रामजीको ‘लकडाउन’ सार्वजनिक

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यतिबेला संसारभरका नागरिक ठुलो समस्यासँग जुधिरहेका छन् । त्यसको असर नेपालमा पनि बढ्दै गएपछि गत चैत ११ गतेबाट लकडाउन सुरु भएर अहिलेसम्म जारी नै छ । यसैको असर तथा प्रभवलाई मध्यनजर गरेर रामजी ज्ञवालीले सानो पर्दाको चलचित्र ‘लकडाउन’ ल्याएका छन् ।

देशमा लकडाउन पूर्णरुपमा कहिले खुल्छ त्यो अहिल्यै अनुमान गर्न सक्ने अवस्था पनि छैन । देशमा लकडाउन सुरु भएपछि आम नागरिकहरुले ठूलो समस्या झेल्नुपरेको छ । यस्तै विषय उक्त चलचित्र ‘लकडाउन’ मा समेट्ने प्रयास गरिएको ज्ञवालीले बताए । सो चलचित्र लकडाउनमा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको उनको भनाइ छ ।

आर्थिक अवस्थाले तड्पिरहेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुझेर उनीप्रति देखाएको सद्भाव र सहयोगले धेरैलाई भावुक बनाउन सक्ने ज्ञवालीको जिकिर छ । द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा अभिविन्द खनियाले अभिनय गरेका छन् भने उनीसँगै वर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको समेत सहायक भूमिका रहेको छ ।

सो चलचित्रलाई सञ्चारकर्मी समेत रहेका ज्ञवालीले लेखन तथा निर्देशन गरेका हुन् । उनले निर्देशन गरेको अर्को छोटो चलचित्र छिट्टै प्रदर्शन गर्ने तयारीमा रहेको जानकारी गराए ।

प्रतिक्रिया