वनबासाबाट आएका थिए मुगुका पहिलो कोरोना संक्रमित

मुगु । बिहीबार कोरोना भाइरस पुष्टि भएका मुगु जिल्लाका पहिलो कोरोना संक्रमित २७ वर्षीय युवा गत ६ गते महेन्द्रनगरको वनबासा नाकाबाट नेपाल प्रवेश गरेको पाइएको छ । भारतबाट ६ गते महेन्द्र नगर प्रवेश गरेपछि त्यहाँको एक विद्यालयमा राखेर उनीसहित आएका अन्य ४५ जनाको आरडीटी परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएपछि ७ गते बाह्रसिंह मेट्रो यातायात प्रालिको एउटा बसमा उनीहरु मुगु हिँडेका थिए ।

७ गते राती १२ बजे बाँकेको चिसापानी पुगेका उनीहरुलाई त्यहाँ रहेका युवा अगुवा हरिबहादुर रावलले खाजा उपलब्ध गराएपछि राती नै बस हिँडेको र ८ गते साँझ खत्याड गाँउपालिकाले उनीहरुलाई गाँउपालिकाको वडा नं ५ हलेखाडा पाटनमा स्थापना गरेको क्वारेन्टाईनमा राखेको रातापानी प्राथमिक केन्द्रका प्रमुख डाक्टर किशोर खड्काले बताए । ९ गते ४१ जना क्वारेन्टाईनमा बसेका र बाँकी ५ जना सोरु गाँउपालिकाका स्थानियसोरु गाँउपालिकातर्फ गएको बताईएको छ ।

४१ जना उनिहरुसहित अरु ७ जना पनि पछि सोही क्वारेन्टाईनमा गाँउपालिकाले राखेको थियो । उता सोरु गएका ५ जनालाई सोरु गाँउपालिकाकोे क्वारेन्टाईनमा राखिएको गाँउपालिकाका प्र्रमुख प्रशासकिय अधिकृत धान्य बुढाले बताए । गाँउपालिकाले घर नपुग्दै भारतबाट आएका उनीहरुलाई सिधै क्वारेन्टाईनमा राखेको र क्वारेन्टाईन गाँउ बस्तिभन्दा धेरै टाढा लेकमा रहेको, समुदायहरुको सम्पर्कमा कोही नरहेकाले घरपरिवार, छरछिमेकीहरुमा कोरोना संक्रमण शुन्य सम्भावना रहेको खत्याड गाँउपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हरि बुढाले बताए ।

संक्रमित युवालाई बिहीबारै गाँउपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसनमा राखिएको छ भने युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाँकी खत्याडका ४७ र सोरुका क्वारेन्टाईनमा रहेकाहरुका ५ जनाको पिसिआर परीक्षण गर्ने स्वाब संकलन गर्ने तयारीमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटिले बताए ।

बिहीबारसम्म जिल्लामा १५ आरडीटी किट रहेकोमा जिल्ला विपद व्यवस्थापन समितिलाई कर्णाली प्रदेश सरकारबाट प्राप्त ५० लाख मध्यबाट ५ लाखको खरिद गरिएका ४५० भिटिएम किट पनि बिहीवार जिल्लामा पुगेकाले क्वारेन्टाईनमा रहेका भारतबाट आएका र केही अन्यको स्वाब संकलन गर्ने र पिसिआर परीक्षणका लागि प्रतिष्ठानमा अनुरोध गर्ने तयारी भइरहेको पनि डाक्टर नगरकोटीले बताए ।

जिल्ला भरी रहेका ३४ व्यारेन्टाईनमा बिहीवारसम्म ५२२ जना रहेको र मुगु जिल्लाका ३८८ जनाको आरडीटी गरेकोमा २ जनामा पोजेटिभ र ३८६ जनाको रिपोट नेगेटिभ आएको, ४०७ जनाको स्वाबको पिसिआर परीक्षण गरेकोमा १ जनको रिपोर्ट पोजेटिभ र ४०६ जनाको नेगेटिभ रिर्पोट आएको जिल्ला प्रशासन कार्यालय मुगुको कोभिड १९ जिल्लाको दैनिक रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया