाइएको छ । ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालिम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन् ।

आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरिएको उनीहरुको भनाइ छ । चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन् ।

पालिकास्तरीय नमूना कृषि फार्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती सुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । चार युवाले सुरु गरेको सामूहिक ड्रागन फ्रुटको खेती सुरुआती चरणमै राम्रो देखिएको कृषि शाखा प्रमुख राईको भनाइ छ ।

हरेक वडामा कृषक समूह गठन गरेर ‘एक वडा, एक कृषि व्यवसाय’को स्रोत केन्द्र बनाउने गरी गाउँपालिकामा अभियान नै थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । ‘वडास्तरमा २९ वटा कृषक समूह गठन गरिएको छ,’ उनले भने, ‘हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउ–बीजन, उन्नत जातको पशु तथा पंछी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराएको छ ।’

गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकारअन्तर्गत हेल्भेटासले ४५ लाख २८ हजार रुपैयाँ गरी जम्मा ९८ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । सबै वडालाई एक–एक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष क्रमशः कृषिमा बजेट बढाउँदै लगिने गाउँपालिका प्रमुख खड्काले बताएका छन् ।

परम्परागत कृषि पेशा अपनाउँदै आएका कृषक गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएपछि कृषि पेशाप्रति आकर्षित बनेका छन् । गाउँपालिको समग्र कृषि क्षेत्रको विकासका लागि गाउँपालिका प्रमुख र वडाका लागि वडाध्यक्षको संयोजकत्वमा कृषि विकास समिति गठन गरिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय