सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा

भीमदत्तनगर । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको स‌ंक्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा संक्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको संक्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ ।

सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो । नेपाल र भारतमा संक्रमण नियन्त्रणका लागि लकडाउन भइरहँदा दार्चुलाको सीमावर्ती बजार धारचुलादेखि कञ्चनपुरको सीमावर्ती भारतीय वनबासा बजारसम्म नेपाली मजदूर रोकिएका छन् । भारतमा संक्रमण देखिएपछि सुदूरपश्चिमकै ठूलो नाका गड्डाचौकीबाट सबैभन्दा बढी करिब ७० हजारको संख्यामा नेपाली घर फर्किएको तथ्यांक छ ।

चैतको पहिलो साता भारतबाट आउने क्रम बढे पनि दोस्रो साता निकै ठूलो जमात भित्रिने पूर्वानुमान गर्दै गड्डाचौकी नाकामा सेना नै खटिएर आउनेको तापक्रम मापनको काम भयो । सेना पनि आफ्नो सावधानी अपनाउँदै तापक्रम मापनदेखि शंका लागेका बिरामीलाई अस्पताल पठाउने र हेल्थ डेस्कको व्यवस्थापनमा निकै सक्रिय रह्यो तर भारतबाट आउने हजारौँको संख्यालाई सीमामा व्यवस्थित हिसाबले राखेर सघनरूपमा चनाखो भएर स्वास्थ्य परीक्षण गर्न आवश्यक तयारी थिएन ।

त्यसैगरी, भारतबाट बढी मजदूर तथा यात्रु भित्रिनेमध्येको अर्को ठूलो नाका हो कैलालीको त्रिनगर भन्सार नाका । चैत ११ गते लकडाउनका बेला सीमानाकामा रोकिएका यात्रुहरू त्यहाँ प्रवेश पाउनुपर्ने भन्दै आन्दोलनमै उत्रिए । कैलालीको त्रिनगर र खङ्क्रौला नाकाबाट ४६ हजार नागरिक भारतबाट आएको कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले बताए । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले सुदूरपश्चिम संक्रमणको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि प्रयासरत रहेको बताए ।

‘संख्यात्मकरूपमा संक्रमित बढी देखिएकाले पनि यसको जोखिम बढेर आयो’, उनले भने, ‘धनगढीमा महिलामाथि स्थानीय संक्रमण देखिनुलाई झन् जोखिम मानिएको छ ।’ यहाँका क्वारेन्टाइनमा बसेका नागरिकको स्वाब संकलनका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सकसहित सात जनाको टोली सुदूरपश्चिम पठाउन लागेको उनले जानकारी दिए। भारतबाट कैलालीको लम्की र कञ्चनपुरका दुईमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिममा त्रास अझ बढेको छ ।

उनका अनुसार चैत ११ गते नाकामा थुप्रेका मध्येबाटै एक युवकमा संक्रमण देखियो । अब संक्रमित बढे स्वास्थ्य सामग्री अभाव हुने अवस्था छ भन्दै उनले संक्रमणलाई गम्भीररूपमा लिन सुदूरपश्चिमेली नागरिकसित आग्रहसमेत गरे । चार जना संक्रमित भइसकेको सुदूरपश्चिममा धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण सुरु गरिएको छ भने बैतडी र डोटीमा पनि परीक्षणका लागि आवश्यक मेशिन उपकरण जडानको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।

सुदूरपश्चिम संक्रमणको जोखिममा रहेको भन्दै संघीय सरकारले पनि कैलाली र कञ्चनपुरमा कोरोना भाइरस परीक्षणका लागि ¥यापिड टेस्टिङ कीट प्रयोग गर्ने निर्णय गरेको छ । यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमण नियन्त्रणका लागि उपचार र आवश्यक व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । आइतबार मुख्यमन्त्री भट्टले क्वारेन्टाइन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापन, कालोबजारी नियन्त्रण, खाद्यान्न आपूर्ति यहाँका विषयगत मन्त्रीलाई जिम्मेवारी दिएर अघि बढिरहेको जानकारी दिए ।

‘संक्रमित बढ्दा अझ बढी तयारी गर्नुपर्ने देखियो’, उनले भने, ‘महामारीको कहरमा निजी अस्पताललाई पनि स्वास्थ्य सेवा दिन हातेमालो गर्न आह्वान गर्छु ।’ उनले प्रदेश सरकारले ४० करोड रुपैयाँको कोष स्थापना गरेर यहाँका गरिब, विपन्न र ज्यालादारी गरी खाने वर्गलाई राहत वितरण गर्न कोषमा नीजि क्षेत्र, विभिन्न संघ, संस्था र निकायबाट सहयोग उपलब्ध भइरहेको बताए । ‘संक्रमत बढेसँगै संघीय सरकारसँग गम्भीररूपमा सहकार्य हुँदैछ’, उनले भने, ‘भारतलगायत अन्य मुलुकबाट घर फर्किएका नागरिकलाई २१ दिन क्वारेन्टाइनमा बस्न आग्रह गर्दछु ।’

प्रतिक्रिया