मोदीको कदम सह्रानीय

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले विश्वव्यापी समस्या बनेको कोरोना भाइरसविरुद्ध लड्न सार्क मुलुकले साझा रणनीति बनाउन प्रस्ताव गरेका छन् । उनको यो कदमको नेपालले स्वागत नगर्ने त कुरै थिएन । पाकिस्तानले पनि सकारात्मकरूपमा लिनु उत्साहजनक कुरा हो । विपत्तिले पनि छिमेकीलाई मिलेर बस्न बाध्य बनाउँछ । बुद्धिमान छिमेकीले त विपत्तिको सामना मिलेरै गर्छन् । विश्व महामारीको सामना गर्न दक्षिण एसियालीस्तरमा रणनीति बनाउने प्रस्ताव गर्नु सायद यस्तै छिमेकीको कर्तव्यबोध हो । सार्कको वर्तमान अध्यक्ष भएका नाताले यो अग्रसरता र प्रस्ताव नेपालको तर्फबाट हुनुपथ्र्यो । आखिर जसले पहिले पहल गरे पनि यही बहानामा सार्कले पुनर्जीवन पायो भने यस क्षेत्रका लागि लाभदायी नै हुनेछ । यसैले भारतका प्रधानमन्त्री मोदी संकटका बेलामा भए पनि दक्षिण एसियाको साझा भाग्य र भविष्य सम्झेकाले धन्यवादका पात्र भएका छन् । साझा भूगोल र सामाजिक सम्बन्धका कारण नेपाल र भारतमा हुने प्रयासको सफलता वा असफलताको असर दुवै देशमा पर्छ ।

करिब तीन मिहनाअघि चीनको वुहान प्रान्तमा सुरु भएको कोरोना भाइरस (कोभिड –१९) ले लगभग पूरा विश्वमा हल्लीखल्ली मच्चाइरहेको छ । चीनपछि युरोपियन देश इटाली र पश्चिम एशियाको इरानमा यसले भयानकरूप देखाएको छ । आजका मितिसम्म यसले विश्वका १ सय ३८ देशमा त्राहिमाम बनाएको छ । यसले हजारौँको ज्यन लिइसकेको छ । दक्षिण एसियामा नेपाल र भारत यस्ता देश हुन जहाँ एकअर्का देशका नागरिक निर्बाध आवागमन गर्दछन् । नेपाल भारतसंग धेरै कुरामा निर्भर छ । यसले भारतीय प्रधानमन्त्री मोदीको यो प्रस्ताव नेपालीका लागि अझ महत्वपूर्ण रहेको छ ।

भूकम्पले थिलथिलो भएको नेपालमाथि नाकाबन्दी लगाउँदा पनि यिनै नरेन्द्र मोदी भारतका प्रधानमन्त्री थिए । केही दिन पहिले पनि भारतले नेपालको आफूमाथिको निर्भरतालाई बेवास्ता गरेर औषधिलगायतका केही अत्यावश्यक वस्तुको निर्यात रोकेको छ । यसैले प्रधानमन्त्री मोदीको प्रस्ताव ट्विटको सामग्रीमात्र त हैन भन्ने सन्देह पनि हुन्छ । प्रधानमन्त्री मोदी साँच्चै नै संवेदनशील हुन्थे कूटनीतिक माध्यमबाट यसलाई अगाडि बढाइसकेको हुनुपर्ने हो । अझै समय छ । दक्षिण एसियाको नेता हुने हो भने भारतले उदार हृदय देखाउनु जरुरी छ । नेपालले भारतको प्रस्तावको स्वागत गरिसकेको छ । कूटनीतिक शिष्टाचारका लागि पनि सायद जरुरी भएरै अस्पतालको शैयाबाटै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीको प्रस्तावको स्वागत गरेको हुनुपर्छ । भारतसँग सहकार्य गर्न तत्पर रहनुपर्छ तर भर पर्नु हुँदैन भन्ने इतिहासले पढाएको पाठ भने बिर्सनु हुँदैन । नेपालले संक्रमण नियन्त्रण र स्वास्थ्य सेवामा पहुँच बढाउन गर्नुपर्ने प्रयास जारी राख्नुपर्छ ।

प्रतिक्रिया