बैंकको ब्याज मिनाहा गर्न उद्योगी–व्यवसायीको माग

काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले बैंकको ब्याज मिनाहा गर्न माग गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइएको लकडाउन अवधिभरको बैंक ब्याजमा शतप्रतिशत छुटको माग उनिहरुको माग छ ।

काठमाडौं उद्योग वाणिज्य संघअन्तर्गत काठमाडौं जिल्ला उद्योग व्यवसायी कोभिड–१९ संकट व्यवस्थापन समितिले लकडाउन अवधिभर बैंकिङ कारोबारसम्बन्धी छलफल गर्दै उक्त माग राखेको छ ।

उक्त संघले लकडाउनको अवधिलाई सर्वोच्च अदालतले पनि शुन्य अवधि मान्नुपर्ने आदेश गर्दै व्यवसायीसँग कर नउठाउन आदेश दिइएको भन्दै त्यस अवधिको बैंकिङ ब्याज तथा पेनाल छुट गर्नुपर्ने माग राखेको छ । यसका साथै, संघले त्यस्तो छुट एक करोडसम्मका ऋणीलाई शतप्रतिशत, एकदेखि ५ करोडसम्मका ऋणीलाई ५० प्रतिशत र ५ करोडभन्दा माथिका ऋणीलाई २५ प्रतिशतसम्म दिनुपर्ने संघले माग राखेको छ ।

साथै, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम चैत महिनासम्मको कर्जाको ब्याज बुझाएको खण्डमा १० प्रतिशत छुट दिनुपर्ने, देशमा बन्दाबन्दी पूर्ण रुपमा खुल्नेबित्तिकै व्यवसायीलाई समस्या पर्ने भएकाले २० प्रतिशतसम्म थप ऋण सहज ढंगले दिनुपर्ने व्यवस्था मिलाउन उद्योगी तथा व्यवसायीको माग छ ।

त्यस्तै, उनीहरुले ऋणको सावाँ बुझाउने समय कम्तीमा एक वर्षसम्म थप हुनुपर्ने, ऋणीको बैंक खातामा रहेको पैसा स्वतः व्याज प्रयोजनको लागि काट्न नपाइने व्यवस्था गर्नुपर्ने, एक वर्षसम्म सबै ऋणीको ब्याजदर आधार दर बराबर नै कायम गर्नुपर्ने, अन्य दस्तुर लिन नपाइने र सुक्ष्म निगरानी तथा कालोसूचीमा राख्न पनि नपाइने माग व्यवसायीको छ ।

प्रतिक्रिया