लाइफलाइन अस्पतालमा डायलोसिस सेवा

दमक । लाइफलाइन अस्पतालले मिर्गौला बिरामीका लागि डायलोसिस सेवा सुरुवात गर्ने भएको छ । रोटरी क्लब अफ दमकको सहकार्यमा अस्पतालले आगामी दुई महिनाभित्र पहिलोपटक सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा. तिलकचन्द्र साहले जानकारी दिए । ती दुईसंस्थाका बीच सम्झौता समेत भएको छ ।

अध्यक्ष डा. साहका अनुसार चार श्ययाबाट बिरामीलाई सो सेवा प्रदान गरिनेछ । सो सेवाबाट यस क्षेत्रका बिरामीले थप सुविधा पाउने विश्वास गरिएको छ । जिल्लाको विर्तामोड र भद्रपुरमा सो सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको रोटरीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी दिए ।

रु ८० लाख मध्ये ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी हुने जनाइएको छ । सो अवसरमा अध्यक्ष डा. साहले सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति व्यवस्थापन गरिसकिएको जाकारी दिए ।अस्पतालका मेडिकल डाइरेक्टर डा. खुस्बु प्रिया र सञ्चालक डा. मुक्तिनाथ भट्टराई सेवाले मिर्गौला बिरामीलाई थप सहज हुने बताए ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्वास्थ्य सेवामा नगरपालिकाले विभिन्न काम गरिरहेको जानकारी दिए । कार्यक्रममा दमक रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, रोटरीको परियोजना समन्वयकर्ता सागर श्रेष्ठले दमक आसपासका मिर्गौलाका बिरामीले आफ्नै ठाउँमा सर्वसुलभ सेवा पाउने बताए ।

प्रतिक्रिया