काठमाडौं । देशभरको क्वारेन्टाइनलाई थप सुधार गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) सर्ने थलोका रुपमा विकसित भईरहेका क्वारेन्टाइनलाई थप सुधार गर्न केन्द्रले ३५ करोड निकासा गर्ने भएको हो ।
जनस्तरबाट समेत क्वारेन्टाइनको अवस्था सुधार हुनुपर्ने चर्को माग उठिरहेका बेला केन्द्र सरकारले स्थानीय तहमा आइसोलेसन र क्वारेन्टाइनको सुधार र नयाँ निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले प्रदेश सरकारमार्फत स्थानीय तहहरूलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कोरोना संक्रमण बढ्दै गएको अवस्थामा थप क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्नुपर्ने भएकाले केन्द्रीय कोभिड–१९ कोषबाट ३५ करोड रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए ।
देशभरीका क्वारेन्टाइनलाई थप सुधार गरी अनुगमन र सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिइएको छ । आइसोलेसन सेन्टर व्यवस्थापनको जिम्मा पनि प्रदेश सरकारले पाएको छ । सिसिएमसीले वैदेशिक रोजगार खुल्ला गर्ने निर्णय पनि गरेको छ । पढ्न जान चाहाने विद्यार्थीलाई पनि जान पाउने गरी खुल्ला गरेको हो । नेपाली उद्धार गर्ने विमानमै उनिहरुलाई सम्बन्धित देश पठाउने गरी खुल्ला गरिएको बताइएको छ । वैदेशिक रोजगारीमा रही विदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश जानेहरूको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय पनि गरेको छ । अध्ययनका लागि जानेहरूको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस गर्नेछ ।
यस्तै विदेशमा रहेका नेपाली कूटनीतिक नियोगका कर्मचारीहरुका परिवारका सदस्यहरुलाई आवश्यक ‘प्रोटोकल’ सहित जान छुट दिने निर्णय पनि सिसिएमसीले गरेको ज्ञवालीले बताए । सिसिएमसीले सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने तथा आफ्नो खर्चमा नेपाल आउन नसक्ने श्रमिकहरुको हकमा सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागु गर्न श्रम मन्त्रालयलाई निर्देशन दिइएको छ । संक्रमणको जोखिममा रहेका फरक क्षमता भएका, बालबालिका, वृद्धवृद्धाको उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए ।
यस्तै संक्रमण बढ्दै गएपछि जोखिम मूल्यांकन गरी सम्बन्धित क्षेत्र वा जिल्लालाई सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिइएको छ । यद्यपी सिसिएमसीसँग समन्वय गरेर मात्रै सिल गर्ने निर्णय प्रदेशले लिन पाउनेछ । केन्द्र मातहत रहेका क्वारेन्टाइन र होल्डिङ सेन्टरमा खानपानको जिम्मा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई दिने निर्णय पनि सिसिएमसीले गरेको छ ।
४२६ संक्रमित थपिदा २१६ संक्रमणमुक्त
शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै संक्रमितको सख्या ८ हजार २७४ पुगेको छ । नयाँ संक्रमितमध्ये ३३८ पुरुष र ८८ महिला छन् ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये नौ महिला र २०७ पुरुष रहेका छन् । योसँगै निको भएर घर फर्किनेको सख्या एक हजार ४०२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार एक लाख नौ हजार ४६१ जना क्वारेन्टिनमा र छ हजार ८५० जना आइसोलेशनमा रहेका छन् । मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिँदै आएको छ ।
कोरोना भाइरस संक्रमणबाट हालसम्म २२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा थप संक्रमितको मृत्यु नभएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
प्रतिक्रिया