नागरिकता विधेयकविरुद्ध जसपाको विरोध प्रदर्शन

सर्लाही  । मंगलवार सर्लाहीको सदरमुकाम मलङ्ग्वामा नागरिकता विधेयकविरुद्ध जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा जनता समाजवादी पार्टीका नेता तथा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले राज्य व्यवस्था समितिले बहुमतबाट पारित गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयकमा संशोधन हुनुपर्ने बताए । नागरिकता विधेयकमा विभेदकारी व्यवस्था राख्न नहुने प्रष्टयाउँदै उनले देश कुनै निश्चित भूगोल मात्र नभइ हिमाल, पहाड र मधेस नै समग्र देश भएको मन्त्री रायले बताए ।

त्यस्तै, प्रदर्शनमा बोल्दै जसपाका युवा नेता तथा संघीय सांसद प्रमोद साहले नागरिकता देशका सबै नागरिकको अधिकार भएको रकसैलाई अनागरिक बनाउने र समानताको युगमा पनि महिला र पुरूषबिच विभेद गर्ने गरि बनेको उक्त विधेयक सच्याइनुपर्ने जायज माग भएको उद्घोष गरे । विधेयक समानतामा आधारित र न्यायोचित नभएसम्म जनता समाजवादी पार्टी सडकदेखि सदनसम्म अनवरत रुपले संघर्षमा नै रहने सांसद साहले बताए ।

नागरिकता विधेयक विरुद्ध निकालिएको प्रदर्शन र्‍याली सदरमुकाम परिक्रमा गर्दै सहिद चोकमा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शन कार्यक्रममा जसपाका जिल्ला तहका नेता एवं कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया