‘खोप अभियान नरोक्नु’

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना महामारीका बीच पनि खोप अभियान यथावत राख्न आदेश दिएको छ । कोरोनाका कारण सरकारले अभियान स्थगित गरेपछि सर्वोच्चले अभियानलाई स्थगित नगर्न सरकारलाई आदेश दिएको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न पनि आदेश दिएको छ । ‘खोप अभियान सञ्चालन नगर्दा बालबालिकाहरुको स्वास्थ्यमा पर्न जाने प्रतिकूल प्रभाव समेतलाई विचार गर्दा खोप अभियानलाई सुरक्षित साथ सञ्चालन गर्नुरगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा भनिएको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत १० गते सूचना जारी गरी चैत मसान्तसम्मका लागि दादुरा खोप अभियान स्थगित गरेको थियो । त्यसपछि समेत खोप अभियान सुरु भएको छैन । अधिवक्ता सन्तोष भण्डारी लगायतले खोप रोक्दा बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया