कतिपय कलाकारको चरित्र विचित्रको देखिन्छ

गणेशकुमार जिसी, कलाकार तथा लेखकका रूपमा परिचित हुनुहुन्छ । विगत तीन दशकदेखि कलाकर्ममा लागिरहनुभएका जिसीले नेपाली संस्कृति, प्रकृति तथा समाज रूपान्तरणका विविध आयाम झल्किने कलाकृति रचना गर्दै आउनुभएको छ । पिँधमा पािरएका मानिसका विषयवस्तु कलामा आउनुपर्छ भन्ने मान्यता राख्ने जिसीले सांस्कृतिक रूपान्तरणविना राजनीतिक परिवर्तन संस्थागत हुन नसक्ने विचार व्यक्त गर्नुहुन्छ । नेपाली कलाको विकास आशातितरूपमा अघि बढे पनि सामाजिक रूपान्तरणका पक्षमा काम गर्न भने बाँकी नै रहेको जिकिर गर्दै उहाँले कला समाजका निम्ति हुनुपर्ने तर्क गर्नुहुन्छ । नेपाली ललितकलाका विविध विषयमाथि केन्द्रित रही देवेन्द्र थुम्केलीले जिसीसँग गरेको संक्षिप्त कुराकानीः

० नेपाली कलाको अवस्था कस्तो पाउनुहुन्छ ?
–नेपाली कला आशा उन्मुख छ । समयका पदचाप अनुरूप गतिशील छ तर, समृद्धिका लागि नेपालीपनमा आधुनिकता जरुरी छ न कि अरूको नक्कलमा ।

० सामाजिक रूपान्तरणमा कलाको भूमिका कस्तो हुनु पर्दछ ?
–कला आफँैमा साध्य होइन यो साधन हो । समाजको रूपान्तरण गर्न संस्कृतिको बलियो माध्यम कला हो । अनेकन राजनीतिक परिवर्तनहरू संस्थागत हुन नसक्नु, आन्दोलन र क्रान्तिका उपलब्धिहरू धरासायी हुँदै जानुमा मूलतः त्यसका हकदारहरू स्वयंमा रूपान्तरण हुन नसक्नाले हो । नेतृत्वको जीवनशैली, त्याग, आचरण नै मूलतः समाज रूपान्तरणको ‘रोममोडल’ हुन सक्छ । स्वयं सांस्कृतिकरूपमा विचलित अगुवाबाट नै आजसम्मका उपलब्धिहरू सही ढंगले बचाउन कठिन भएको हो ।

अनेकन् नामका परिवर्तन हुनु तथापि हाम्रो समाजको समग्र चिन्तन जहाँको तहीँ हुनु गम्भीर समस्या हो । यसको समाधानका निम्ति हाम्रा कलाका विषयले सही ढंगले समस्याहरूको पहिचान गर्न सक्यो भने, समाधानका उपायहरूसमेत बिम्ब र प्रतीकहरूमा प्रकट हुन सक्यो भने, त्यस्ता कलाकृतिको प्रदर्शनी, अन्तरक्रिया आममान्छेसम्म पुग्न सक्यो भने अवश्य नै कलाको शक्तिशाली भूमिकाले समाजले धेरै लाभ प्राप्त गर्न सक्छ । यसका लागि कलाकृति र स्वयं कलाकार पनि सामाजिक दायित्वप्रति सचेत हुनुपर्दछ ।

० के नेपाली कलाले त्यो भूमिका निर्वाह गरेको छ त ?
–यसलाई सापेक्षितरूपबाट हेर्दा नै उपयुक्त हुन्छ । कला के का लागि भन्ने प्रश्नको उत्तरले नै यसको ठीक जवाफ आउँला । किनकी नेपाली कलाको लामो परम्परा धार्मिक दर्शनसँग जोडिएको छ । अर्कोतर्फ मेरो कलाको दायित्व के हो भन्ने चेतबाट बाहिरै रहेर यसलाई रोजिरोटीसँग मात्र जोड्ने बाध्यात्मक परम्पराले पनि सामाजिक दायित्वलाई गौण बनाइदिन्छ ।

यद्यपि, निरंकुशताको विरोधमा सर्वस्वहरणसहित जेलनेल भोगेका चन्द्रमान सिंह मास्के र त्यस यताका सामाजिक राजनीतिक आन्दोलनमै होमिएर पनि नेपाली कलाकार, तिनका कलाकृति र सिर्जनात्मक प्रतिरोधात्मक गतिविधिले हाम्रो समाजको परिवर्तनका वेला एकाकार हुनसकेको इतिहासले देखाउँछ ।

