कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । गत शनिबार राति ती बालिकाको मृत्यु भएको थियो । बाजुराको बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरेका हुन् ।

८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको र आइतबार ती बालिकाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

ती बालिकाको मृत्यु भएलगत्तै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । आइतबार दिउँसो रिपाेर्ट आउँदा कोरोना पोजेटिभ देखिएको बताइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने यसबारे जानकारी गराएको छैन ।

प्रतिक्रिया