हुम्लामा पुग्यो कोरोना सम्बन्धी स्वास्थ्य सामाग्री

हुम्ला । हुम्लामा कोरोना संक्रमितको उपचारको लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिई पुगेको छ । नेपाल सरकारले प्रदेश सरकारसमक्ष हस्तान्तरण गरेको सामाग्रीलाई विकट मानिएको सडक सञ्जाल नजोडिएको हुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो । तत्काल प्रदेश सरकारले सडक मार्ग नछोएका जिल्लामा कोराना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई समस्या नहोस् भन्नको लागि पिपिई ल्याईएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले आफै आएर उक्त सामाग्री छोडेका छन् । जिल्लामा कोरोना नभित्रियोस् भन्नको लागि स्थानिय प्रशासनले समेत सजगता अपनाएको प्रमूख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । स्वास्थ्य सामाग्री, उपकरण नहुँदा स्वास्थ्यकर्मीको मनोबल बढाउन सकिएको थिएन ।

प्रत्येक स्थानिय तहले स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउनतर्फ लाग्नु पर्ने र यहाँ आएको सामाग्रीले स्वास्थ्य क्षेत्रमा काम गर्नको लागि सहयोग हुने प्रमूख जिल्ला अधिकारी भट्टराईको भनाई छ । लकडाउनको लागि जिल्लामा जति सक्दो कडाईका साथ लागू गरेको भएता पनि क्वारेन्टाईनमा राखेका वासिन्दा आफै भागेर जाने प्रचलन रहेकोले यसबाट केही सजगता अपनाउन र स्थानियले सहयोग गर्न तर्फ उन्मुख हुनुपर्ने उनले बताइन् । हाल स्थानिय तहमा समन्वयको खाँचो रहेको र स्थानिय तहले प्रशासनसँग समन्वय गर्न सकेमा हुम्लामा कोरोनाको रोकथाम हुने भट्टराईले बताइन् ।भौगोलिक जटिलता भएकोले गत फागुन २३ गते कोरोनाको ५० करोडको कोष स्थापना गरेको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

विपद् व्यवस्थापन समितिमा पनि हरेक जिल्लामा ५० लाख रकम निकाशा गरेको र जिल्ला स्वास्थ्य कार्यालय प्रमूखसँग भिडियो कन्फ्रेन्समा रकम आवश्यक भएको बताएपछि रु २५ लाख तथा आइशोलेसनमा रहेका बिरामीलाई समस्या नपरोस् भन्नको लागि चिनबाट प्राप्त भएको सामान हिमाली जिल्ला डोल्पा, मुगु र हुम्लामा पुर्याएको मन्त्री रावलको भनाई थियो । हाल प्रदेश सरकारले पनि कोरोना नियन्त्रणको लागि केही सामाग्री खरिद गर्न लागेको छ ।

छोटो समय अवधी ३ दिन भित्रमा स्थानिय तहमासमेत कोरोना नियन्त्रणका सामाग्री पुर्याउने व्यवस्था प्रदेश सरकारले गर्न लागेको मन्त्री रावले जानकारी दिए । सबै ठाउँमा सेवा प्रवाहको लागि हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरी जिल्लाको सर्केगाड र चंखेली हेर्ने गरी एउटा विशेषज्ञ टोली र ताँजाकोट, अदानचुली गाउँपालिकाको लागि एक समूह डाक्टर र नर्स सहितको टोली खटाईने तयारी भएको मन्त्री रावलले जानकारी दिए ।

जिल्लामा उपचारको लागि जनशक्तिको अभाव भएमा तुरुन्त नयाँ स्वास्थ्यकर्मीको व्यवस्था गर्न जिल्ला स्वास्थ्य कार्यलय स्थानिय प्रशासनलाई निर्देशन दिइएको थियो । स्थानिय स्वास्थ्य चौकीमा आईशोलेसन र क्वारेन्टाईनको व्यवस्था गर्न कन्जुस्याई नगर्नसमेत उनको निर्देशन थियो । स्वास्थ्यकर्मीको उत्साह बढोस् भनेर कोरोनाको रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई कर्णाली प्रदेश सरकारले शत प्रतिशत भत्ता, सुरक्षाकर्मीलाई ५० प्रतिशत थप भत्ताको व्यवस्था गरेको मन्त्री रावलले बताए ।