० खासगरी नेपाली कलाकार शक्तिकेन्द्र वा सत्तासँग प्रायः नजिक रहे । तिनले सामाजिक परिवर्तनका पक्षमा खासै कलाकृति बनाएको देखिँदैन नि !
–हाम्रो समाजको आम चरित्रकै सापेक्षमा नेपाली कलाकारको चिन्तन पनि समाहित छ । समाजलाई डो¥याउनु पर्ने सिर्जनाकर्मीहरूको प्रवत्ति अलि माथि उठेर आफ्नो दृष्टिकोणमा निरन्तर अडिन नसक्नु एक किसिमले लज्जाको विषय हो । कुन कलाकार कुन विचार पक्षको हो खुट्याउन गारो छ । ०४६ सालको परिवर्तन वरिपरिदेखि आजसम्मको अवस्था हेर्दा कतिपय कलाकारको चरित्र विचित्रको देखिन्छ । एकै समय पनि ऊ दोहोरो चरित्रमा भौतारिइरहेको छ । यसको मूल कारण अवसरवाद नै हो ।

कतिपय त अवसरका निम्ति जतिवेला जे पनि चटक देखाइरहेको देखिन्छ । न उसका गतिविधिमा निरन्तरता छ न उसका सिर्जनकर्ममा इमानदारिता आम मान्छेको चेतनासँग कसरी जोडिने भन्ने थाहा नहुँदा वा थाहा पाउँदा पाउँदै पनि ऊ व्यक्ति रिझाउन र अवसर हत्याउन तल्लीन छ । यस्तो लतमा फसेपछि मान्छेले कसरी अरूका निम्ति काम गर्छ । तैपनि कतिपय नेपाली कलाकार सामाजिक दायित्वलाई आत्मसम्मानका रूपमा कर्म गरिरहेका छन् तर, अवसरवादीहरू नै हाबी छन् ।

० नेपाली कलाकारले विशेषगरी कलामार्फत चेतनाभन्दा पनि गरिबीको व्यापार गरेको जस्तो लाग्दैन ?
–सस्तो लोकप्रियताका निम्ति स्टन्ट गरिरहनेहरूलाई त गरिबमात्रै भनेर नपुग्ला ! यद्यपि, आजीविकाका निम्ति कलामै आफ्नो जीवनलाई समर्पण गर्नेहरूलाई हामीले प्रोत्साहन र सम्मान गर्नुपर्छ । तर, उनीहरूबाट पनि समाजले लाभ लिन प्रयत्न गरिरहनु पर्दछ । आवश्यक सहजीकरण हुन सकेमा उनीहरूको सीप, योगदान र समयलाई सामाजिकीकरण गर्न सकिन्छ । उसका निम्ति अनुकूल वातावरण सरोकारवालाहरूले बनाउनु प¥यो ।

० रूपान्तरणकारी कला कस्तो हुनु पर्दछ ?
–मूलतः यो समय सचेत हुनुपर्छ । समाजका विकसित हुँदै गरेका नवीन सोच र आयामहरूलाई प्रस्टरूपमा समाजले बुझ्ने शैली र माध्यममा प्रतिनिधित्व र प्रकटीकरण हुनुपर्छ । मान्छेको विचारलाई माझ्न सक्ने, दृष्टिकोण दिन सक्ने, सहमत गराउन सक्ने, झकझकाउन सक्ने र अघि बढ्न तथा केही गर्न प्रेरित गर्न सक्ने हुनुपर्छ ।

० तपाईंका कलाका बारेमा बताइदिनुस् न ।
–यो प्रश्न मेरा निम्ति जटिल प्रश्न हो । मैले म कस्तो छु भनेर भन्नुभन्दा पनि मलाई देख्ने भोग्नेहरूले मप्रतिको दृष्टिकोण कस्तो बनाएका छन् त्यसको समग्रता नै सायद म हुन सकुँला । ‘कवि काव्य रच्दछ, स्वाद पण्डित जान्दछ’ भनेझैँ मेरा कलाकृतिको स्वाद लिनेहरूबाट नै उत्तर खोज्नु न्याय होला । तथापि माथिका विचारहरूको समष्टि नै मेरा कलाका विषय बनाउने कोशिस भने गरिरहेकै छु । कला, कला मात्र हो वा कला नारा मात्र हो भन्नेहरूसँग जोगिने प्रयास गरिरहेको छु ।

प्रतिक्रिया