कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता

जाजरकोट । नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षालाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ । नलगाड नगरपालिकाभित्रका घर भाडामा लिएर व्यापार गर्ने अन्य सेवा दिने व्यवसायीलाई एक महिनाको भाडा छुट गर्नेसमेत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।

कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपद् व्यवस्थाप कोषमा २१ लाख रकम जम्म गर्ने, कर्मचारीको तलब पाइरहेको तलबबाट थप ५० प्रतिशत जोखिम भत्ता थप गर्ने, स्वास्थ्य संस्थामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तीन हजार जोखिम भत्ता दिने, नियमित काममा खटिने सुरक्षाकर्मीको उच्च मनोवल बनाउका लागि दुई हजार ५०० खाजा भत्ता उपलब्ध गराउने उनले जानकारी दिए ।

कोरोना रोकथाममा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मीचारीका लागि पाँच लाखको जीवन बीमावापतका लागि छुट्याएको छ । औषधि उपचारका लागि ५० हजारसमेत विनियोजन गरिएको अधिकृत सिंहले जानकारी दिए । त्रिभुवन मावि दल्लीमा क्वारेन्टाइन बनाउने निर्णय गरिएको छ । आवश्यक औषधि खरिद गर्न व्यवस्थापन गर्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

वडा–वडाका समितिलाई थप प्रभावकारी बनाउ अनुगमन तथा निगरानी गरिने उनको भनाइ छ । बाँचेर मात्र संसार देख्न सकिने भएकाले नगरभित्र कोही, कसैले जुवातास, माछा मार्ने कामलगायतमा जम्मा भएर लकडाउनको पालना नगर्नेलाई हदैसम्मको कारवाही गर्ने प्रमुख रावलले जानकारी दिए ।

भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको लगत संकलन कार्य जारी रहेकाले सो कार्यको जानकारी दिन नगरवासीलाई आग्रह गरिएको छ । सूचना लुकाएर सबैलाई जोखिम तथा समस्यामा नपार्न उनको आग्रह छ । त्यस्तै, जुनिचाँदे गाउँपालिकाले कोरोना भाइरसबाट जोगिन र जोगाउन गाउँपालिकाका सबै नागरिकलाई साबुन बाँड्न लागेको छ ।

साबुनपानीले हात धुन सजिलो होस् भनी गाउँपालिकाको बैठकबाट यो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । तत्काल एम्बुलेन्स खरिद गर्ने निर्णय भएको अधिकृत शाहीले जानकारी दिए । गाउँपालिकाभित्र काम गर्ने स्वास्थ्यकर्मी बिना स्रोत र साधन काम गरिरहेकाले सो समस्या समाधान गर्न प्रदेश र संघीय सरकारसँग सम्पर्क बढाउने बताइएको छ ।

दुर्गममा पर्ने जुनिचाँदे गाउँपालिकामा अहिले दुई ठाउँमा सहायताकक्ष स्थापना भएकाले सबै ठाउँमा तत्काल स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने उनले जानकारी दिए । पैसा भएर पनि साधन नपाएको भन्दै शाहीले भने, ‘अब युद्धस्तरमा काम हुन्छ, हामीसँग भएको स्रोत साधनबाट तत्काल काम चलाउनुपर्ने बाध्यता छ, कोही पनि यो समस्याको घडीमा नआत्तिएर काम गर्न आग्रह गर्दछु ।’

विदेशबाट आएका ३७ विद्यालयको क्वारेन्टाइनमा भारत तथा अन्य मुलुकबाट आएका ३७ जनालाई जुनिचाँदे गाउँपालिकाले विद्यालयमा क्वारेन्टानमा राखेको छ । गाउँपालिकाभरि विदेशबाट आएकाको रगत संकलन कार्य सकाएर आज सबैलाई विद्यालयको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए ।

वडा १ मा दुई, २ मा छ, ३ मा छ, ५ मा दुई, ६ मा नौ, ८ मा एक, ९ मा पाँच र ११ मा पाँच जनालाई ११ विद्यालयमा बनाएको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका सबैको खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने जनाइएको छ । भारतबाट ३४ र तीन जना अन्य मुलुकबाट आएको बताइएको छ । वडा ११ का तीन जना अन्य मुलुकबाट आएका हुन् ।

प्रतिक्रिया