
काठमाडौं । नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ । आगामी फागुनमै महाधिवेशन गर्ने निणर्यलाई पुन अनुमोदन गर्दै कात्तिकमा हुने अधिवेशन पुष पहिलो साता गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीका कारण प्रभावित महाधिवेशन कार्यतालिका परिमार्जन गरेर डेढ महिना पछाडी धकेलेको हो । गएको फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ । साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशिल सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरीका सात हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले सात सय ५१ वटा स्थानीय तहमा पुस ८ गते, प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय गरेको छ । एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।
पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताए । गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनका लागि भारतले षड्यन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्ति प्रति कडा आपत्ति जनाएको छ । संसद र संसदीय समितिमा आफ्नै पार्टीको बहुमत हुँदा पनि यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु आपत्तिजनक भएको उनको भनाइ थियो । ‘नक्साको विषयलाई आफुले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउन तर्फ अमुख देश लाग्यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार, कुटनीतिक मूल्य मन्यता भन्दा बाहिरको अभिव्यक्ति छ । नक्सा पारित गरेको विषय एक प्रधानमन्त्रीको विषय होइन् । सिगो देश एक भएर संसदले पारित गरेको नक्सा हो । सबैको साझा स्वामित्व छ,’ शर्माले भने ।
प्रतिक्रिया