कोरोनाको उच्च जोखिममा भूपू गोर्खा सैनिक परिवार

७२ वर्षीया दिलमाया थापा भूतपूर्व गोर्खा सैनिक परिवारकी हुन् । उनी बेलायतको अल्डरशट सहरमा बस्छिन् जहाँ नेपालीहरूको बाक्लो बसोबास रहेको छ । बेलायतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि उनीजस्ता हजारौँ भूतपूर्व गोर्खा सैनिकका परिवार चिन्तित बनेका छन् ।

‘हुलाकीले हामी बसेको घरको ढोकाको प्वालमा एउटा चिठी ल्याएर छोडिदिएको दुई दिन भयो, तर डरले मैले त्यो चिठी भित्र ल्याएकी छैन । फेरि मेरा श्रीमानले आँखा देख्दैनन्, मलाई पढ्न आउँदैन,’ उनले भनिन् ।

दिलमायाको डेरामा टेलिभिजन छैन । श्रीमान् बिरामी भएकाले उनी नेपालीहरूको कार्यक्रममा पनि जाँदिनन् । बरु फुर्सदको बेला रेडियोमा नेपाली समाचार र गीत सुन्छिन् । ‘कोरोना भाइरसबाट कसरी बच्ने भन्ने चाहिँ उनलाई थाहा छ । ‘बाहिर गएर आएपछि २० मिनेट साबुन पानीले मिची मिची हात धुनु पर्छ भन्ने सुनेकी छु,’ उनले भनिन् । तर विश्व स्वास्थ्य संगठनका अनुसार मिचीमिची हात धुनुपर्ने चाहिँ २० सेकेण्ड मात्रै हो ।

बेलायतमा कोरोनाभाइरसको महामारीका कारण मे महिनाको दोश्रो सातासम्ममा ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ, जुन युरोपमै सबैभन्दा बढी हो । लन्डनस्थित नेपाली दूतावासका अनुसार सोही अवधिमा बेलायतमा ६० जनाभन्दा बढी नेपालीहरूको निधन भएको छ । ती मध्ये झन्डै ८० प्रतिशत भूतपूर्व गोर्खा सैनिकहरू छन्

पुर्खेयौली घर स्याङ्जा भएका भूतपूर्व गोर्खा सैनिक ८१ वर्षीय हस्तवीर थापा आफ्नी श्रीमती चित्रमाया थापालाई लिएर सन् २०१६ मा यूके आइपुगे । उनी मधुमेह, उच्च रक्तचाप, रक्तअल्पता लगायतका स्वास्थ्य समस्याबाट पीडित छन् । ७८ वर्षीया चित्रमाया पनि बेलायत आइसकेपछि मिर्गौला रोगबाट पीडित भइन् ।

लन्डनको फेल्थममा बसोबास गर्ने उनी हप्तामा ३ पटक पश्चिम लन्डनको एक अस्पतालमा डायालिसिस गर्न जान्छिन् । थापा दम्पत्ति दुवै अशक्त भएकाले सोही घरमा बस्ने एक नेपाली परिवारले साँझ, बिहान उनीहरूलाई तातो खाना पु¥याइदिन्छन् । त्यसबापत आफूले केही रकम दिने गरेको चित्रमायाले बताइन् ।

संयोग नै भनौँ, सोही घरमा एक नेपाली नर्स कमला राना पनि बस्छिन् । उनले कार्यालयको व्यस्तताबाट समय निकालेर थापा दम्पतीलाई चिकित्सककहाँ पु¥याइदिने र अस्पतालमा समय मिलाइदिने जस्ता काम गर्छिन् । ‘उहाँहरू दुवै जनाको स्थिति निकै नाजुक छ, कोरोना भाइरसले जोखिम झन् बढाएको छ । उहाँहरू मलाई आफ्नै हजुरबुवा, हजुरआमा जस्तो लाग्छ, त्यसैले मैले सक्दो सहयोग गरिरहेकी छु,’ कमलाले भनिन् ।

अश्वेत, एशियाली तथा जातीय अल्पसंख्यक (बिएएमइ) समुदायमा कोरोना भाइरसका कारण मृत्युदर किन उच्च छ भन्नेबारे ब्रिटिश सरकारले एउटा अध्ययन गर्न लगाएको छ । हालै एउटा ब्रिटिश अखबारमा एक लेख लेख्दै लन्डनका मेयर सादिक खानले ब्रिटेनमा (बिएएमइ) कुल जनसंख्याकोे १४ प्रतिशत मात्रै भए पनि अस्पतालहरूमा भर्ना भएका कोरोना भाइरसका गम्भीर बिरामीहरूमध्ये एक तिहाइ बिएएमइ समुदायको भएको बताए ।

नेपाल पत्रकार महासंघ यूके शाखाले हालै गरेको एक सर्वेक्षणले ६५ वर्षमाथिका अधिकांश भूतपूर्व गोर्खा सैनिकहरूले भाषाका कारणले स्वास्थ्य सुविधा प्राप्त गर्न कठिनाइ बेहोर्नु परेको देखाएको छ । कोरोना भाइरस संक्रमित भएपछि एक साता अस्पतालमा उपचार गरेर फर्केका ब्रिटिश सांसद वीरेन्द्र शर्मा पनि यस्तो समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउँछन् ।

‘विश्वव्यापी महामारीको अहिले जस्तो अवस्थामा सबै आवश्यक भाषाहरूमा परामर्श दिइनु पर्छ र जटिल तथा अत्यावश्यक सेवा चाहिने मानिसहरूलाई दोभाषे उपलब्ध गराइनु पर्छ,’ ड अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्षसमेत रहेका सांसद शर्माले भने ।

