तनहुँमा विदेशबाट फर्किएका २९७ जना होम क्वारेन्टाइनमा

तनहुँ । तनहुँमा दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २९७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार ती व्यक्तिहरू सुरक्षितरूपमा घरमा नै बसिरहेका छन् । जिल्लाका प्रत्येक वडामा पुगेर जनप्रतिनिधिले विदेशबाट आउनेको विवरण संकलन गरिरहेका छन् ।

नजिकका स्वास्थ्य संस्थामा उनीहरूको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि होम क्वारेन्टाइनमा राखिएको अधिकारीले जानकारी दिए । ‘कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको छैन, तैपनि विदेशबाट आएको हुनाले सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ,’ अधिकारीले भने ।

जिल्लाका ३४ स्थानमा क्वारेन्टाइन बनाइएको छ । तर, ती क्वारेन्टाइनमा भने अहिलेसम्म कसैलाई पनि राखिएको छैन । त्यस्तै व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

भीमाद नगरपालिकामा विदेशबाट फर्किएका ९८ जना होम क्वारेन्टाइनमा बसेका छन् । ती व्यक्ति विभिन्न १३ देशबाट दुई साताको अवधिमा घर फर्किएको खुल्न आएको छ । यस्तै, कोरोना सङ्क्रमित १९ वर्षीय युवती सवार कतार एयरवेजमा तनहुँका एक यात्रु भएको पुष्टि भएको छ । उक्त उडानमा तनहुँको भीमाद घर भई पोखरा बस्ने गुरुङ थरका एक व्यक्ति रहेको पुष्टि भएको र उनी हाल पोखरामा क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

त्यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा विदेशबाट फर्किएका ६५ जना भेटिएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवका अनुसार नगरपालिकाको १२ वटै वडामा विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरिएको छ । भारत, दुबई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलंका लगायतबाट उनीहरू घर फर्किएका छन् ।

उनका अनुसार शुक्लागण्डकी नगरपालिका–१ मा तीन, वडा नं २ मा एक, वडा नं ३ मा आठ, वडा नं ४ मा एक, वडा नं ६ मा पाँच, वडा नं ७ मा नौ, वडा नं ८ मा सात, वडा नं ९ मा छ, वडा नं १० मा १७, वडा नं ११ मा एक र वडा नं १२ मा सात जना विदेशबाट फर्किएका छन् । वडा नं ५ को तथ्यांक संकलन गर्ने काम भइरहेको छ । ‘हालसम्म उनीहरु सबैको अवस्था सामान्य रहे पनि सबैलाई सुरक्षितरूपमा होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौँ’, श्रीवास्तवले भने ।

म्याग्दे गाउँपालिकामा विदेशबाट फर्किने १७ जना भेटिएका छन् । म्याग्दे गाउँपालिका–१ मा दुई, वडा नं २ मा सात, वडा नं ४ मा तीन, वडा नं ५ मा दुई, वडा नं ६ मा दुई र वडा नं ७ मा एक जना विदेशबाट फर्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । उनीहरु भारत, जापान, अष्ट्रेलिया, साउदी, कतारबाट फर्किएका हुन् । उनीहरुलाई स्वास्थ्य परीक्षणपछि घरमै सुरक्षितरूपमा बस्न आग्रह गरिएको नागिलाले जानकारी दिए ।

सर्वसाधारणलाई मास्क वितरण

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले वडाभित्रका सर्वसाधारणलाई मास्क र हात धुने साबुन वितरण गरेको छ । कोभिड–१९ को संक्रमणबाट जोगाउन वडा कार्यालयले वडाभित्रका सबै घरधुरीलाई मास्क वितरण गरेको हो ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि वडाभित्रका एक हजार ३०० घरधुरी तथा सार्वजनिक स्थलमा गरी तीन हजार २०० मास्क निःशुल्क वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार ४०० घरमा हात धुने साबुन पनि वितरण गरिएको छ ।

वडाले वितरण गरेको मास्क वडाभित्रकै महिलाहरूले सिलाएका हुन् । वडा कार्यालयले कपडा उपलब्ध गराएपछि चार दिन लगाएर महिलाहरुले मास्क सिलाएको रेग्मीले जानकारी दिए । ‘वडाबाट गत आर्थिक वर्षमा सिलाइकटाइ तालिम लिएका महिला दिदीबहिनीले स्वंयसेवीका रूपमा मास्क सिलाउन सहयोग गर्नुभयो’ रेग्मीले भने ।

