छोटो दुरीका सार्वजनिक सवारी खुल्ला

काठमाडौं । कोरोनाको संक्रमण कम हुँदै गएपछि सरकारले छोटो दुरीका सार्वजनिक यातायातका सवारी साधन सुचारु गर्न दिने निर्णय गरेको छ । चैत १० गतेदेखी बन्द रहेका सार्वजनिक यातायातका सावारी साधन असार २६ गतेदेखी सञ्चालनमा आउने भएका हुन् । मन्त्रिपरिषद्ले केही शर्त राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।

जिल्लाभित्र मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न पाउने त्यस्ता सवारीसाधनले पूर्ब सुरक्षाका मापदण्ड पुरा गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार यात्रु, सवारी चालक र सहचालकले अनिवार्य मास्क लगाउनुपर्नेछ ।

बसको ढोका र भित्र ‘सेनिटाइजर’को व्यवस्था गर्नुपर्ने, एउटा सिटमा एक यात्रुमा राख्न पाउने मापदण्ड तय गरेको छ । चालक र सहचालकले भने पञ्जा, भाइजर र पञ्जा अनिवार्य लगाएको हुनुपर्नेछ । यसैगरी सवारी साधनलाई दैनिक निसङक्रमित गर्नुपर्ने शर्तपनि सरकारले राखेको छ ।

एउटा यात्रुवहाक साधनले पूर्ण क्षमताको बढिमा पचास प्रतिशतमात्र यात्रु राख्न पाउनेछन् । कम यात्रु राख्न पाउने भएपछि सरकारले भाडापनि बढाईदिएको छ । पूर्ववत भाडामा अतिरिक्त पचास प्रतिशत मात्र भाडा लिन पाउने छन् । विगतमा २० रुपैयाँ भाडा लिन्थ्ये भने अब त्यसमा ३० रुपैयाँ भन्दा बढि लिन पाउने छैनन् । काठमाडौं उपत्यकामा तीन जिल्लामा सार्वजनिक सवारी साधन चल्न पाउने छन् भने बाँकी जिल्लामा भने सम्वन्धित जिल्लाबाट बाहिर जान पाउने छैनन् ।

सरकारले ट्याक्सीलाई समेत सञ्चालन गर्न दिने निर्णय गरेको छ । प्रवक्ता खतिवडाका अनुसार चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको बताए । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ । यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउनुपर्नेछ ।

निजी सवारीको हकमा जोरविजोर कायमै छ र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ । यद्यपी जनस्वास्थ्यविद्हरुले सरकारी नियमको उल्लंघन भएर सवारी साधन चले भने त्यो निक्कै घातक हुने चेतावनी दिएका छन् । उनिहरुले मापदण्ड पुरा नहुनेलाई राज्यले ठाउको ठाउ कारवाही गर्नुपर्ने र त्यस्तालाई संक्रमण नसकिदासम्म सञ्चालनमा रोक लगाउनुपर्ने माग समेत गरेका छन् ।

यसैगरी उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारप्रसारका लागि प्रयोग गर्न दिने भएको छ । त्यसका लागि सिटको एक लहरमा एक जना यात्रु मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधनलाई दैनिक निसंक्रमित गर्नुपर्नेछ । लामो दुरीका सवारी साधन भने तत्काल सञ्चालन गर्न नदिने भएको छ ।

प्रतिक्रिया