‘राजा’ हिँड्ने बाटो चिटिक्क, अन्त उही दुर्गति !

काठमाडौंमै विदेश अनूभूति

भ्रष्ट नियत र लाज छोप्न पाहुना आउँदा रातारात विकास

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी करिब २२ घन्टाको नेपाल भ्रमणपछि बुधबार स्वदेश फर्किए । राजकीय भ्रमणका क्रममा बंगलादेश हुँदै नेपाल आएका कतारी अमिरको राजकीय स्वागतका लागि नेपालले पनि कुनै कसर बाँकी राखेन ।

उनी नेपाल आउने दिन सरकारले सार्वजनिक बिदा नै दियो भने आमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलसम्म पुगेका थिए ।

अमिरको भ्रमणका लागि नेपाल सरकारका विभिन्न निकाय र विशेष गरी काठमाडौँ महानगरले ठुलै तामझाम गरेको देखियो । उनी नेपाल आउनु केही दिन पहिलेदेखि नै अमिर हिँड्ने रुटलाई चिटिक्क पारेर दुलहीजस्तै सिँगारिएको थियो । सधैँ धुलो र उराँठलाग्दो देखिने सडक धोइपखाली सफा पारिएको थियो ।


त्यस्तै, सडकपेटीमा रंगरोगनदेखि सडकबत्ती पनि मर्मत भएको देखियो । तिनकुनेमा माटोको ढिस्कोमाथि रातारात थरीथरीका फूल फक्रिए भने स–साना खाल्डाखुल्डी पनि नदेखिने गरी सडकमा कालोपत्रमाथि कालोपत्र थपेर चिल्लै पारियो । कतारी राजा हिँडेको बाटोमा यात्रा गर्नेहरूले आफू विदेशमा छु कि ! जस्तो भान गरे ।


सडक निर्माण र सुरक्षाबाहेक सरसफाइ, हरियाली, स्वागतद्वार निर्माण जस्ता काम काठमाडौँ महानगरले गरेको थियो । महानगरका प्रवक्ता तथा वडा–१७ का वडाध्यक्ष नवीन मानन्धरका अनुसार वातावरण विभाग र नगर प्रहरी मातहत रहेर कतारी अमिरको भ्रमण लक्षित विशेष सरसफाइ कार्यक्रम गरिएको थियो । जसअन्तर्गत स्वागत गेट बनाउने, सरसफाइ, हरियाली जस्ता काम भएका थिए । यसका लागि महानगरले आफ्नो आकस्मिक कोषको बजेट प्रयोग गरेको मानन्धर बताउँछन् ।

सरसफाइ गर्ने र नगर क्षेत्रमा हरियाली कायम राख्दै फूल रोप्ने जस्ता काम महानगरको दैनिक कार्यअन्तर्गत पर्छ । तर, कतारी अमिरको भ्रमणलाई लक्षित गर्दैै महानगरले आफ्ना कर्मचारीलाई व्यापक परिचालन गरेको देखियो । उता, महानगर भने राजाको भ्रमणका लागि कुनै विशेषभन्दा पनि आफूहरूले दैनिक रूपमा गर्दै आएको कामलाई नै निरन्तरता दिएको बताउँछ ।

महागरको (कतारी राजा हिँड्ने रुट) फेरिएको रूप हेर्दा ‘गरे के हुँदैन ?’ भन्ने भनाइलाई २ दिने कतारी अमिरको भ्रमणले प्रष्ट पारेको छ । सधैँ सरसफाइ र नियमित सडक मर्मतको काम हुने गरेको भए विदेशी पाहुनाको भ्रमणलाई लक्षित गरेर हतार गर्नुपर्ने थिएन । प्रश्न अर्को के पनि छ भने, कतारी राजाका लागि देखाउन बनाइएको त्यो झिलिमिली र चिटिक्क परेका बगैँचा काठमाडौँबासीले सधैँ देख्न पाउँछन् कि पाउँदैनन् ?

भ्रमणका लागि रातारात काठमाडौँको मुहार फेरेको महानगर भने आफूहरूले नियमित काम मात्र गरेको बताउँछ । यदि त्यसो हो भने कतारी राजा आउँदा देखिएको परिवर्तन उनी आउनुभन्दा पहिले किन देखिएन त ? यो प्रश्नको स्पष्ट जबाफ भने महानगरसँग छैन ।


विगत १ वर्षदेखि महानगरले गरेका हरेक कामको निरीक्षण गर्ने र त्यसैअनुसार महानगरमा रिपोर्टिङ गर्ने तथा त्यसको कार्यान्वयनको पाटोमा महानगर प्रहरीको प्रत्यक्ष संलग्नता हुने गरेको छ । त्यसैले तिनकुनेमा एक्कासि रातारात फक्रिएको फूलका विषयमा महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे महानगरको बचाउमा देखिए । उनी भन्छन्, ‘महानगरले विगतदेखि नै सडक छेउछाउ विभिन्न प्रकारका फूल रोप्दै आएको छ । त्यसै सन्दर्भमा सिजनल फूल फेर्ने काम मात्र भएको हो । हामी जहिल्यै पनि काम गरिरहेकै हुन्छौँ, कोही आउँदैमा केही गर्ने भन्ने हुँदैन ।’

