सर्लाही । सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मंगलवारदेखि सदरमुकाम मलङ्ग्वामा लकडाउनलाई अझै प्रभावकारी बनाउनका लागी थप कडाइ गरिएको छ । जिल्ला समवन्य समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा सोमबार बसेको बैठकले ६ बुँदे निर्णय गरेका छन् ।
उक्त बैठकले हप्तामा दुई दिन मात्रै खाद्यान्न पसल, वित्तिय संस्था तथा बजार खोल्ने निर्णय गरेका छन् । आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बजार तथा वित्तिय संस्था खोल्ने निर्णय गरेको जिल्ला समन्वय समिति सभापति मेथुर चौधरीले जानकारी दिए ।
निर्णयमा जिल्लाभरका खाद्यान्न बिक्री वितरण गर्ने पसल र बैंकहरु तथा वित्तिय संस्थाहरु अर्को निर्णय नभएसम्म आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खोल्ने उल्लेख गरिएको छ ।
औषधि पसल, ग्यास डिपो, पेट्रोल पम्प र दुध बिक्रेता पसलहरुको हकमा यो निर्णय भने लागू नहुने उल्लेख गरिएको छ । जिल्लाका कुनै पनि स्थानमा हाट बजार नलगाउने तथा तरकारी बिक्री वितरण सम्बन्धित बिक्रेताले ठेलामा वा अन्य प्रकारले घर–घरमा लगेर बेच्ने बताइएको छ । साथै, स्थानीय तहमा स्वाब संकलन गरी परीक्षण गर्ने गराउने व्यवस्थाको लागि आवश्यक जनशक्ति तथा भिटिएमको उचित व्यवस्थापन सम्बन्धित स्थानीय तहले आफैँ मिलाउने समेत निर्णय गरिएको छ ।
स्वाब परीक्षण गर्न सबै स्थानीय तहले कम्तीमा ३ जना स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको यथासिघ्र आरडीटी टेस्ट र पीसीआर गराउने, क्वारेन्टाइनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सबै स्थानीय तहहरुले आवश्यक स्वयंसेवक खटाउने व्यवस्था मिलाई सुरक्षा निकायहरुलाई सहयोग गर्ने, सबै स्थानिय तहहरुमा आइसोलेसन वार्डको लागि यथासम्भव स्थान पहिचान गरि आवश्यक तयारी अगाडि बढाउने र सबै स्थानिय तहबाट सञ्चालित क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउँदै बेडको क्षमता बढाउँदै लैजाने निर्णय गरिएको सभापति चौधरीले बताए ।
जिल्लामा विभिन्न बजारहरुमा भीडभाड बढी हुने र संक्रमितको संख्या पनि बढ्दै गएपछि थप सुरक्षा सतर्कता बढाउनका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । जिल्ला समन्वय समिति, स्थानीय तह र सुरक्षा प्रमुखहरु मिलेर थप कडाइका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।
प्रतिक्रिया