सीटीईभीटी भवनमा १०० शय्याको आइसोलेसन कक्ष बन्दै

जनकपुर । कोरोना संक्रमितको संख्या बढदै गएपछि जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसन शय्याको भरिएकाले थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सीटीईभीटीको भवनमा निर्माण गरिने भएको छ ।

धनुषा जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने निर्णय गर्दै त्यसका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । सेनाले आइसोलेसन निर्माणको कार्य सुरु गरिसकेको र आज रातिसम्म कोरोनाको संक्रमित बिरामीलाई लगेर राख्ने तयारी भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकरी शरदकुमार पोखरेलले जानकारी दिए ।

लक्ष्मीनिया गाउँपालिकाको–३ सपहीमा रहेको सीटीईभीटीको भवन अत्याधुनिक तथा सुविधासम्पन्न छ । उक्त भवनमा १०० वटासम्मको आइसोलेसन शय्या निर्माण गर्न लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनमा अहिले ३० भन्दा बढी बिरामी उपचारमा रहेका छन् ।

प्रतिक्रिया