अवरुद्ध रेडियो बुढीनन्दाको प्रसारण सेवा पुनः सूचारु

बाजुरा । जिल्लाको कोल्टीमा रहेको सामुदायीक रेडियो बुढीनन्दाको अवरुद्ध प्रसारण सेवा आजदेखि पुनः सूचारु भएको छ । गत ११ गते विद्युत् सर्ट भई आगलागि भएर सेवा अवरुद्ध भएको रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले प्रसारण सेवा अवरुद्ध भएको दुई सातामा सेवा सुरु गरेको हो । आगलागिबाट ट्रान्समिटर लगायतका उपकरण जलेर नष्ट भएपछि सेवा अवरुद्ध भएको र विभिन्न निकायको सहयोगमा आज साँझदेखि सेवा पुनः सूचारु गरिएको रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाहीले जानकारी दिए ।

आगलागिबाट रेडियो बुढीनन्दाको करिव २४ लाख ४५ हजार बरावरको सरसामान जलेको र अहिले तत्कालका लागि विभिन्न व्यक्तिको सहयोगमा सेवा सूचारु गर्ने काम गरिएको उनले बताए । बाजुराको उत्तरपूर्वी क्षेत्रका स्थानिय तहका साथै हुम्ला, मुगु र कालिकोट लगायतका जिल्लाका केही स्थानिय तहसम्म प्रसारण सेवा रहेको रेडियोमा आगलागि भएपछि सेवा अवरुद्ध भइ स्थानिय सूचना पाउनबाट बन्चीत रेडियो बुढीनन्दाका अध्यक्ष सर्पलाल गिरीले बताए ।

अहिले कोरोनाका कारण देश जटिल परिस्थितीमा रहेका बेला पनि दुई साताभित्र रेडियो सञ्चालनका लागि विभिन्न ठाउँमा समन्वय गर्ने सिआइएन, रेडियो संरक्षक समितिका संयोजक नरेशकुमार शाही, जिल्ला प्रसासन कार्यालय बाजुरा, एचआरसी बाजुराका अध्यक्ष निर बहादुर शाही र पत्रकार महांसंघ सुदुरपश्चिमका अध्यक्ष अर्जुन शाह लगायत नेपाल पत्रकार महासंघ बाजुरालाई रेडियोले धन्यवाद ज्ञापन गरेको छ ।

सूचनाको अन्य कुनै विकल्प नभएका यस क्षेत्रका नागरिकलाई परेको सूचनाको अभाव पुरा गर्न तीव्ररुपमा काम गरी रेडियो सञ्चालनमा ल्याएको रेडियोका स्टेसन म्यानेजर नहकुल जोशीले बताए । रेडियोलाई पूर्णरुपमा सञ्चालन आउन भने अझै केहि समय लाग्ने उनले जानकारी दिए ।

प्रतिक्रिया