एक सय २९ विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत एक सय २९ जना विद्यार्थी इन्जिनियर उपाधिबाट शनिबार एक कार्यक्रमवीच दिक्षित भएका छन् । कलेजले शनिबार गरेको विदाई कार्यक्रममा उनीहरुलाई कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले दिक्षित गरे ।

कलेजको कम्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङ र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ बिभागको संयुक्त आयोजनामा विदाई कार्यक्रम भएको थियो । कम्प्युटर इन्जिनियरिङंका ७५ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङका ३२ जना र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङका २० जना गरी कुल एक सय २९ जना इन्जिनियर उपाधिबाट विभूषित भएका थिए ।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा श्रेष्ठले घुस खाएको आरोपमा यता यति इन्जिनियर पक्राउ उता उति इन्जिनियर पक्राउका समाचार आइरहेको भन्दै पैसाको पछि नलाग्न उनले विद्यार्थीलाई निर्देशन दिए । ‘पहिला निरन्तर मेहनत र परिश्रम गर्नुस्, पछि तपाई पैसाको होइन, पैसा तपाईको पछाडि आउँनेछ’, उनले इन्जिनियर उपाधि हासिल गरेका विद्यार्थीलाई भने, ‘त्यसकारण राम्रो काममा मात्रै लाग्नुस् कलेजको नाम उच्चो राख्नूस् ।’

मेहनत र परिश्रम गर्न कहिल्यै नछोड्न उनले विद्यार्थीलाई निर्देशन दिए । निरन्तरको मेहनत र परिश्रमले पछिपछि प्राजेक्टहरु आफ्नो पछि लाग्ने अनुभब सुनाउँंदै उनले सुरुमा केही समय मात्रै प्रोजेक्टको पछि लाग्नुपर्ने अवस्था आउने सुनाए । प्राजेक्टहरु पछि लाग्न थालेपछि पैसा विस्तारै आफ्नो पछि लाग्न थाल्ने उदाहरण उनले दिए । उनले मेहनत र परिश्रमको विकल्प मेहनत र परिश्रम नै मात्रै रहेको बताए ।

कलेजका उपप्राचार्य दीपक धामी, एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसी, कलेज सञ्चालक समितिका सदस्द्धय दुर्गा भण्डारी र नरेश खड्का, कलेजको कम्युटर इन्जिनियरिंङ विभागका प्रमुख दिनेश डंगोल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिंङ विभागका प्रमुख अजयकुमार लाल र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ विभाग प्रमुख रुपेश दहीलगायतले उपाधि हासिल गर्न सफल विद्यार्थीर्लाइ बधाई दिए । कार्यक्रममा ६ जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेका छन् ।

प्रतिक्रिया