परीक्षाको घडी हो, सबै जिम्मेवार बनौँ

चीनको उहानबाट फैलिएको कोरोना भाइरसको नेपालमा गत जनवरी २३ मा पुष्टि भएको हो । चीनबाट आएका एक युवकको स्वास्थ्य परीक्षणबाट कोरोना पुष्टि भएको थियो । तर, उनी सन्चो भइसकेका छन् । त्यस यता नेपालमा चार जनामा कोरोना संक्रमण देखिएको छ । दुई जना बेल्जियम र फ्रान्स तथा दुई जना दुबईबाट आएका हुन् । कोरोना पुष्टि भएका चार जना बिरामी अहिले विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् ।

तर, यति वेला नेपालका निजी अस्पतालको व्यवहार हेर्दा थोरै पनि मानवीयता भएको पाइँदैन । नेपालमा कोरोना महामारीको रूपमा फैलिसकेको छैन । तर, यस्तो अवस्थामा यहाँका निजी अस्पतालले भने सामान्य रुघाखोकी र ज्वरोका बिरामीका लागि पनि ढोका बन्द गरिसकेका छन् । कोरोनाका लक्षण रुघाखोकी र ज्वरो हो । तर, के रुघाखोकी लाग्ने सबैलाई कोरोना नै भएको हो त ? भएकै भए पनि उनीहरूले उपचार पाउनु पर्दैन ? प्रश्न पेचिलो छ ।

यति वेला निजी अस्पतालको अवस्था हेर्दा ती मान्छे बचाउनका लागि होइन मात्रै पैसा कमाउन खोलिएका हुन् भन्ने भाव हुन थालेको छ । धेरैजसो निजी अस्पतालले यस्ता बिरामीको उपचार गर्न त परै जाओस् अस्पतालमा प्रवेश गर्ने पनि दिन छाडेका छन् । निजी मात्रै होइनन् सरकारी अस्पतालहरू पनि यसमा एकै लहरमा देखिएका छन् । उपचार गर्नुभन्दा अन्यत्र रेफर गरेर पन्छने प्रवृत्ति देखिन थालेको छ । अझ कतिसम्म सुनिँदै छ भने सामान्य रुघाखोकी र ज्वरोका बिरामीलाई बोर्ड मात्रै टाँगिएका ‘कोरोना विषेश अस्पताल’ मा रेफर गर्न थालेका छन्, जहाँ बोर्ड र बेडबाहेक केही सुविधा छैन ।

यसैको पछिल्लो उदाहरण हो बुटवल, चितवन र बारामा तीन युवकले केही दिनको फरकमा ज्यान गुमाउनु । गएको आइतबार बुटवलको कोरोना ‘विशेष अस्थायी आइसोलेसन अस्पताल’ सैनामैना नगरपालिकाका बाबुराम थापाको मृत्यु भयो । अस्पतालले सोही साँझ निकालेको विज्ञप्तीमा उनलाई बिहानदेखि एक्कासि श्वासप्रस्वासमा समस्या आएको थियो जबी उनको मृत्यु दिउँसो १ बजे भएको थियो । उनी दुबईबाट ६ चैतमा काठमाडौं आएर ७ गते परिवार भएको ठाउँ पुगेका थिए । ज्वरो बढेको र कोरोनाको संक्रमणसँग मिल्लोजुल्दो लक्षण देखा परेपछि उनी बुटवल हुँदै १३ गते साँझ लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए ।

त्यहाँ स्वास्थ्य परीक्षण गर्दा कोरोनाको सम्भावना भन्दै बुटवल धागो कारखानामा बनाइएको अस्थायी आइसोलेटेड अस्पतालमा भर्ना गरियो, त्यसको तीन दिनपछि बाबुरामको मृत्यु भयो । जहाँ ज्यान बचाउने आसमा उनका परिवारले लगेका थिए त्यहाँ उपचार उनले नै पाएनन् । अस्पतालले उनको उपचार गर्नुको साटो सुविधा नै नभएको धागो कारखानाको क्वारेन्टाइनमा पठाइएपछि उनले अनाहकमा ज्यान गुमाए । अस्पताल भनेको त अन्तिम समयसम्म मान्छे बचाउन प्रयास गर्नुपर्ने ठाउँ हो । तर, त्यहाँ त पन्छाउने बाहेक केही देखिएन । अनि कसरी जान्छ मान्छे क्वारेन्टाइन वा आइसुलेसनमा ?

