हतियारसहित धमाधम पक्राउ पर्दै युवकहरु

लहान । दुई हप्तामा प्रदेश २ को विभिन्न ठाँउबाट ४ वटा पेस्तोलसहित चार जना युवक पक्राउ परेका छन् । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका बेल्ही चैक भन्ने तेतेरीयाबाट प्रहरीले हथियार र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतीहारी लोहारपटी नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २० का डिके भनिने एजिजुल राईन रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम ब्युरोबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले राईनको साथबाट पेस्तोल एक थान, म्यागजिन ३ थान र पेस्तोलमा प्रयोग हुने गोली पाचँ राउण्ड बरामद गरिएको प्रदेश ब्यूरोले जनाएको छ ।

लकडाउनको समयमा पैदल हिँडिरहेका राईनको गतिविधि शंकास्पद देखिएपछि शरीर चेकजाँच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त हथियार बरामद भएपछि नियन्त्रणमा लिइएको ब्यूरो टोलिले जनाएको हो ।

पक्राउ परेका राईनमाथि आवश्यक अनुसन्धान भइरहेको छ । त्यसैगरी प्रदेश प्रहरीले धनुषा जिल्लाको शहिदनगर नगरपालिका – ३ झण्डा चौकबाट हतियारसहित दुई जनालाई समातेको छ । विषेश सूचनाको आधारमा प्रहरी कार्यालय जनकपुरबाट सादा पोशाकमा खटिएको प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले शंका लागेर ज १२ प ५१६५ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हतियार बरामद भएको हो ।

मोटरसाईकलमा सवार कमला नगरपालिका– ८ हरिनेका वर्ष १८ का अक्षय पासवानको साथबाट कटुवा पेस्तोल थान १ र गोली ३ राउन्ड बरामद भएकोमा चालक सोही स्थान बस्ने रामबाबु साहको छोरा वर्ष २० का सुनिलकुमार साह समेतलाई पक्राउ गरिएको छ ।

बरामद पेस्तोल, गोली र मोटरसाईकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएर अनुसन्धान गरेको छ । त्यसतै, सर्लाही जिल्लामा प्रेस लेखेको गाडीमा हतियार बोकेर घुमिरहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिष्णु गाउँपालिका– ३ बस्ने २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ वर्षीय अनिश साह रहेको प्रहरीले जनाएको छ ।

दुवै जना हतियारसहित घुमिरहेको विशेष सूचना आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट प्रहरी निरीक्षक उमेशमान आमात्यको कमान्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार दुबै जनालाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको डिएसपी मदन कुँवले जनाकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।

उनका अनुसार गाउँपालिका– ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया