राष्ट्रिय एकताका लागि गुटवाजीकाे विश्राम गराैँ

अहिले देश शंकटमा छ । एकातिर कोरोनाको अत्यासलाग्दो महामारी छ । यो महामारीसँग लड्न सम्पूर्ण पार्टी, राजनीतिक दल र आम नेपाली जनतालाई एक जुट गर्नु पर्नेछ । अर्को तिर लिम्पियाधुरा, लिपुलेक र कालापानीसँग सम्वन्धित राष्ट्रियताको समस्या समाधान गर्नुछ र यसको लागि सिगो देशलाई एकजुट गरेर पाइला अघि वढाउनु पर्नेछ

गुटवाजी सिमित स्वार्थको लागी गरिने गठवन्धन हो । सामूहिक नेतृत्व हुने राजनीतिक दलहरुमा गुटवाजी अली वढि फस्टाएको देखिन्छ । गुटवाजी हाम्रो जस्तो साघुरो स्वार्थको खेलमा रम्ने समाजमा आम रूपमा पाइने वितण्डा हो । नेपालका राजनीतिक दलहरूमा गुटवाजीले अभिन्न कर्मको रूप लिई सकेको छ । हाम्रो समाजमा कार्यरत सामाजिक, आर्थिक र सांस्कृतिक संघ संगठनहरुमा समेत दलहरूकै ढाचाँको गुटवाजी देख्न सकिन्छ । साच्चै भन्नेहो भने अहिले ठुला राजनैतिक पार्टी भनेका गुटहरूका मोर्चा मात्र हुन । राजनीतिक पार्टीहरू जनताका समस्याबाट बाहिरिदै गएर अब विभिन्न गुटहरूको स्वार्थ साधना गर्ने हतियार हुदैँ गइरहेका छन् । यसले गर्दा आधारभूत तहका जनताको मूल समस्या समाधान हुन सकिरहेको छैन । आम जनतामा असन्तुष्टीको मात्रा बढेको छ । यो सवैको कारण तुच्छ स्वार्थ हो । नेतृत्वले निश्वार्थ भएर अगाडी आउने हो भने गुटको गर्भाधान हुन नै सक्दैन ।

कम्युनिस्ट पार्टीमा गुटवाजी आजको समस्या होईन् । यो कम्युनिस्ट आन्दोलनको स्थापना कालदेखि फनफनाउँदै आएको समस्या हो । कमरेड पुष्पलालले कम्यनिस्ट पार्टीको स्थापना गर्नुभयो । पार्टी संगठन निर्माण र विस्तार गर्नुभयो । पार्टीको निति, विधी–विधान र कार्यक्रम बनाउनु भयो । वहाँले आफू, आफ्ना र आफ्नो पदको बारेमा चिन्ता गर्नुभएन् । आफ्नै नेतृत्वमा नेकपाको पहिलो महाधिवेशन आयोजना गर्नुभयो । संस्थापक महासचिवको हैसियतले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । वहाँले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र कार्यकम पास पनि भयो । तर वहाँ पार्टीको महासचिव वन्न पाउनु भएन । नेकपाको महासचिव हुने अवसर कमरेड मनमोहन अधिकारीले पाउनु भयो । यसैगरी नेकपाको दोस्रो महाधिवेशनमा पनि राजनीतिक प्रतिवेदन र कार्यक्रम कमरेड पुष्पलालकै पासभयो भनिन्छ । तर, पार्टीको महासचिव भने कमरेड केशरजंग रायमाझी हुनुभयो ।

तेश्रो महाधिवेशनमा कस्ले प्रस्तुत गरेको कार्यकम पास भयो भन्नेवारे समेत विवाद छ । कमरेड पुष्पलाल श्रेष्ठ र कमरेड तुल्सीलाल अमात्य मध्ये कस्को कार्यक्रम पास भयो भनेर दोहोरो दावी छदै छ । तर, पनि कार्यक्रममा सवालमा वहुमत सदस्य कमरेड पुष्पलालको पक्षमा भएपनि महासचिव भने कमरेड तुल्सीलाल अमात्य हुनुभयो । विचारको राजनीति गर्ने पार्टीमा किन यस्तो भयो । यो एकिकृत पार्टीको कुरा भयो । तेश्रो महाधिवेशन पछि निर्वाचित नेतृत्वले पार्टीको एउटा पनि वैठक राख्न र पार्टी हाक्न सकेन । यसले गर्दा महाधिवेशन पछिको कम्युनिस्ट आन्दोलन गुटहरूमा विभाजित भयो । समय क्रममा तिनै विभाजित गुटहरू आफूलाई एक मात्र कम्युनिस्ट पार्टी भएको घोषणा गर्न थाले । एकिकृत पार्टीको आवश्यकता महशुस हुन थालेपछि विस्तारै विभिन्न गुटहरू एकिकरण हुदैँगए । एकता प्रकृयाले देशमा कम्युनिस्ट आन्दोलनलाई व्यवस्थित गर्दै लग्यो । अहिले आएर देशका ठुला कम्युनिस्ट पार्टीहरू गुटहरूको मोर्चा जस्तो भएका छन् ।