यति मात्रै होइन आइतबार उनको मृत्यु भयो, स्वाब परीक्षणको रिपोर्ट पनि सोमबार आयो । जनस्वास्थ्य प्रयोगशालाले दिएको रिपोर्टमा उनमा कोरोना संक्रमण देखिएन । निमोनियाका बिरामीले अस्पताल र चिकित्सकको लापरबाहीमा ज्यान गुमाए । त्यसको जिम्मा कसले लिने ? उनले ज्यान गुमाएको आइसोलेसन अस्पतालमा निमोनियाका जटिल बिरामीहरूको उपचारका लागि अत्यावश्यक मानिएको भेन्टिलेटर होइन सामान्य आइसियु श्ययासमेत छैनन् । सामान्य निमोनियाका बिरामीले आइसुलेसनमा ज्यान गुमाए । उनको उपचार बेलैमा राम्रोसँग भएको भए उनी बाँच्न सक्थे होलान् । उनको परिवारले अभिभावक गुमाएको छ । त्यसको जिम्मा कसले लिने ?

अहिले देशैभरीका स्थानीय तहले कोरोना विशेष अस्पताल र क्वारेन्टाइन खोलेका छन् । तर, त्यहाँको सुविधा कस्तो छ ? बिरामीले उपचार पाउँछन् कि सास्ती ? प्रश्न गर्ने वेला भएको छ । केही दिनअघि भरतपुर महानगरपालिकाले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा वीरगञ्ज महानगरपालिका–२२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मृत्यु भयो ।

निमोनिया र रुघाखोकीको लक्षण देखिएपछि उनी उपचारका लागि चितवन मेडिकल कलेज पुगेका थिए । तर, त्यहाँ उपचार नै नगरी उनलाई कोरोनाको शंकामा कोरोना विशेष अस्पतालमा रेफर गरियो, त्यहीँ उनले ज्यान गुमाए । उनको मृत्युपछि आएको रिपोर्ट नेगेटिभ देखियो, उनमा कोरोनाको लक्षण देखिएन । उनको मृत्युको कारण लुपस भन्ने रोग रहेको अस्पतालले जनाएको छ । ९ चैतमा कोरोना विशेष अस्पताल लगिएका उनको १० चैतमा स्वाब काठमाडौं पठाइएको थियो । तर, उनले ज्यान गुमाएपछि मात्रै रिपोर्ट नेगेटिभ आयो ।

भरतपुर कोरोना विशेष अस्पतालले विज्ञप्ती जारी गर्दै लुपस नामक बिरामीका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेको बताएको थियो । सुविधायुक्त अस्पतालमा चिकित्सकको उच्च निगरानीमा उपचार गर्नुपर्ने बिरामीलाई भर्खरै खोलिएको अस्थायी अस्पतालमा लगिँदा उनको ज्यान गयो । आखिर कोरोनाकै शंकाको भरमा उपचार नपाएर अस्पताल डुल्दै ज्यान गुमाउँदै जानेको जिम्मा कसले लिने ?

यस्तै अर्को चर्चित अस्पताल छ वीरगञ्जमा नेसनल मेडिकल कलेज । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट बसरुद्धिन अन्सारीले सञ्चालन गरेको उक्त अस्पताले उपचार गर्न नमान्दा सोमबार एक बिरामीले ज्यान गुमाए । अस्पतालले बिरामीको उपचार गर्दिनँ भन्न पाउँछ कि पाउँदैन ? अस्पतालको काम बिरामीको उपचार गरेर ज्यान बचाउने हो कि बाँच्न सक्नेलाई मार्ने ?

