डिजेल अभावले किसान मर्कामा

वीरगञ्ज । यतिबेला खेत जोत्ने चटारो परेको ग्रामीण क्षेत्रमा इन्धनको अभाव छ । पर्साको ग्रामीण क्षेत्रका आयल स्टोर्सहरूले पनि इन्धन नपाएको बताएका छन् । लामो समयदेखि इन्धन बोकेको ट्यांकर गाउँमा नआएको पेट्रोलपम्प सञ्चालकहरूले बताए ।

इन्धन नआएर सकिन लागेकोले किसानहरूको मागअनुसार उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ । पोखरिया कृष्ण आयल स्टोरमा तीन घण्टा लाइनमा बसेपछि ५० लिटर डिजेल पाएको भिखमपुर निवासी सन्तोष पटेलले बताए । किसानका लागि सरकारले डिजेलको सहज आपूर्ति गरिदिनुपर्ने उनीहरूको माग छ । इन्धन उपलब्ध भएमा खेतीपाती गर्न सहज हुने पटेर्वासुगौलीका राजेशदास थारू बताउँछन् ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको बताउने सरकारले सहरमा सवारी नचलेको वेला पनि ग्रामीण किसानलाई डिजेल उपलब्ध गराउन नसक्नु लाजमर्दो भएको भन्दै किसानहरूले आक्रोश पोखिरहेका छन् ।

त्यसैगरी ठोरी गाउँपालिकाको क्षेत्रमा रहेको एउटा मात्र पेट्रोलपम्प विजयबस्तीको नेवा आयल स्टोरमा बिहान चार बजेदेखि बेलुका ६ बजेसम्म डिजेल र पेट्रोल लिन लाइन लाग्ने गरेको छ । दिनभरि लाइनमा बस्दा पनि किसानको आवश्यकता अनुसार डिजेल नपाएको उपभोक्ताहरूको गुनासो छ । ३० लिटरदेखि ५० लिटरसम्म मात्रै उपभोक्तालाई पम्पले डिजेल दिने गरेको छ । पम्पमा डिजेल अभाव भएकोले मागअनुसार दिन नसकेको र यहाँ ठोरी, जगरनाथपुर, जीराभवानी गापालगायतबाट कृषकहरू डिजेल किन्न आउने गरेका पम्प सञ्चालकको भनाइ छ ।

प्रतिक्रिया