नेपाली कांग्रेस पार्टीमा समेत २००८ सालदेखि नै चरम गुटवाजी सुरू भएको देखिन्छ । २००८ सालमा विपी कोइरालालाई सरकारवाट हटाउन लगाएर मातृका कोईराला देशको प्रधानमन्त्री भए । १०१५ सालमा देशमा पहिलो निर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई पार्टी सभापतिबाट हटाउन कांग्रेसमा भयंकर गुटवाजी भएको थियो । कांग्रेस भित्रको गुटवाजीले धेरै पटक पार्टी विभाजन हुन पुगेको थियो । कांग्रेस समेत पटक पटक विभाजित हुँदै फेरि जुट्दै आएको पार्टी हो । अहिले देशमा नेकपा झण्डै दुई तिहाई वहुमत सहित देशको सवभन्दा ठुलो पार्टीको रूपमा सरकार सञ्चालन गरि रहेको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको रूपमा छ । जती सुकै गुटवाजी भएपनि २००६ साल देखि आजसम्म देशमा यिनै दुई वटा दलको हालीमुहाली कायमै छ ।

यसैले होला दुवै पार्टी आफुलाई सच्याउनु भन्दा अहिले पनि गुटवाजी र खेलो फड्को मै व्यस्त देखिन्छन । २०४८ सालमा वहुमत सहित सरकारमा आएको कांगेस आन्तरिक गुटवाजी कै कारण मध्यावधि निर्वाचनमा गयो । २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमाले देशको सवभन्दा ठुलो पार्टीको रूपमा स्थापित भयो । देशको सवभन्दा ठुलो पार्टीको हैसियतले सरकार गठन गरे लगत्तै सरकारमा जाने र नजाने बीच, सुविधा खाने र नखाने कार्यकर्ता बीच एमालेमा महाविवाद सुरू भयो । २०५१ र २०५४ को सरकारको कारणले उत्पन्न गुटवाजीको परिणाम २०५४ सालको छैठौ महाधिवेशनमा पुगेर नेकपा एमाले विभाजित भयो । पार्टीको अनपेक्षित विभाजनले गर्दा नेकपा एमालेको मुखैमा आएको वहुमतको सरकार पाखा लाग्यो । एमालेको फुटको कारणले नेपाली कांग्रेसलाई सत्र पर्यो । उसले कल्पनासम्म नगरेको वहुमत ल्याएर फेरि सरकार बनायो । नेकपा माओवादीले एमाले र मालेका असन्तुष्ट कार्यकर्तालाई संगठित गर्ने अवसर पाएर आफ्नो आकारलाई एकै पटक राष्ट्रिय स्वरूप दिन सफल भयो ।

पार्टी विभाजन पछि पनि नेकपा एमाले र नेकपा माले वीचको चरम गुटबन्दी र विभाजनले कांग्रेसमा समेत प्रभाव पार्यो । सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नै पार्टीका सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकार अविश्वासको प्रस्तावबाट ढाल्ने काम गरे । यस पछि कांग्रेसलाई घरी नेकपा मालेसँग एकता गरेर सरकार बनाउने त घरी नेकपा एमालेसँग लगन गाठो कस्दै खेल्ने अवसर पायो । कम्युनिस्ट पार्टीसँगको चलखेलको गज्जव प्रभाव काग्रेसमा सिधै पर्यो । २०५८ सालमा कांग्रेस समेत गिरीजाप्रसाद कोइरालाको एकल नेतृत्वको विरोध गर्दै शेरबहादुर देउवाको नेतृत्वमा दुई फ्याक भएर विभाजित भयो । नेकपा एमाले र कांग्रेसका नेताहरूको आन्तरिक कलह, गुटवाजी र विभाजनको मौका छोपेर बसेका राजाले फाईदा लिए । २०५८ सालमा राजाले लोकतन्त्र माथी ठाडै हस्तक्षेप गरेर देशमा राजाको प्रत्यक्ष शासन थोपर्ने काम गरे ।

