अनलाइनमा ‘कलाका कुरा’

काठमाडौं । नेपाल ललितकला पत्रकार समाज (सोफाज) को नियमित कार्यक्रम ‘कलाका कुरा’ मा कलाकारद्वय विक्रम श्री र एचबी रम्तेल सुनिएका छन् । ‘वर्तमान नेपाली कलाको अवस्था’ विषयमा भएको उक्त कार्यक्रम अनलाइनमार्फत गरिएको थियो । इटहरीमा रहेर कला साधना गरिरहेका कलाकार विक्रम श्री र बुटवलमा रहेर कलाकर्म रहेका कलाकार एचबि रम्तेलले नेपाली कलाले अन्तर्राष्ट्रिय ख्याति कमाउँदै गएको बताए ।

उनीहरुले मोफसलमा कलाको अवस्थाका बारेमा बताउँदै कला विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । नेपाली कलालाई स्थानीय तहसम्म लैजान राज्यले विशेष पहल लिनुपर्ने कलाकार विक्रम श्रीले बताए । उनले भने, ‘विश्व नै कोरोना महामारीका चपेटामा परिरहेका बेला कला क्षेत्र पनि संकट परेको छ । तसर्थ यस क्षेत्रलाई उठाउन स्थानीय तहबाटै काम गर्नुपर्दछ ।’

उनले स्थानीय कला र संस्कृतिलाई उठाउन सकिएमात्रै नेपाली कलाको मौलिकता बच्ने र त्यसले पहिचान स्थापित गर्न सहयोग पुग्ने बताए । त्यस्तै, कलाकार रम्तेलले नेपाली कलालाई आममानिससमक्ष लैजान स्थानीय तहले विस्तारै योजनाबद्ध काम गरिरहेको बताए । उनले भने, ‘कलाको विकास स्थानीय तहबाटै हुनुपर्दछ । यसका लागि तलैबाट जग बलियो बनाउनुपर्दछ । कलाले राज्यको मौलिकतालाई चिनाउने मात्रै नभइ इतिहासलाई समेत जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

त्यसकारण कलाको विकासका लागि राज्य गम्भीर बन्नुपर्दछ ।’ यस्तै, समाजको आयोजनामा अनलाइन कला लेखन कार्यशालासमेत भइरहेको छ । कला विषयमा लेखन तथा पत्रकारिता तथा लेखन गरिरहेका व्यक्तित्वलाई लक्षित गरी कार्यशाला गरिएको समाजका अध्यक्ष केशव राज खनालले बताए । उक्त कार्यशालामा कलाकार तथा लेखक देवेन्द्र थुम्केलीले कलाका सैद्धान्तिक व्यवहारिक पक्षमा केन्द्रित रही प्रशिक्षण दिएका छन् ।

उक्त कार्यशालामा कलाको ऐतिहाासिक विकासक्रम, सभ्यता र संस्कृतिको कलामा प्रभावका विषयमा जानकारी दिइएको छ । त्यस्तै, कलाका सैद्धान्तिक तथा व्यवहारिक पाटाका बारेमा अवगत गराउँदै कला लेखनमा रङ, प्रकृति, समाज, धर्म, राजनीति, इतिहास लगायतका पक्षको भूमिकाका बारेमा चर्चा गरिएको थियो ।

कार्यशालामा कलाका शैली तथा विषयगत पक्षमाथि चर्चा गर्दै थुम्केलीले कला लेखनमा फर्म (स्वरुप) र सार (विषय) कसरी बुझ्ने र तिनको व्यवहारिक प्रयोग कसरी गर्ने बारेमा चर्चा गरे । उनले भने, ‘कला दृश्यभाषा र अनुभूतिको भाषा भएकाले यसलाई सबै दर्शक तथा मानिसले सहजै ग्रहण गर्न सक्छन् । मानवीय संवेग र व्यक्तिगत पहिचानका रुपमा कलाले मानिसलाई फरक देखाउँछ ।’

कलाका तत्व, आधारभूत सिद्धान्त, रङ तथा शैलीको सामान्य जानकारी हुनुपर्ने बताउँदै थुम्केलीले कला दृश्यभाषा भएकाले यसलाई सम्प्रेषणीय बनाउन रुप र भाव पक्षका बारेमा ज्ञान हुनुपर्ने जिकिर गरे । उनले कलामा कलाकारको सोच, समकालीन परिवेश, सामाजिक, राजनीतिक तथा आर्थिक अवस्था, धर्म तथा संस्कृति, इतिहास, पुरातत्व, प्रकृति-वातावरण लगायतका विषयलाई उतारिने धारणा व्यक्त गरे । उनले यी विषयको पहिचान लेखक तथा पत्रकारले गर्न सक्नुपर्ने धारणा राख्दै प्रकृतिपरक, यथार्थपरक, आदर्शपरक, ढाँचाकृत, नाटकीकृत, अमूर्त, आकृतिमूलक लगायतका विषयमा चर्चा गरेका थिए ।

कोभिड–१९ का कारण कलाका गतिविधि कम भएकाले समाजले अनलाइनमार्फत कला लेखन तथा बहसका कार्यक्रम गरेको अध्यक्ष खनालले बताए । उनले वैश्विक महामारीमा कलाकारहरु सिर्जनामा सक्रिय रहेको र यो विषम परिस्थितिको अन्त्यपछि नेपाली कलालाई कसरी अगाडि लैजान सकिनेमा समाज चिन्तनशील रहेको विचार व्यक्त गरे । उनले भने, ‘कलाकारले सिर्जना गरेका कलाकृति र तिनका परिवेश पत्रकार तथा लेखकका लागि लेखनका सामग्री हुनसक्छन् ।’

उनले अहिलेको अवस्थामा कला क्षेत्रका विविध पक्षमाथि चर्चा गर्दै यस क्षेत्रलाई क्रियाशील बनाउन यस्ता कार्यक्रम फलदायी हुने अपेक्षा समाजले लिएको खनालले जिकिर गरे । बहस र लेखन कार्यशालाले कला क्षेत्रको आयामलाई फराकिलो बनाउन मद्दत पुग्ने समाजका कोषाध्यक्ष दिवेश प्रधानले बताए । कार्यक्रमलाई अनलाइनमा सहजीकरणका लागि प्रोसिस सोलुसनले प्राविधिक सहयोग गरिरहेको छ ।

प्रतिक्रिया