प्रेमको बाटो !

             बलराम तिमल्सिना

प्रेमको बाटो र
युद्धको बाटो उस्तै उस्तै हो ।

जसरी युद्धको बाटोमा
मृत्यु सामान्य बनेर पिछा गर्छ
प्रेमको बाटोमा पनि
मृत्युसँग लुकामारी भैरहन्छ ।

युद्ध गर्ने हरेक सिपाहीले
मृत्यु पत्रमा सही छाप गर्नुपर्छ
मर्न डराउनेहरू–
सिपाही बन्दैनन्
डराउने सिपाहीहरू–
युद्ध लड्दैनन्
डराएर लडिएको युद्धमा
विजय कैले हात लाग्दैन !

एउटा असलप्रेमी पनि
एउटा असल सिपाही हो
प्रेमको मैदानमा पस्नु भनेको
युद्धको मैदानमा पस्नु सरह हो
युद्धको मैदानमा
कि विजय हुन्छ–
कि पराजय हुन्छ
कि मृत्यु हुन सक्छ
प्रेमको मैदानमा पनि
कि प्रेम सफल हुन्छ
कि प्रेमले धोका पाउँछ
कि मृत्यु समेत हुन्छ ।

एउटा न्यायपूर्ण युद्ध र प्रेम
एउटा स्वच्छ प्रेम र न्यायपूर्ण युद्ध
एउटै सिक्काका दुई पाटा हुन् ।

जसरी,
हार हुन सक्छ
मृत्यु मौलाउन सक्छ
तर अन्याय कायम रहुञ्जेल
युद्ध जारी रहन्छ
त्यसरी नै
मान्छे रहुञ्जेल धरतीमा
धोका हुन सक्छ
ससुराली भनेकाहरूले
मारेर नदीमा बगाइदिन सक्छन्
आफ्नै घर परिवारले
कोठाभित्रै जलाइदिन सक्छन्
धोका हुन सक्छ
प्रतिक्षाको कष्टसाध्य यात्रा हुन सक्छ
सबै सबै त्रासदी ब्यहोरेर पनि
प्रेमको काम घृणाले गर्दैन
मान्छेले प्रेम गरिरहन्छ ।

असंख्य प्रेमीहरूको रगतले
रङ्गिएको
प्रेमको प्रतीक
अर्थात् बलिदानको प्रतीक
रातो गुलाब बोकेर
जब कोही पर्खिरहेको हुन्छ
मलाई त्यो मान्छे सिपाहीजस्तै लाग्छ ।

प्रतिक्रिया