कोरोनाबाट चैत दशैँलाई प्रभाव

रुकुमपूर्व । कोरोना भाइरसको जोखिमका कारण यसपालिको चैते दशैँ प्रभावित बन्न पुगेको छ । विशेष महत्वका साथ मनाउने यो पर्व यस वर्ष संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नमनाउन जिल्लाका स्थानीय तहले आग्रह गरेका छन् ।

चैते दशैँमा जिल्लाका विभिन्न ठाउँमा मेला लाग्ने, बलि चढाउने, चेलीबेटी माइती जाने, छोरीचेली पुज्नेलगायतका धार्मिक संस्कारका कार्य गर्दा मानिसको भीड धेरै हुने भन्दै स्थानीय तहले चैते दशैँ भीडभाड जम्मा हुने गरी तडकभडकका साथ नमनाउन सूचना जारी गरिएका सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् ।

सरकारले देशलाई लकडाउन घोषणा गरेकाले त्यसमा सहयोग गर्न स्थानीय सरकारले यतिबेला परेका सबै चाडपर्व नमनाउन सूचना जारी गरेका हुन् । पूर्वी रुकुमका भुमे र सिस्ने गाउँपालिकाले सूचना जारी गर्दै चैते दशैँको अवसरमा लाग्ने मेलापर्व, बलि चढाउनेलगायतका काम नगर्न भनेका छन् ।

चैते दशैँको अवसरमा जिल्लाको सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको प्रमुख पर्यटकीयस्थल देउराली गुफामा हरेक वर्ष मेला लाग्ने गर्छ भने विभिन्न ठाउँमा पूजापाठसहित बलि चढाउने धार्मिक प्रचलन रहेका छन् । यतिबेला मानवको जीवनरक्षाभन्दा पर्व ठूला नभएकाले यसपालिको चैते दशैँ नमनाउन भनिएको गाउँपालिका अध्यक्ष बरालले बताइन् ।

भुमे गाउँपालिकाले पनि चैते दशैँ को अवसरमा बलि चढाए, भीडभाड गरे कारवाही हुने सूचना जारी गरेको छ । अहिले चाडपर्व नमनाउन आग्रह गरिएको र कसैले अटेर गरे कारवाहीका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा सिफारिससहित पठाइने प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए ।

प्रतिक्रिया