हाल बेलायमा बसोबास गरिरहेका ६५ वर्ष माथिका भूतपूर्व गोर्खा वृद्धवृद्धाहरू विभिन्न रोगहरूबाट पनि ग्रसित रहेको चिकित्सकहरू बताउँछन् । नेप्लिज डक्टर्स एसोसियशन यूकेका अध्यक्ष डाक्टर रमेश खोजुले भने, ‘भूतपूर्व गोर्खा सैनिक र उहाँहरूका परिवारका वृद्धवृद्धामा मधुमेह, उच्च रक्तचाप, मिर्गौला, मुटुसम्बन्धी रोग छ । कतिपय परिवारका सदस्य सेक्युरिटी वा यातायात क्षेत्रमा काम गरिरहनु भएको छ । संयुक्त परिवारमा बस्ने, एकान्तवासमा बस्न सम्भव नहुने जस्ता कारणले पनि अन्य व्यक्तिबाट उहाँहरूमा भाइरस सरेको हुन सक्छ ।’

बेलायतले सन् २००९ मा ब्रिटिश सेनामा कम्तीमा चार वर्ष काम गरेका भूतपूर्व गोर्खा सैनिकहरूलाई बेलायतमा बसेबास गर्न दिने घोषणा गरेपछि हजारौँ भूतपूर्व गोर्खा सैनिक र तिनका परिवार बसाइसराइ गरेर बेलायत आएका छन् । ती मध्ये ६५ वर्षभन्दा माथिका भूतपूर्व गोर्खा सैनिकको संख्या सात हजार भन्दा बढी रहेको गोर्खा वेलफेयर ट्रस्टले जनाएको छ ।

‘भूतपूर्व गोर्खा सैनिक कैयौँले पौष्टिक खाना पनि खानुहुन्न । आफूले पाएको भत्ताबाट बचाएर नेपालमा आफ्ना छोरा छोरीलाई पठाउनु हुन्छ । त्यसैले अहिले कोरो नाभाइरसले उहाँहरूमाथि निकै ठूलो जोखिम थपिदिएको छ,’ गोर्खा सत्याग्रह अभियानका एकजना अभियन्ता ज्ञानराज राईले भने ।

भूतपूर्व गोर्खा सैनिकहरूलाई सघाउन बेलायस्थित नेपालीहरूका विभिन्न संघसंस्थाले पनि पहल गरिरहेका छन् । गैर आवासीय नेपाली संघ यूकेले हेल्पलाइन स्थापना गर्यो भने कतिपय संघसंस्थाहरूले स्वयम्सेवी समूहहरू गठन गरेका छन् ।

‘हामीले वयोवृद्ध भूतपूर्व गोर्खा सैनिकहरूका लागि सामान किनमेल गरी घरको ढोकामा लगेर राखि दिने, अस्पताल वा चिकित्सककोमा समय मिलाउन फोन गर्ने जस्ता काम गरिरहेका छौं,’ ग्रेटर रसमूर नेप्लिज कम्युनिटीका अध्यक्ष रामधन राईले भने । यसैबीच लन्डनस्थित नेपाली दूतावासले पनि ब्रिटिश सरकारलाई जोखिममा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको जीवन सुरक्षामा सघाउन अनुरोध गर्दै एक पत्र लेख्यो ।

‘ब्रिटिश परराष्ट्र मन्त्रालयले सो विषयबारे ब्रिटिश रक्षा मन्त्रालयलगायत सम्बन्धित निकायहरूलाई आवश्यक कदम उठाउन भनिसकेको हामीलाई जानकारी गराएको छ,’ लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख शरदराज आरणले भने ।

अहिलेसम्म कुनै औषधि पत्ता नलागेको र खोप पनि विकास भइनसकेको कोरोना भइरसको संक्रमणबाट जोगिन व्यक्तिगत सरसफाइका उपायहरू अपनाउने, सम्भव भएसम्म घरमै बस्ने, बाहिर निस्कनु परे भौतिक दुरी कायम गर्ने जस्ता सरकारले दिएका निर्देशनहरू पालना गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

‘आफू वा आफ्नो परिवारका सदस्यमा कोरोनाभाइरसका लक्षणहरू देखा पर्नासाथ एनएचएस १११ मा फोन गरि हाल्नुहोस् । भाषाको कारणले समस्या परेको छ भने हाम्रो वेब साइट ९धधध।लमबगप।यचन।गप० मा गएर हामीलाई फोन गर्नुहोस् वा तपाईंले चिन्नु भएको संघसंस्थाका पदाधिकारीहरूलाई फोन गर्नुहोस्’ डा. खोजुले भने ।

त्यस्तै बेलायका स्थानीय निकायहरूले उच्च जोखिममा रहेका सबै मानिसहरूलाई संस्थागत रुपमा सहयोग गरिरहेको तर नेपालीरगोर्खा समुदायका कतिपय वृद्धवृद्धासम्म अझै त्यो जानकारी पुग्न नसकेको लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङले बताए । आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पु¥याउने सवालमा धेरै नेपालीरगोर्खाहरू पछाडि रहेको कतिपयको ठम्याइ छ ।

त्यसैले दिलमाया र थापा दम्पती जस्ता उच्च जोखिममा रहेका हजारौँ भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारको जीवन रक्षा गर्न स्थानीय काउन्सिल, जनप्रतिनिधिहरूका साथै नेपाली संघसंस्था र नेपाली दूतावासको थप सक्रियता आवश्यक देखिएको जानकारहरू बताउँछन् । (बीबीसी)

प्रतिक्रिया