टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने

दाङ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तररार्ष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ।

उक्त विमानस्थलमा अन्तरराष्ट्रियस्तरबाटै पाइलट ल्याएर दक्ष जनशक्ति उत्पादन गरिने उनले बताए । अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको जनाइएको छ। विमानस्थलको स्तरवृद्धि गर्ने कार्य पनि अघि बढाइएको उनको भनाइ छ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ। संघीय सरकारले यस वर्ष घोराहीको नारायणपुरमा आन्तरिक विमानस्थलका लागि बजेट विनियोजन गरेको छ।

टरिगाउँ एयरपोर्टमा आवश्यक बजेट विनियोजनका लागि पहल भइरहेको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बताए। टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तारका लागि करीब २० करोड रुपैयाँ आवश्यक पर्ने भएकाले उक्त बजेट केन्द्र सरकारले विनियोजन गरेमा ठूला जहाज बस्न सक्ने उनको भनाइ छ।

‘हामीले जसरी पनि टरिगाउँ एयरपोर्टको स्तरवृद्धि गर्नुपर्छ, त्यसका लागि नियमित रुपमा केन्द्रमा पहल गरिहेका छौँ’ उनले भने, ‘स्तरवृद्धि गरिएपछि नियमित र सहज उडान हुन्छ। यस विषयमा मैले राष्ट्रियसभामा पनि कुरा उठाएको छु, दाङका सांसदहरुले सामूहिक रुपमा पर्यटनमन्त्रीलाई दवाव पनि दिएका छन्।’

प्रतिक्रिया