गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिँदै

प्यूठान । नौबहिनी गाउँपालीकाले दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएका बिपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न दिने भएको छ । शुक्रबार बसेको आकस्मिक कार्यपालिका र कर्मचारीहरूको संयुक्त बैठक बसी मजदुरलाई खाद्यान्न पुर्याउने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए । पालिकाभित्र रहेका दैनिक ज्यालादारीमा मजदुरी गर्दै आफ्नो दैनिकी गुजारा गर्ने अति बिपन्न गरिब परिवारलाई यस्तो राहत कार्यक्रम लैजान लागेको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउन भइ ठप्प भएको अवस्थामा दैनिक ज्यालादारीमा श्रम गरी दैनिक गुजारो टार्ने बिपन्न परिवारका लागि समस्या भएको भन्दै उनीहरूलाई परिवारको सदस्य संख्याका आधारमा २५ किलोग्रामदेखि ५० किलोग्रामसम्म चामल, पाँच किलो दाल नुन, तेललागाएत अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने निर्णय भएको गाउँपालीकाका अध्यक्ष शिवराज रिजालले जानकारी दिए ।

गाउँपालिकाका ८ वटै वडामा पहिलो चरणमको प्याकेज अन्तरगत दुई सय क्वीन्टल चामल र २० क्वीन्टल दाल नुन, तेल वितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । राहत स्वरूप खाद्यान्न वितरण कार्य वडाध्यक्षको समन्वयमा वितरण गरिने छ । अहिले गाउँपालीकाभित्र रहेका विपन्न परिवारको लगत तयार गर्न वडा कार्यालयलाई पत्राचार गरिएकोले लगत संकलनको काम भइरहेको प्रमुख भण्डारीले जानकारी दिए । पालिकास्तरीय विपद् व्यवस्थापन कोषबाट रकम खर्च हुने गरी खाद्यान्न दिइने स्वास्थ्य संयोजक ऋषिराम शर्माले बताए ।

प्रतिक्रिया