जम्मुमा फसेका नेपाली बसमा घर फर्किंदै

वीरगञ्ज । भारतको जम्मु–काश्मीरको कटरामा करिब ७० दिनभन्दा बढी समयदेखि फसेका ३४ नेपाली र सात भारतीयसहित ४१ जना घर फर्किंदै छन् । जम्मुका कलेक्टरले बसबाट नेपाली नागरिकलाई बिहारको सीमावर्ती सहरसम्म पु¥याउने तयारी गरेका हुन् ।

गत मंगलबार राती साढे ११ बजे कटराबाट जेके ०२ बिजी ३६३२ नम्बरको बसमा सिआसी–बिहारको रूट भएर ४१ जनालाई घर फर्काउन लागेको कटरामा फसेका वीरगञ्ज–२८ निवासी राजेश तिवारीले जानकारी गराए । उनीहरू पाँच दिनपछि आइतबारसम्म नेपाल फर्किने बताइएको छ । नेपाली ३४ जनाको टोलीमा ११ जना वीरगञ्ज, दुई जना पर्सा जगरनाथपुर, पाँच जना सिद्धार्थनगर र १६ जना रुपन्देहीका रहेको बताइएको छ ।

गत १२ मार्चमा वैष्णोदेवीको दर्शन गर्न गएका उनीहरूलाई कोरोना महामारी फैलिएपछि कटराको टुरिजम बोर्डको क्वारेन्टाइनमा राखिएको थियो लामोसमय कटरामा फस्दा नेपाली नागरिकहरूको साथमा रहेको रकम सिद्धिएपछि मर्कामा परेका थिए । साथै, परिवारजनको चिन्ताले पनि उनीहरू चिन्तित थिए ।

यसैगरी भारतको भोपालमा काम गर्दै आएका ६९ जना नेपाली शुक्रबार बिहान रक्सौल आइपुगेका छन् । निजी सवारीबाट रक्सौल आइपुगेकाहरूमध्ये ६३ जना बारा कोल्हवीका र ६ जना रामेछाप जिल्लाका रहेका छन् । भारत, भोपालमा क्याटरिङ र टेक्सटाइल उद्योगमा कार्यरत ती नेपाली अहिले रक्सौलको रेलवे स्टेसनमा बसेर नेपाल आउने प्रतिक्षा गरिरहेका एसएसबीले जनाएको छ ।

त्यसैगरी भारत रक्सौलको हजारीमल क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई माथिको आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएका छन् । बुधबार भारत रक्सौलमा रोकी राखिएका नेपालको २५ जिल्लाका २ सय २२ जना नेपालीलाई नेपाल भित्र्याइने जिल्ला प्रशासन कार्यालय पर्साको तयारी थियो । भारतीय सुरक्षाकर्मीले नै नछोडेपछि उनीहरू भित्रिने कुरा अन्योलमा परेको छ ।

रोजगारका लागि भारत गएका नेपालीहरू कोरोना भाइरसको संक्रमण बढेसँगै लक डाउनका कारण भारतको सीमावर्ती सहर रक्सौल नाका आइपुग्दा लामो समयदेखि त्यहाँको क्वारेन्टाइनमा बस्नुपरेको छ । केन्द्र तथा राज्य सरकारसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय पर्साले दुवैतर्फका क्वारेन्टाइनमा रोकिएका नागरिकका आफन्तको जिम्मा लगाउने सहमति भएको थियो । जसले गर्दा वीरगञ्जका विभिन्न क्वारेन्टाइनमा रहेका २ सय १० जना भारतीय नागरिकलाई मंगलबार भारत सरकारको जिम्मा लगाइसकिएको छ ।

तर, बुधबार भारत सरकारले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत् नेपाल सरकारलाई २ सय २२ जना नेपाली नागरिक जिम्मा लगाउने भनिए पनि सीमावर्ती सहर रक्सौलस्थित पूर्वी चम्पारणका कर्मचारीको आपसी तालमेल नमिल्दा बिहानैदेखि सीमामा पुगेको नेपाली टोली दिनभर रोकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

‘हामी यताबाट भारतीय नागरिकलाई पठाएर आफ्नो देशका नागरिक ल्याउन तयार छौँ । सोही अनुसार भारतीय सीमा सुरक्षा बल तथा त्यहाँका डिएमसँग सहमति भएको हो’, उनले भने, ‘तर सहमतिअनुसार भारतीयलाई फिर्ता पठाएर नेपाली नागरिकलाई ल्याउने तयारी पूरा भए पनि नेपाल भित्रिने कुरामा अन्यौल उत्पन्न भएको छ ।’ रक्सौलका डिएमले बैठक बसी यता जानकारी गराउने भनिए पनि अहिलेसम्म कुनै जानकारी नआएको सप्रजिअ बस्नेतले बताए । नेपाल भित्रिन लागेकाहरूमा पर्साका ४२ जना, पश्चिम रुकुम र बाराका २३÷२३ जनालगायत अन्य २५ जिल्लाका नेपाली रहेको सप्रजिअ बस्नेतले जानकारी गराएका छन् ।

यता मंगलबार वीरगञ्जबाट २ सय १० जना भारतीय नागरिकलाई भारत सरकारको जिम्मा लगाएपछि बुधबारदेखि सयौंको संख्यामा रहेका भारतीय नागरिक आफ्नो देश फिर्ता हुनका लागि आइसिपीमा रोकिएका छन् । आइसिपीमा पुगेका भारतीय नागरिकलाई भारततर्फ प्रवेश गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको छ । अवरोधका कारण आक्रोशित भारतीयहरू भारत सरकारको विरोधमा नाराबाजी गर्दै थिए ।
नाकामा आएर अलपत्र परेपछि उनीहरूलाई सो क्षेत्रका स्थानीयले खानाको व्यवस्था गरेका थिए । यस विषयमा जिल्ला प्रशासन कार्यालयमा बुझ्दा अहिले भारतीय प्रशासनबाट कुनै आधिकारिक जानकारी नआएको हँुदा उनीहरूलाई पठाउन समस्या भएको बताएको छ ।

प्रतिक्रिया