नेपाली खेलाडीको अभेद्य चार विश्व कीर्तिमान !

काठमाडौं । विश्व क्रिकेटमा कीर्तिमान बन्ने र तोडिने क्रम चलिरहन्छ । केही कीर्तिमान छिट्टै तोडिन्छन् भने केही लामो समय लाग्छ । केही पुनः तोडिन असम्भव देखिन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको पुरुष टोलीले दुई र महिला टोलीले प्रतिस्पर्धा गर्न थालेको एक दशक पुग्दा केही यस्तै कीर्तिमान कायम गरेका छन् । कीर्तिमान बनाउन उत्कृष्ट प्रर्दशन गर्नुपर्छ । जसले समर्थकमाझ खेल र खेलाडीको लोकप्रियता पनि बढ्छ । नेपालका खेलाडीले बनाएका यी ४ कीर्तिमान जो अब तोडिन लगभग असम्भव छ ।

दुई बलमा जित
सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । ५० ओभरको खेल, ११ रनको लक्ष्य अनि २ बलमै विजयी । सन् २००६ मा म्यानमारविरुद्ध नेपालले यस कीर्तिमान कायम गरेको थियो । टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले महबुब आलमले ७ र बिनोद दासले ३ विकेट लिएपछि म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भएको थियो । ११ रनको लक्ष्य नेपालले दुई बलमा पूरा गर्दै अकल्पनीय कीर्तिमान रचेको थियो । ५ रन एक्स्ट्रास्वरूप उपहार पाएपछि २ बलमै नेपालको जित सम्भव बनेको थियो ।

ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले समान १–१ बलमा ३–३ रनमा नटआउट रहेका थिए । आधुनिक क्रिकेटमा विपक्षीलाई १० रनमा अलआउट गर्नै असम्भव छ । पछिल्लो एक दशकमा एसोसिएट टोलीले राम्रो विकास गरिरहेका छन् । जसले गर्दा २ बलमै जित निकाल्न कठिन देखिन्छ । क्रिकेटको सुरुवाती अवस्थामा रहेका टर्की, चीनले पनि २०–३० रन बलियो टोली विरुद्ध बनाइरहेका छन् । नेपालको कीर्तिमान तोड्न एक बलमै जित निकाल्नुपर्छ । जुन असम्भव छ ।

रुविनाको एकै ओभरमा ५ विकेट
सन् २००९ मा मलेसियामा एसिसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपालले सिंगापुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ७९ रन बनाएको थियो । जवाफी ८० रनको लक्ष्य पछ्याएको सिंगापुरको नाटकीय विकेट पतन भयो । कप्तान रुविना क्षेत्रीले मलेसियाको पिचमा कमालको प्रदर्शन गरिन् ।

रुविनाले अन्तिम ओभरमा लगातार पाँच विकेट लिँदै जित दिलाइन् । रुविनाले दोस्रो, तेस्रो, चौथो, पाँचौ र अन्तिम बलमा लगातार विकेट लिएकी थिइन् । उक्त प्रदर्शनसँगै रुविना पहिलो पटक ह्याट्रिक गर्ने नेपाली महिला खेलाडीसमेत बनिन् । साथै महिला टी–२० क्रिकेटमा एकै ओभरमा लगातार ५ विकेट लिने पहिलो महिला क्रिकेटरको रेकर्डसमेत आफ्नो नाममा लेखाइन् । जुन कीर्तिमान तोड्न ६ बलमा ६ विकेट लिनुपर्छ । जुन असम्भव देखिन्छ ।

महबुबको एकै खेलमा १० विकेट
सन् २००८ मा जर्सिमा डिभिजन ५ लिगमा मोजाम्बिकविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले निर्धाति ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । २ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको मोजाम्बिक १४.५ ओभरमा अल आउट हुँदै १९ रनमा समेटियो ।

महबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिए । उनले त्यसवेला ५ ब्याटम्यान बोल्ड,४ एलबीडब्लू र १ क्याच आउटको सिकार बनाएका थिए । महबुब सिमित ओभरमा एकै खेलमा १० विकेट लिने पहिलो खेलाडी बने र गिनिज बुकमा नाम लेखाएका थिए । जुन कीर्तिमान अब तोडिन असम्भव छ ।

अञ्जलीको ६ विकेट
अञ्जली चन्दले १३ औँ दक्षिण एसियाली खेलकुद सागमा पुषमा पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध अविश्वसनिय कीर्तिमान कायम गरिन् । ४ वर्षपछि सिनियर टोलीमा पुनरागमन गरेकी चन्दले टि–ट्वान्टी आईको डेब्यू खेलमै माल्दिभ्सविरुद्ध २ ओभरमा कुनै रन नदिई ६ विकेट लिएपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो ।

अञ्जलीले ४ ब्याट्सवुमेनलाई क्याच र २ लाई बोल्ड आउट गरिन् । उनले नवौँ ओभरको पाँचौँ र छैटौँ तथा ११ औँ ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन् । जुन प्रर्दशन टि–ट्वान्टी आईकै सर्वोत्कृष्ट हो । जुन कीर्तिमान तोडिन कुनै रन नदिइ ७ विकेट लिनुपर्छ । जसले टि२० क्रिकेट जगतमा असम्भव देखिन्छ ।

प्रतिक्रिया