कोरोना नियन्त्रणको लागि हरेक घरधुरीका बासिन्दा लाग्नु पर्नेमा उनको जोड थियो । स्वास्थ्यकर्मीभन्दा स्थानिय बासिन्दाले अझ चनाखो भएर लाग्नुपर्नेमा मन्त्रीको रावलले जोड दिए । कर्णालीमा कोरोना नियन्त्रणको लागि कुनै पनि विकल्प नराख्ने मन्त्री रावलले बताए । खाद्य पदार्थको व्यवस्थाको लागि हवाई मार्ग र स्थल मार्गमार्फत ढुवानी गरेर कर्णालीका जनतालाई भोकै बस्नु पर्ने अवस्थाभन्दा टाढा राखिने, स्वास्थ्यको दृष्टिले पनि औषधी र जनशक्तिको अभाव पूरा गर्नको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । जनताको पक्षमा प्रदेश सरकार जस्तोसुकै आलोचना खप्न तयार रहेको मन्त्री रावलले बताए ।

कोरोना नियन्त्रणको लागि कर्णालीका जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी काम गरेकोे मूख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताए । विकासको लक्ष्य जति तल झरे पनि कर्णाली प्रदेश सरकार नआत्तिने र नागरिकको जिउधनको रक्षाका लागि सरकार लागीरहने मूख्य मन्त्री शाहीको भनाई छ ।

भारत र अन्य मुुलुकबाट आएका नागरिकलाई कुनै हिचकिचाहट नमानी क्वारेन्टाईनमा बसाल्न स्थानिय प्रशासनलाई उनले निर्देशन दिएका छन् । स्थानिय नागरिकलाई रोग प्रतिरोधी क्षमता बढाउनमा सबैले सकरात्मक उर्जा थप्न र निरासा हटाउनको लागि सबै तह लाग्नुपर्नेमा उनले जोड दिए । सूचना प्रवाह र जनचेतना जगाउनको लागि सञ्चार माध्यमको ठूलो भूमिका रहने भएकोले स्थानिय निकाय तथा प्रशासनले यसमा जोड दिनुपर्नै उनले विचार व्यक्त गरे ।

एक वडाबाट अर्कोमा जान रोक

कोरोना फैलन नदिनको लागि हुम्लाका ७ वटै स्थानिय तहले एक वडाबाट अर्को वडामा जान रोक लगाएका छन् । विशेष कामको लागि जान परेमा स्थानिय स्तरमा स्थापना भएका हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य जाँच गरी जानको लागि व्यवस्था गरिएको छ । सिमकोट गाउँपालिकाले २ वटा हेल्थ डेस्कको स्थापना गरी आवतजावतमा कडाई गरेको छ ।

त्यसैगरी अन्य पालिकामासमेत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानी थप बढाईएको छ । भारत, नेपालगञ्ज, सुर्खेतबाट कर्णाली प्रदेश सरकारले उद्धार गरी हुम्ला पर्याईएका हुम्लीवासीको लागि भने जिल्ला सदरमुकाम सिमकोटमा स्थापना गरिएको क्वारेन्टाईनमा बस्नको लागि अनुरोध गरिएको छ ।

स्थानिय प्रशासनले क्वारेन्टाईनको राम्रो व्यवस्था गरेको जानकारी दिएको भएता पनि नेपालगञ्जबाट जिल्लामा आएका ठरिक लामाले क्वारेन्टाईन स्थलमा सरसफाई लगायत अन्य व्यवस्था राम्रो नभएको बताए । भारतबाट नाम्खा गाउँपालिका वडा नं. १ हेप्काका ११ जना भने गाउँतर्फ गएका छन् । स्थानिय प्रहरी प्रशासनले निगरानी नराखेको कारण क्वारेन्टाईनमा बसेका व्यक्ति गाउँ भाग्ने गरेका छन् ।

प्रतिक्रिया