कोरोनाबाट मृत्यु भएकी महिलाको परिवार डिस्चार्ज

काभ्रे । कोरोना भाइरसबाट नेपालमा पहिलो मृतकको सूचीमा रहेकी सुत्केरी महिलाको परिवारहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट गत जेठ १ गते उनको निधन भएको थियो । त्यसलगत्तै उनका सबै परिवारहरुलाई धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेका बेला अवस्था सामान्य रहेपछि अस्पतालले शुक्रबार महिलाले जन्माएको शिशुलगायत परिवारका सबै सदस्य डिस्चार्ज  गरेर घर पठाएकाे  हाे ।

धुलिखेल अस्पतालका प्रशासकीय अधिकृत डा. रमेश माकजूले मृतक महिलाको बच्चा, उनकी बहिनी, श्रीमान् र सासुलाई डिस्चार्ज गरिएको जानकारी दिए । नवजात शिशुमा जण्डिस र राता बिवीरा उठेको भए पनि बालरोग विशेषज्ञबाट उपचार गराएपछि निको भएको माकजूले जानकारी दिए । महिलाको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ चार दिनअघि नै आएको थियो ।

पछि पुनः बालकको स्वाब परीक्षण गरिएको र त्यसमा पनि रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको धुलिखेल अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा थप एक हप्ता सिन्धुपाल्चोक जिल्लाको क्वारेन्टाइनमा राख्नुपर्ने र पुनः आरडीटी परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ । आरडीटी परीक्षणमा पोजेटिभ देखिए मात्र पीसीआर गरिने अस्पतालले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाहृबिसे नगरपालिकाकी ती महिलाको उपचारका क्रममा गत जेठ १ गते राति साढे ९बजे मृत्यु भएको थियो । सुत्केरी महिलाको मृत्युपश्चात् कोरोना परीक्षण गर्दा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । मृत्युपछि परिवारलाई आसोलेसन वार्डमा राखेर उपचार गराएको थियो भने अस्पतालले मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेत क्वारेन्टिाइनमा राख्दै आएको थियो ।

प्रतिक्रिया