जहाँसम्म एमालेको कुरा छ । २०५४ सालको विभाजन पछि यो पार्टीमा एकताको धार नै वलियो भएर आएको छ । २०५४ सालमा विभाजित नेकपा मालेका कमरेड वामदेव गौतमको नेतृत्वमा एकतावद्ध भयो । त्यस पछि पनि थुप्रै कम्युनिस्ट नेता कार्यकर्ताहरू एमालेमा समाहित भए । आफ्ना असन्तुष्टिका कारण केही व्यक्तिहरू पार्टीबाट वाहिरिए पनि पार्टीमा कुनै किसिमको विभाजन देखिएन् । नेकपा माओवादीमा भने शान्ति प्रकृयामा आएपछि विभिन्न विभाजनका घट्नाहरु देखियो ।

नेकपा माओवादीबाट विभाजित भएका मोहन वैद्य समूह र विप्लव समुह अहिले पनि आफुलाई अव्वल दर्जाका क्रान्तिकारीको रूपमा प्रस्तुत भई रहेका छन् । डा. बाबुुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै हालै जनता समाजवादी पार्टीको नेता भएका छन् । नेकपा माओवादीको मातृका समुह र वादल समुह पुन नेकपा माओवादी केन्द्रमा सामेल हुदै नेकपा एमाले र नेकपा मामाओवादी केन्द्र बीचको एकता प्रकृयामा सामेल भएर अहिले नेकपामा आई पुगेका छन् । यसरी नेकपाको पछिल्लो प्रवृति भनेको एकता संघर्ष र एकतामा रूपान्तरित भएको छ । यो एकता प्रकृयाले एउटा शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेको छ ।

अहिलेको नेकपा कम्युनिस्ट आन्दोलनको सकारात्मक प्रवृतिको उपज हो । जनताको चहाना र राष्ट्रिय आवश्यकता को परिणती हो । दुवै पार्टीले एक्लाएक्लै जित्न सक्ने अवस्था नदेखिएकोले जनताको जितको निम्ती निकालिएको उत्तम उपाय थियो । अहिले दुई ठुला पार्टी एकिकृत भएर बनेको नेकपा नेपाली जनताको पटक पटकको प्रयासका वावजुद सफल हुन नसकेको कम्युनिस्ट पार्टीको वहुमतको सरकार हेर्ने उत्कट चहानाको ठोस अभिव्यक्ति पनि हो । त्यतिमात्र होईन यो एकता नेपाली जनताको कम्युनिस्ट पार्टीको सरकार मार्फत देशको अनुहार फेर्ने उदेश्य प्राप्तिको आधार पनि हो ।

यसमा दुविधा छैन कि यो एकता गर्नमा नेकपाका अध्यक्ष द्वयको महत्वपूर्ण भूमिका छ । फेरिपनि अहिले आम नेपाली जनताको मनमा आशंका पैदा हुन थालेको छ । दुई कम्युनिस्ट पार्टीको बीचको एकताको लक्ष र उदेश्यमा स्वार्थको कालो वादल लागेको त होइन् ? हिजो नेपाली जनताको विकास र परिवर्तनका निम्ती भनिएको एकता अहिले फगत कुर्सीको खेलमा परिणत भएको त होईन ? अर्थात राष्ट्रियताको संरक्षण गर्न, देशको भविष्य बनाउन र जनताको मुहारमा खुसि ल्याउन भएको कम्युनिस्ट एकता आज फगत कुर्सी जोगाउने र कुर्सी प्राप्त गर्ने खेलमा परिणत भएको त होईन ? शिर्ष नेतृत्वले यी प्रश्नहरूको सहज जवाफ नेपाली जनतालाई दिनुपर्छ ।

आज नेकपा भित्रको गुटवाजी र आन्तरिक कलह हेर्दा फेरि एकपटक नेपाली जनता दुःख र पीडाको भवसागरमा फस्ने त होइन ? नेकपा भित्रको गुटवाजी र आन्तरिक कलहको कारण नेपाली जनताको ७० वर्षको तपस्याको प्रतिफल गुम्ने त होइन ? नेपाली कम्युनिस्ट आन्दोलनले श्रृष्टि गरेको देशको परिवर्तनको महत्वपूर्ण अवसर स्वार्थी तत्वहरूको स्वार्थ साधनाको कृडास्थल हुने त होइन ? नेपाली कम्युनिस्ट कार्यकर्ताहरूको त्याग, तपस्या र वलिदानको परिणाम स्वरूप प्राप्त अनुपम उपहार, कम्युनिस्ट पार्टीको वहुमतको सरकार असफल हुने त होइन ? यस्ता अनेक प्रश्नहरू जनमनमा उठि रहेकाछन् ।

