काठमाडौंमा खानेपानीको अभाव कम

काठमाडौं । यो महिना वर्षको सबैभन्दा कम पानी उत्पादन हुने महिना भए पनि काठमाडौं उपत्यकामा खानेपानीको अभाव यो वर्ष अघिल्ला वर्षहरुमा भन्दा कम भएको छ । कोभिड–१९ को त्रासका कारण धेरैले सरकारले लकडाउन घोषणा गर्नु पहिले नै उपत्यका छाडेकाले यो वर्ष पानीको अभाव कम भएको हो ।

काठमाडौं उपत्यकामा हालको स्रोतले वर्षामा समेत मागअनुसार पानी वितरण हुन सक्दैन । चैत, वैशाखको महिना वर्षभरमै सबैभन्दा कम पानी हुने महिना भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । लिमिटेडले हाल क्षमतानुसार पानी वितरण गरिरहेको प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

भूकम्पका समयमा घरभित्र जान त्रासका कारण ट्यांकरबाटै बढी पानी वितरण गरिएकामा लिमिटेडले अहिले भने घरमै पानी पुर्याउन लागिपरेको छ । लिमिटेडले सार्वजनिक ट्यांकीबाट पनि पानी ग्राहकका घर घरमा जाने पाइपमै पठाउने गरेको छ । उनले भने, ‘सार्वजनिक धारामा मानिसको भीडभाड हुनसक्ने भएकाले हामीले सकेसम्म बढी पानी घर घरमै पठाइरहेका छौँ ।’

कर्मचारीलाई आवश्यक सावधानी अपनाएर फिल्डमा काम गरिरहेको उनले बताए । कर्मचारी फिल्डमा जान जोखिमपूर्ण भएकाले उपलब्ध भएसम्ममा सुरक्षा सामग्री दिइएको उनले बताए । उनले भने, ‘हामीले मास्क र पञ्जा र सेनिटाइजर दिए पनि एप्रोन दिन सकिएको छैन ।’ काठमाडौं उपत्यकामा अहिलेको अवस्थामा सुख्खा मौसममा दैनिक नौ करोड लिटर पानी लिमिटेडले वितरण गर्दै आएको छ ।

प्रतिक्रिया