उक्त अस्पतालले उपचार गर्न नमान्दा बारा कलैयाका २५ वर्षीय विजय कुशवाहको काठमाडौं ल्याउँदै गर्दा बाटैमा ज्यान गयो यसको जिम्मेवार अस्पताल हो कि होइन ? कुशवाहमा कोरोनासँग लक्षण मिल्ने संकेत देखिएको भन्दै उक्त कलेजले उपचार गर्न नमानेपछि उनलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भयो । त्रिवि शिक्षण अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरिदिए । वीरगञ्जले उपचार गर्न नमानेर टेकु अस्पताल लैजान भनेको थियो । उनले पनि उपचार नपाएर नै ज्यान गुमाए । उपचार हुँदाहुँदै ज्यान गुमाउनु एउटा कुरा तर, यहाँ त समान्य रोग लागेका बिरामीले पनी उपचार नपाएर नै ज्यान गुमाउनु पर्ने अवस्था देखियो ।

झापाको बिर्तामोडमा रहेको बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले आफ्नो अस्पताललाई कोरोनाका बिरामीको उपचारका लागि राज्यलाई दिने घोषणा गरेको केही दिनमै उनको अस्पतालले ज्वरोको उपचार गर्न गएका बिरामीलाई गेटबाटै फिर्ता पठाएको समाचार आयो । झापाको अर्जुनधाराका अजित तिवारीले डेढ वर्षीय छोरालाई ज्वरोसँगै झाडापखाला लागेपछि बी एन्ड सी पुगेका थिए । तर, त्यहाँ खटिएका गार्डले उनलाई अस्पताल छिर्नै नदिएको गुनासो तिवारीले गरेका थिए । अस्पताल के का लागि ? गर्मीको मौसम भएकाले पनि झाडापखाला वा अन्य रोग लाग्न सक्छ । के अब सबैलाई कोराना भाइरस मात्रै हुन्छ ? जँचाउनु पर्दैन ?

सुनिँदै छ चिकित्सकहरू बिरामी देखेर डराउन थालेका छन् । यदि त्यसो हो भने किन पढेको मेडिकल ? मृत्युसँग लडिरहेकोलाई बचाउनु डाक्टरको कर्तव्य हो, त्यसैले त कतिपय मान्छेहरू डाक्टर त भगवान्भन्दा पनि ठूलो मान्छे भनेर सम्मान गर्छन् । हो यति वेला तिनै निजी अस्पताल र चिकित्सकको जाँज गर्ने वेला भएको छ । मोर्चाबाट पिठियँु फर्काएर भाग्ने कि आफूसँग भएको ज्ञान, सीप क्षमता र प्रविधिले मृत्युसँग लडिरहेकालाई बचाउने ?

यी केही उदाहरण हुन्, अरू पनि धेरै उदाहरण छन् । राजधानी काठमाडौंमै नाम चलेका ठूला भनिने अस्पतालले बिरामी लिन नमानेमा समाचार बग्रेल्ती आएका छन् । धनगढीमा रहेको क्वारेन्टाइनमा एक युवाले भोगेको पीडा कम दुःखका छैनन् । एम्बुलेन्सले बिरामी बोक्न छाडेको समाचार आइरहेको छ । स्वास्थ्यकर्मीले डेरामा छिर्न नपाएको पीडा कम छैन । जे होस् यति वेला हामी मात्रै होइन विश्व कोरोना भाइरसको आक्रान्तमा छ । यसको प्रतिवाद गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार हुनपर्छ ।

अस्पताल बिरामीको रोग निको पार्ने स्थल बनोस् । कहिलेकाहीँ चिकित्सकको व्यवहारले पनि रोगलाई कमजोर पर्छ, त्यसमा ख्याल गरियोस् । कोरोना सुन्दै मान्छे आत्तिन्छ । त्यसैले क्वारेन्टाइन वा आसुलेसन यातना गृह जस्तो भएको सन्देश बाहिर जाँदै छ त्यसलाई रोक्ने र बिरामीले आत्तिएर होइन आस्वस्त भएर उपचार गर्ने व्यवस्था मिलाइओस् । रातदिन खट्ने चिकित्सकको मनोबल उच्च हुने गरी सेवा सुविधासहित काम गर्ने वातावरण बनोस् । हामी सबै परीक्षाको घडीमा छौँ को कहाँ कति जिम्मेवार बन्ने ?

प्रतिक्रिया