उता, सरसफाइको सन्दर्भमा ११ गते दिउँसो साढे ३ बजेसम्म महानगरका सफाइ कर्मचारीहरू सडकमै थिए । अघिपछि बिहान ११ बज्नेबित्तिकै हराउने ती कर्मचारी त्यस दिन दिउँसोभर सडकमै देखिनुमा पनि संयोग हो त ? भन्ने सौर्यको प्रश्नमा पाण्डे विद्युत् प्रधिकरणतर्फ औँला देखाउँदै प्रश्नबाट बच्न खोजेको देखियो । विद्युत् प्रधिकरणले सुरु गरेको भूमिगत तार व्यवस्थापनको कामले गर्दा आफूहरूले समस्या भोगेको र जति सफा गर्दा पनि धुलो माटो हुने गरेकाले सफाइ कर्मचारीलाई खटाउनुपरेको बताए ।

भ्रमणकै छेको पारेर महानगरले माइतीघर क्षेत्रदेखि तिनकुनेसम्म नयाँ सडकबत्ती पनि जडान ग¥यो भने ११ गते दिउँसैदेखि बत्ती बालेर झिलिमिली पा¥यो । २०८९ वटा नयाँ सडकबत्ती जोडेको महानगरले यसबारे ११ गते नै सूचना दिएको थियो । यी सबै कुरालाई संयोगमात्र मान्न सकिने अवस्था पनि छैन । किनकि कतारी राजा नजाने रुटमा यस्तो विकास भएको छैन । सडकपेटी र आधा सडक ढाकिने गरी निर्माण सामग्री थुपारिएको छ भने रातमा सडकमा कुनै बत्ती बल्दैन । सरसफाइको पाटोमा पनि अन्य क्षेत्रमा कहीँ काम भएको छैन । सामान्य नागरिकको दृष्टिबाट यो देखावटीका लागि मात्र गरिएको काम भएको काठमाडौँमै बसेर उच्चशिक्षा अध्ययन गरिरहेका हेटौँडाका एक युवा बताउँछन् ।

तर, महानगरका प्रवक्ता मानन्धर भने काठमाडौँ अहिले जुन रूपमा देखिएको छ, आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने बताउँछन् । उनी भन्छन्, ‘यो नियमितताको निरन्तरता मात्र हो, कसैका लागि विशेष लक्षित होइन । हाम्रो काठमाडौँ जहिले पनि सफा हुन्छ, हामी त्यो बनाउँछौँ ।’

तर, महानगरको कार्यशैली र उनको भनाइ पटक्कै मेल खाएन । कतारी राजा आउँदा दिउँसै बलेका ती सडकबत्तीहरू बुधबार राजा गएपछि बल्नै छाडे । एकदिन अघिसम्म झलमल्ल देखिएको सडक दोस्रै दिन अन्धकार हुँदा नागरिकहरू पनि अलमलमा परेको देखियो ।

सरसफाइदेखि फूल गोडमेल र पानी हाल्ने काममा ४०० भन्दा बढी कर्मचारी परिचालन गरेको महानगरले ती कर्मचारीलाई नियमित र आवश्यकताअनुसार परिचालन गर्न सके काठमाडौँलाई कसैको सवारीकै लागि भनेर सजाइरहनुपर्ने आवश्यकता हुँदैन ।
त्यस्तै, कतारी राजाको भ्रमणमा प्रयोग भएको रुटमा पनि खाल्डाखुल्डी टाल्नेदेखि नयाँ कालोपत्र गर्नेसम्मको काम भएको देखियो । काठमाडौँका नागरिकका लागि बेवास्ता गरेर राखिएको सडक राजा आउने भन्नेबित्तिकै कालोपत्र गरिएछ, किन होला ? भन्ने प्रश्नमा सडक विभाग पन्छियो । सडक विभागले पनि महानगरको जस्तै नियमित मर्मतअन्तर्गत भएको बतायो ।

सबै क्षेत्रबाट नियमितअन्तर्गत नै यसरी काम भएको हो भने यसअघि ती काम किन देखिएनन् ? यो पहिलो प्रश्न हो भने दोस्रो, गर्दा हुने रहेछ त, अरू बेलाचाहिँ किन गरिएन ? यी प्रश्नले राज्यको काम गर्ने परिपाटी र कामप्रतिको इमानको पनि जबाफ दिने देखिन्छ ।


विगतमा चिनियाँ राष्ट्रपति आउँदा पनि काठमाडौँमा खुब तामझाम गरिएको थियो । तर, केही हप्तामा काठमाडौँको मुहार फेरि पुरानै अवस्थामा पुगेको थियो । सार्क सम्मेलनका लागि भनेर एअरपोर्ट, तिनकुने, नयाँ बानेश्वर जस्ता क्षेत्रलाई सजाएर झकिझकाउ पारियो । तर, त्यो पनि केही दिनका लागि मात्र सीमित भयो ।

यस्तो परिपाटीले देशको विकास र सुन्दरता नेपाली नागरिकका लागि नभई विदेशी पाहुनालाई देखाउन र सरकारको भ्रष्ट शैलीको लाज छोप्न मात्र हो कि भन्ने सन्देह उत्पन्न हुन्छ । हुन त भएको विकास र सौन्दर्य जोगाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुन्छ । नेपालमा नागरिकको तहबाट यो हदको भूमिका निर्वाह भएको पाइँदैन । सडकमा रोपेको फूलदेखि दुबोका चपरी नै उखेलेर लैजाने काठमाडौँबासीको व्यवहारले पनि यहाँकै जनताका लागि गरिएको विकास कतिन्जेल टिकाउने भन्ने कुरा ती नागरिकमै भर पर्छ ।

प्रतिक्रिया