हामीले यस्ता सवै प्रश्नहरूको उचित जवाफ खोजिनु पर्दछ । सवै प्रश्नहरु र आशंकाहरुको निवारण गरिनु पर्दछ । देश भरिका कार्यकर्ता र जनतालाई तत्काल विश्वासमा लिनुपर्दछ । यसको लागि सवभन्दा पहिले पूर्व पार्टी भित्रको गुटको कोटरीमा ताल्चा लगाउनु पर्छ । स्वार्थको खेल र स्वार्थी तत्वहरूको प्रभावबाट मुक्त भएर पार्टीको मुल नेतृत्व देश र जनताका एजेण्डामा छलफल गर्न तयार हुनपर्छ । हरेक नेताले आफुलाई रिफ्रेस गरेर नया ढंगले अघि वढ्न तयार हुनपर्छ ।

नेकपाको एकतालाई कतिपय विरोधिहरूले सत्ताका निम्ति भएको गठजोड भनेका थिए । कतिपयले एकतालाई दुई दिनको रामछाया भन्दै मुलुक डुवाउने स्वार्थको खेलको आरोप लगाउदै थिए । यस्ता आरोपलाई खण्डन गर्दै हामी यो एकतालाई युगीन आवश्यकता भनि रहेका छौ । तर, पनि यस अघिका कतिपय निति, विधि र प्रकृया विपरीतका चलखेल र अराजनैतिक कृयाकलापले धेरैको मनमा शंका उत्पन्न गराएको छ । कार्यकर्ताहरू बीचमा विरोधीहरुको आरोपको स्मरण गराई रहेको छ । तसर्थ यस्तो खालको आरोप र आशंकालाई कामबाटै खारेज गर्नु आवश्यक छ । यसको लागि पार्टीलाई निति र विधिसम्मत बनाउन पर्दछ । विधि र प्रक्रियाको आधारमा एकता प्रकृयालाई सुनिश्चित गरिनु पर्दछ । यसको लागि पार्टीका शिर्ष तहका नेता कमरेडहरूले सामुहिक छलफलबाट समझदारी बनाएर अघि वढ्नु नितान्त जरूरी पर्छ । नेकपाको शक्तिशाली परिचालनबाट मात्र हामी आजको चुनौती सामना गर्ने सामर्थ्य राख्दछौं ।

अहिले देश शंकटमा छ । एकातिर कोरोनाको अत्यासलाग्दो महामारी छ । यो महामारीसँग लड्न सम्पूर्ण पार्टी, राजनीतिक दल र आम नेपाली जनतालाई एक जुट गर्नु पर्नेछ । अर्को तिर लिम्पियाधुरा, लिपुलेक र कालापानीसँग सम्वन्धित राष्ट्रियताको समस्या समाधान गर्नुछ र यसको लागि सिगो देशलाई एकजुट गरेर पाइला अघि वढाउनु पर्ने छ । मुलुकको यो विशिष्ट परिस्थितीलाई सामना गर्न सर्वप्रथम नेकपाको आन्तरिक एकता सुनिश्चित गरिनु पर्दछ । यो महान कार्यलाई सहज ढंगले अघि बढाउन छोटो अवधिको लागि भएपनि पार्टीको स्थायी कमिटी या केन्द्रीय कमिटी बैठक राखेर विश्वासको वातावरण बनाउनु पर्दछ । बैठकमा वृहत छलफल र बहसवाट तत्कालिन समस्याको एकता वद्ध समाधान निकालिनु पर्दछ । यसले नेकपा भित्रको एकतालाई उदेश्य मूलक र सुदृढ बनाउने काम गर्दछ । एकिकृत तथा सुदृढ नेकपाले सवै शक्तिलाइ एक ठाउमा ल्याएर देशलाई जोगाउने काम गर्नुपर्दछ । साथै देश र जनताको हित, सुरक्षा र खुशीको लागि सम्पूर्ण राष्ट्रको साझा ध्येय वनाउनु पर्दछ ।

प्रतिक्रिया