वडाकै पहलमा गाउँफर्कोदय माध्यमिक विद्यालयको तीन वटा कोठालाई क्वारेन्टाइन बनाइएको छ । विदेशबाट फर्किएकालाई सुरक्षितरूपमा राख्न क्वारेन्टाइन निर्माण गरिएको रेग्मीले जानकारी दिए । ‘एक साता अगाडि पाँच जना विदेशबाट फर्किएका छन्, अस्पतालमा परीक्षण पश्चात् उनीहरु होम क्वारेन्टाइनमा छन्,’ उनले भने, ‘विदेशबाट फर्किएका अरु पनि हुनसक्ने भएकाले टोल विकास संस्थामार्फत् तथ्यांक लिने काम भइरहेको छ ।’ उनीहरुको आधारभूत स्वास्थ्य केन्द्रमार्फत् नियमित स्वास्थ्य परीक्षण गरिनेछ ।

वडाभित्र घर नभएका तर भाडामा बस्ने, विदेशबाट फर्किएका र स्थानीयवासीमा पनि कोरोना सङ्क्रमणको प्रारम्भिक लक्षण देखिएमा विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । वडाध्यक्ष रेग्मीले सुरक्षित र सतर्कताका साथ क्वारेन्टाइनमा राखी त्यस्ता शंकास्पद व्यक्तिको उपचारको व्यवस्था मिलाइने जानकारी दिए ।

मजदुरलाई खाद्यान्नको व्यवस्था

दैनिक ज्यालादारी गरेर गुजारा टार्ने मजदुरलाई तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले खाद्यान्नको व्यवस्था गर्ने भएको छ । वडाका जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका ढोरफिर्दीका पदाधिकारीको बिहीबार बसेको संयुक्त बैठकले विपन्न मजदुरका लागि खाद्यान्नको व्यवस्था गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि सरकारले मङ्गलबारदेखि लकडाउन गरेपछि छाक टार्न मुस्किल मजदुरलाई खाद्यान्न सहयोग गर्न लागिएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।

दैनिक ज्याला मजदुरी गरी खाने मजदुरहरु वडाभित्र अत्यधिक रहेको पाइएकाले लकडाउनको अवधिमा उनीहरूको परिवारलाई साँझ बिहानको छाक टार्न धौधौ हुने परिस्थिति सिर्जना हुने भएकाले उनीहरूलाई सहयोग गर्न आपतकालीन राहत कोष खडा गरिएको रेग्मीले जानकारी दिए । ‘आर्थिकरूपमा विपन्न मजदुरको तथ्यांक संकलन शुरु गरिसकेका छौँ’, रेग्मीले भने, ‘उनीहरूलाई १५ दिनको लागि खान पुग्ने खाद्यान्न सहयोग गर्छौँ ।’ रेग्मीका अनुसार टोलविकास संस्थामार्फत् दैनिक ज्यालामजदुरी गर्नेहरूको विवरण तथ्यांक लिने काम भइरहेको छ ।

उक्त कोषमा वडाका जनप्रतिनिधिले १५ परिवारका लागि र रेडक्रस ढोरफिर्दीले १० परिवारका लागि खाद्यान्न सहयोग गर्ने घोषणा गरेका छन् । ‘लकडाउनका कारण मजदुरले काम गर्न पाएका छैनन्, लकडाउन अझै कति दिन लम्बिन्छ निश्चित नभएकाले उनीहरुलाई सहयोग गर्नु कर्तव्य हो,’ वडाध्यक्ष रेग्मीले भने ।

उक्त कोषमा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ । मजदुरलाई खाद्यान्न वितरणको व्यवस्थालाई पारदर्शी बनाइनेछ । सामान्यतया एक परिवारका लागि १५ दिनको लागि पुग्ने ३० केजी चामल, एक लिटर तेल, तीन केजी दाल, साबुन, दाँत माझ्ने सामग्री वितरण गरिनेछ ।

यसैबीच उक्त राहत कोषमा जीव जुना मेमोरियल बोर्डिङ विद्यालयका संस्थापक तथा निर्देशक सोमप्रसाद पौडेलले ५० घरपरिवारका लागि आवश्यक खाद्यान्न सामग्री सहयोग गर्ने घोषणा गरेका छन् । यस्तै शुक्लागण्डकी नगरपालिका–३ ले पनि मजदुरलाई खाद्यान्नको व्यवस्था गर्न विपन्न मजदुरको तथ्यांक संकलन गरिरहेको वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया