नगरपालिकाले दैनिक खर्च दिने

प्यूठान । स्वर्गद्वारी नगरपालिकाले क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई दैनिक खर्च उपलब्ध गराउने भएको छ । मंगलबार कार्यपालिकाको आकस्मिक बैठकले प्रति व्यक्ति दैनिक दुई सय ५० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरूलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारले मिलाएको छ । नगरपालिकाले क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न स्वरूप १४ दिनसम्मको लागि दैनिक दुई सय ५० रुपैयाँ उपलब्ध गराउने नगरप्रमुख नेत्रबहादुर रोकायले बताए ।

अहिले वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरू २१ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने अन्यलाई आफ्नो घरमै सुरक्षित बस्न भनिएको छ ।

व्श्विव्यापीरूपमा फैलिएको कोरोना भाइरस महामारीको कारण देशभर लकडाउन भएको छ । यस्तो अवस्थामा दैनिक ज्यालादारी गर्ने मजदुरहरू भोकै बस्न नपरोस् भनेर प्याकेजमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।

नगरपालिकाले उनीहरूलाई सरकारको मापदण्डअनुसार प्रत्येक वडाटोमा लगत तयार गरि राहत वितरण गरिने नगरप्रमुख रोकायले बताए । कार्यपालिका बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषको स्थापना गरेको छ । उक्त कोषमा हाल २० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया